सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको क्षेत्र सुनसरी ४ मा जारी मतगणनामा विवाद भएको छ।
कांग्रेस उम्मेदवार कार्की र एमालेका उम्मेदवार जगदीश कुसियैतले करिब सय मतको फरक रहेका बेला विवाद भएको हो।
मतगणनामा कांग्रेसले धाँधली भएको आरोप लगाएपछि सुनसरी ४ को प्रतिनिधि सभातर्फको मत गणना रोकिएको हो।
कांग्रेसका प्रतिनिधिले कर्मचरीले ६ सय भन्दा बढी मतको विवरण मतगणनापछि रुजु नगरेको बताएका छन्। यस क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो।
त्यही विषयलाई लिएर कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठक राख्न भनेका छन्।
त्यसपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ। सर्वदलीय बैठक डाकिएसँगै प्रतिनिधि सभातर्फको मतगणना तत्कालका लागि रोकिएको छ।
मतगणनाको पछिल्लो परिणाम अनुसार कुसियत कार्कीभन्दा ४३ मतले अगाडि छन्। कुसियतले २३ हजार २६१ मत ल्याएका छन्। कार्कीको पक्षमा २३ हजार २१८ मत छ।
Shares
प्रतिक्रिया