यही मंसिर ४ गते भएको संसदीय चुनावको नतिजा आएसँगै लुम्बिनी प्रदेशमा भावी मुख्यमन्त्रीको चर्चा तीव्र बनेको छ।
लुम्बिनीमा कांग्रेस, एमाले र माओवादी केन्द्रमा दलको नेता अर्थात् भावी मुख्यमन्त्री पदको दाबेदार को बन्ने भन्नेबारे चर्चा/परिचर्चा सुरु भएको छ। दलका नेता बन्ने आकांक्षीहरूले आफ्ना पार्टीका केन्द्रीय नेताहरूसँग ‘लबिङ’ गरिरहेका छन्। कतिपयले पार्टीभित्र वरिष्ठ भएकाले दलको नेता बन्ने दाबी गरेका छन् भने केहीले संसदीय अनुभव अनि मन्त्री भएका आधारमा भावी मुख्यमन्त्रीको आकांक्षा राखेका छन्।
कांग्रेसको दलको नेतामा रज्जाक, चौधरी र रानाको चर्चा
लुम्बिनी प्रदेशसभा सदस्यमा विजयी भएकामध्ये अब्दुल रज्जाक मात्र कांग्रेसका केन्द्रीय सदस्य छन्। रुपन्देही क्षेत्र नम्बर १ ख बाट प्रदेश सांसद बनेका रज्जाक २०७० को चुनावबाट संविधानसभा सदस्य र केही समय राज्यमन्त्री पनि भएका थिए। प्रदेशसभा सदस्यमध्ये पार्टी वरीयतामा माथि रहेकाले दलको नेतामा उनको चर्चा र दाबी भएको हो।
अघिल्लो प्रदेशसभामा लेखा समिति सभापति र पछि मन्त्री भएका डिल्लीबहादुर चौधरीको दलको नेतामा दाबी बलियो छ। कांग्रेसभित्र उनी महासमिति सदस्य मात्र हुन्। तर केही लामो संसदीय अनुभवले चौधरी मुख्यमन्त्री बन्ने प्रयासमा छन्।
दाङ ३ क बाट पुनः निर्वाचित चौधरी यसअघि २०७० मा संविधानसभा सदस्यका साथै राज्यमन्त्री बनेका थिए।
यस्तै कांग्रेसका प्रदेश उपसभापतिसमेत रहेका दाङ २ ख का राजु खनाल, र हाल प्रदेश सरकारमा मन्त्री रहेका पाल्पा २ क का वीरबहादुर राना पनि दलको नेतामा आकांक्षी छन्।
मुख्यमन्त्री बन्ने प्रयाससहित रोल्पा ख बाट उम्मेदवार बनेका प्रदेश सभापति अमरसिंह पुन भने हारे।
लुम्बिनीमा गठबन्धनको सरकार भएमा कांग्रेस र माओवादी केन्द्र कसले नेतृत्व गर्ने भन्ने रस्साकस्सी चल्ने छ।
माओवादी केन्द्रमा महरा दलको नेता बन्न सक्ने
मुख्यमन्त्री बन्ने प्रयाससहित गुल्मीबाट चुनाव लडेका माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल दोहोरिन सकेनन्। अहिले रोल्पा क बाट निर्वाचित जोखबहादुर महरा माओवादी केन्द्रको दलको नेता बन्ने सम्भावना बलियो छ। उनी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा बसेर कामसमेत गरेका नेता हुन्। पार्टीको स्थायी कमिटी सदस्यसमेत रहेकाले दलको नेतामा महरा एक मात्र विकल्प भएको चर्चा गरिएको छ।
एमालेबाट गिरी वा अरू?
लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचितमध्ये लीला गिरी मात्र नेकपा एमालेको पोलिट्ब्युरो सदस्य हुन्। उनी रुपन्देही २ ‘क’ बाट प्रदेश सांसद चुनिएका भएका हुन्।
वरिष्ठ भएकाले प्रदेशमा एमाले संसदीय दलको नेतामा गिरीको दाबी स्वाभाविक छ। तर गिरी नै दलको नेता हुने निश्चित छैन। अरूले पनि दलको नेता वा भावी मुख्यमन्त्रीको दाबी गर्न सक्ने छन्।
यसअघि प्रदेशसभामा प्रमुख सचेतक भएका भूमिश्वर ढकाल, प्रदेश सरकारमा थोरै समय मन्त्री भएका चेतनारायण आचार्य केन्द्रीय सदस्यसमेत भएकाले उनीहरूले पनि दलको नेता बन्न प्रयास गर्ने छन्। प्रदेशका अर्का पूर्वमन्त्री तथा एमाले प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले पनि दलको नेतामा दाबी गर्न सक्ने छन्।
प्रत्यक्ष र समानुपातिक गरेर लुम्बिनी प्रदेशसभामा २९ सिट पाएर एमाले पहिलो दल बनेको छ। कांग्रेसले २७ सिट पाउने भएको छ। माओवादी केन्द्रको ९, राप्रपा र नागरिक उन्मुक्ति पार्टीको ४/४, जसपा, लोसपा र जनमत पार्टीका ३/३ तथा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक/एक सिट हुने छन्। त्यसबाहेक ३ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। उनीहरू माओवादीका बागी हुन्।
Shares
प्रतिक्रिया