लुम्बिनी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता लीला गिरिले मुख्यमन्त्रीको लागि दाबी पेश गरेका छन्।
बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा पुगेर गिरीले ५८ सांसदको हस्ताक्षर सहित दाबी पेश गरेका हुन्। गिरीसँग एमालेकै २९ सांसद छन्।
उनलाई मुख्यमन्त्री बनाउन माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका ३–३ र स्वतन्त्र २ जनाले समर्थन गरेका छन्।
८७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ४४ जना सांसदको समर्थन चाहिन्छ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि गिरीले दाबी पेश गरेका हुन्।
प्रदेश प्रमुख अमिक शेरचनाले उक्त धाराबमोजिम सरकार बनाउन आज अपरान्ह ४ बजेसम्मको समय दिएर आह्वान गरेका थिए।
यसअघि हिजै दाबी पेश गर्ने भनिएको थियो। तर माओवादी केन्द्रले आलोपालोको विषय झिकेपछि दाबी पेश हुन सकेको थिएन।
पछिल्लो समय लुम्बिनीमा एमालेका गिरी साढे २ वर्ष र माओवादी केन्द्रका जोखबहादुर महरा साढे २ वर्ष मुख्यमन्त्री हुने गरि सहमति जुटेको बताइएको छ।
Shares
प्रतिक्रिया