२०६४ सालको संविधान सभामा अर्घाखाँचीका तत्कालीन २ वटा निर्वाचन क्षेत्रमध्ये १ मा नेकपा माओवादी केन्द्रबाट टोपबहादुर रायमाझी र अर्कोमा नेपाली कांग्रेसकी पुष्पा भुसाल विजयी भएकी थिइन्।
तर २०७० सालको चुनाव रायमाझी विजयी भए पनि भुसाल आफ्नो क्षेत्रमा एमालेका डा. दुमन थापासँग पराजित भइन्।
त्यसअघि पहिलो पटक पुष्पा २०५६ सालको चुनावमा पनि उम्मेद्वार बनेकी थिइन्। त्यसबेला पराजित भइन्।
२०७४ सालबाट अर्घाखाँचीमा निर्वाचन क्षेत्र घटेर दुईबाट एउटा क्षेत्र कायम भएको छ। ५ वर्षअघिको चुनावमा पुष्पा भुसाल समानुपातिक तर्फबाट सांसद बनिन्। त्यसबेला डा. रामबहादुर बीसी अर्घाखाँचीबाट कांग्रेसका उम्मेद्वार बनेका थिए।
एमालेको समर्थनमा माओवादी केन्द्रका उम्मेद्वार भएका टोपबहादुर रायमाझीले १८ हजार बढी मतान्तरले कांग्रेसका बीसीलाई पराजित गरे।
आगामी मंसिरमा हुने चुनावमा कांग्रेसले यसअघिका कुनै पनि समानुपातिक उम्मेद्वारलाई नदोहोर्याउने भएको छ।
भुसाल अर्घाखाँचीमा कांग्रेसबाट प्रत्यक्ष तर्फ सिफारिसमा परेकी छन्। सिफारिसमा भुसालसहित कांग्रेस लुम्बिनी प्रदेश सह–महामन्त्री विष्णुप्रसाद खनाल मुस्कान्, पूर्व केन्द्रीय सदस्य रेवतीप्रसाद भुसाल, रामबहादुर बीसी, लेखनाथ पोखरेल र मुक्तिराम श्रेष्ठ सिफारिसमा परेका छन्।
आमनेसामने
हाल प्रतिनिधिसभाकी उपसभामुख समेत रहेकी भुसाल नै उम्मेदवार बन्ने बलियो सम्भावना छ। त्यसो भएमा भुसाल र टोपबहादुर रायमाझी अर्घाखाँचीमा यसपटक आमने सामने हुने छन्।
रायमाझीले २०६४ सालबाट लगातार चुनाव जित्दै आएका छन्। २०६४ र ०७४ मा माओवादी केन्द्रबाट मात्रै जितेका उनलाई २०७४ सालमा भने एमालेको पनि साथ थियो।
एमाले र माओवादी एक भएर बनेको नेकपा सर्वोच्च अदालतको आदेशबाट खारेजीमा पर्दा रायमाझी एमालेमै बसे। यो पटक उनी अर्घाखाँचीमा एमालेबाटै उम्मेद्वार बन्ने छन्।
२०७४ सालमा बाम गठबन्धनको तर्फबाट उम्मेद्वार भएका रायमाझीले ५० हजार ८३७ मत ल्याएका थिए। कांग्रेसका रामबहादुर बीसीले ३२ हजार ५४४ मत पाएका थिए।
रायमाझीलाई यो चुनावमा एमालेको साथ त हुन्छ। तर अघिल्लो चुनावमा पाएको माओवादीको सबै मत भने आउने छैन। तर स्थानीय तहको चुनावको नतिजा हेर्दा भने अर्घाखाँचीमा एमाले नै बलियो देखिन्छ।
गत वैशाखमा भएको स्थानिय तहको चुनावमा जिल्लाका ६ पालिकामध्ये ३ को प्रमुख एमालेले जितेको थियो। २ वटामा कांग्रेस र एउटामा राष्ट्रिय जनमोर्चा विजयी भएको थियो।
वडाअध्यक्षहरुको मतलाई आधार मान्दा गत स्थानिय चुनावमा एमालेका उम्मेद्वारले ४८ हजार २६० मत पाएका छन्।
कांग्रेसका वडाध्यक्षहरुले ३७ हजार ९२५ मत ल्याएका छन्। माओवादी केन्द्रको ७ हजार ७९०, राष्ट्रिय जनमोर्चाको ४ हजार २९४ र एकिकृत समाजवादीको ३ हजार ७३६ मत आएको छ।
अर्घाखाँचीमा एमालेका वडाध्यक्षहरुले पाएको मत कांग्रेस र माओवादी केन्द्र दुबैको भन्दा पनि बढि छ। तर राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीको मत समेटिँदा एमालेभन्दा गठबन्धन बलियो देखिन्छ।
कांग्रेस अर्घाखाँचीका सचिव कृष्ण खनालले जिल्लामा गठबन्धन नै बलियो रहेको बताए। उनले स्थानीय चुनावभन्दा अहिले कांग्रेसको अवस्था सुधार भएको दाबी गरे।
‘गत स्थानिय चुनावमा टिकट वितरण केही ढिला भएको थियो। केही प्राविधिक कमजोरीले अपेक्षाअनुसार नतिजा आएको थिएन,’ उनले भने, ‘जिल्लाबाट विजयी सांसदले केही नगरेकाले यो पटकलाई गठबन्धनको पक्षमा मतदाता छन्। पछिल्लो समय पार्टीका गतिविधि पनि बढाएका छौं। त्यसैले विजयी हुने सम्भावना बलियो छ।’
एमालेको तर्क
यता एमाले अर्घाखाँचीका जिल्ला अध्यक्ष पिताम्बर भुसालले गत यो कार्यकालमा जनप्रतिनिधिले गरेको विकास र पार्टीको गतिविधिका कारण एमाले विजयी हुने सम्भावना रहेको दाबी गरे।
‘गठबन्धनसँगको प्रतिस्प्रर्धामा आरामदायी तरिकाले चुनाव जित्छौं। एमालेको व्यापक जनशक्ती, पार्टी कार्यकर्ता पंक्तिसँगै एमालेले गरेका र हाम्रा जनप्रतिनिधिले गरेका विकासका कामले चुनाव जित्छौँ,’ उनले भने ‘गत स्थानीय चुनावमा पनि गठबन्धनसँग लड्दा पालिका प्रमुख–उपप्रमुखको मतमा हामी धेरै अघि छौँ।’
चुनाव नजिकिँदै गर्दा कांग्रेस र एमाले दुवै दलले जिल्लामा पार्टीका गतिविधि बढाएका छन्।
Shares
प्रतिक्रिया