नगरपालिकाको मेयरबाट प्रतिनिधि सभा सदस्यमा फड्को मार्ने निकै कम भाग्यमानीमध्ये बासुदेव घिमिरे पनि एक हुन्।
२०५४ सालमा बुटवलको मेयर भएका र गत कार्यकालमा प्रदेश सांसद बनेका भोजप्रसाद श्रेष्ठ र अर्का प्रदेश सांसद एमालेका पोलिट्ब्युरो सदस्य लीला गिरी फेरि पनि प्रदेश सभामै दोहोरिन पर्यो।
एमालेका केन्द्रीय सदस्य तथा बुटवलका पूर्वमेयर शिवराज सुवेदीले कतै ठाउँ पाएनन्। तर एमालेका प्रदेश सदस्य मात्र रहेका बासुदेव घिमिरे भने तिलोत्तमाको मेयरको कार्यकाल सम्पन्न गरेलगत्तै प्रतिनिधि सभामा निर्वाचित भएका छन्।
पाँच वर्षअघि मेयरको टिकट पाउन होस् वा अहिले सांसदको टिकट पाउन बासुदेवलाई सहज थिएन।
२०७४ मा एमालेको लुम्बिनी प्रदेश कमिटीले मोहन चापागाइँलाई तिलोत्तमाको मेयरमा एकल सिफारिस गरेको थियो। जतिबेला घिमिरे घनश्याम भुसालनिकट थिए।
भुसाल चापागाइँको टिकट खोसेर बासुदेवलाई उम्मेदवार बनाउन सफल भए। उनी मेयरमा विजयी भए। मेयर भएपछि बासुदेवले तिलोत्तमामा केही नमुना काम पनि गरे। जसको राष्ट्रिय रुपमा पनि चर्चा भयो।
केपी ओलीले संसद् विघटन गरेपछि बासुदेव घनश्यामको कित्ता छाडेर विष्णु पौडेलनिकट बने।
गत वैशाखमा भएको स्थानीय चुनावमा घिमिरे तिलोत्तमाको मेयरमा दोहोरिन चाहेका थिए। विष्णु पौडेलले पनि टिकट दिलाउन पहल गरे। तर मोहन चापागाइँले टिकट पाएर पराजित भए।
मेयरमा टिकट नपाएपछि घिमिरेले प्रदेश सभामा ठाउँ पाउने अनुमान गरिएको थियो।
घिमिरेको स्थायी बसोबास रुपन्देही क्षेत्र नम्बर २ मा छ। तर पायक पर्ने क्षेत्र नम्बर ३ बाट घनश्याम भुसालसँगै उनी पनि सिफारिसमा परेका थिए।
एमालेले ३ नम्बर क्षेत्र राप्रपाका दीपक बोहोराको लागि छोड्ने भएपछि भुसालले एमाले छोडेर क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेद्वार बने।
बासुदेव घिमिरेले अप्रत्यासित रुपमा क्षेत्र नम्बर ५ बाट टिकट पाए। जुन क्षेत्र घिमिरेको लागि अपायक र एक प्रकारले अपरिचित थियो।
क्षेत्र नम्बर ५ मा पोलिट्ब्युरो सदस्य खिमलाल भट्टराईले उम्मेद्वार बन्ने लामो तयारी गरेका थिए। सो क्षेत्रबाट भट्टराईको नाम एकल सिफारिस पनि भएको थियो।
बासुले टिकट पाएपछि स्थानीय एमालेका कार्यकर्ताहरुले स्वीकार गर्न मानेका थिएनन्। दबाब बढेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो टिकट सच्याएको भन्दै खिमलाललाई अर्को टिकट दिए।
राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर उनले उम्मेदवारी दर्ता गर्न मनोनयन पत्र पेस गरे। तर, त्यसअघि नै बासुदेव घिमिरेको उम्मेदवारी दर्ता भइसकेको थियो। अन्ततः घिमिरेकै उम्मेदवारी आधिकारिक भयो।
अपायक ठाउँमा उम्मेदवार बनेकाले घिमिरेलाई चुनाव जित्न गाह्रो हुने अनुमान गरिएको थियो।
यस क्षेत्रबाट ५ वर्षअघि नेपाली कांग्रेसका भरतकुमार शाहले वाम गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका डिलाराम आचार्यलाई १२ हजार बढीको मतअन्तरले हराएका थिए। त्यसैले यो शाहको प्रभावक्षेत्र मानिन्थ्यो।
दक्षिणतर्फ एमालेको उपस्थिति कमजोर थियो। बासुले टिकट पाएपछि कांग्रेसले जित सहज ठानेको थियो। तर तीन पटक यो क्षेत्रबाट चुनाव जितेका भरतकुमार शाहले चौथो जित निकाल्न सकेनन्।
त्यसैले तिलोत्तमामा नमुना काम गरेको भनेर चर्चा कमाएका बासुदेव घिमिरेलाई रुपन्देही पश्चिमका जनताले अनुमोदन गरेर संघीय संसदमा पठाए।
Shares
प्रतिक्रिया