भारतीय राज्य दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीविरुद्ध उनको पार्टी आम आदमी पार्टीले गरेको विरोध प्रदर्शन कभर गर्न पुगेका फोटो पत्रकारहरूलाई दिल्ली प्रहरीले हातपात गरेका छन्।
द हिन्दुमा प्रकाशित समाचारअनुसार दिल्ली प्रहरीसँगको झडपमा हिन्दुस्तान टाइम्सका फोटो पत्रकार सलमान अलीको कुहिनो भाँचिएको छ।
द हिन्दुसँग कुरा गर्दै उनले भनेका छन्, ‘त्यहाँ ठूलो मात्रामा प्रहरी तैनाथ गरिएको थियो र उनीहरूले सञ्चारकर्मीसँग दुर्व्यवहार गरिरहेका थिए। एकजना पुलिसले हाम्रा साथी फोटो पत्रकारको कलर पनि समात्यो।’
घटनास्थलबाट खिचिएको तस्बिरमा एकजना प्रहरीले इन्डिया टुडे समूहका फोटो पत्रकार अरुण ठाकुरको घाँटीमा समातेको देखिन्छ।
प्रेस क्लबको निन्दा
प्रेस क्लब अफ इन्डियाले विज्ञप्ति जारी गर्दै पत्रकारविरुद्ध दिल्ली प्रहरीको आक्रमणको भर्तसना गरेको छ।
विज्ञप्ति जारी गर्दै उसले भनेको छ, ‘यस विषयमा सेवानिवृत्त न्यायाधीशबाट उच्चस्तरीय छानबिनको माग गर्दछौँ। घटनाको छानबिन नहुँदासम्म आक्रमणकारी प्रहरीलाई तत्काल निलम्बन गरिनुपर्छ।’
Shares
प्रतिक्रिया