नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनमा छ।
केन्द्रमा पुष्पकमल दाहाल प्रचण्ड प्रचण्डलाई प्रधानमन्त्री र लुम्बिनी प्रदेशमा लीला गिरिलाई मुख्यमन्त्री बनाउन नागरिक उन्मुक्तिले समर्थन गरेको थियो।
सरकारलाई समर्थन गरे पनि दुवै ठाउँका मन्त्रिपरिषद्मा अहिले पनि नागरिक उन्मुक्ति सामेल भएको छैन।
यही माघ २५ गते लुम्बिनीमा राष्ट्रिय सभाको उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनका लागि एमाले र कांग्रेससँगै नागरिक उन्मुक्तिबाट पनि उम्मेदवारी परेको छ।
निर्वाचनका लागि माघ ११ गते एमालेबाट रोल्पाका कुमार दसौंदी, कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्तिबाट बाँकेका राजेन्द्रवीर राय मैदानमा छन्।
उम्मेदवारी फिर्ताअवधि सकेर अन्तिम नामावलीमा तीनैजनाको नाम कायम छ। सत्ता गठबन्धनको एमालेसँगै प्रतिस्पर्धा गर्न तयार भएपछि नागरिक उन्मुक्ति गठबन्धनबाट बाहिरिएको अर्थ लगाइएको छ।
नागरिक उन्मुक्ति पार्टी लुम्बिनीका संसदीय दलका नेता धर्मबहादुर चौधरीले गठबन्धनमा रहने-रहनेबारे पार्टीमा छलफल भइरहेको बताउँदै दुई तीन दिनमा निर्णय हुने जानकारी दिए।
‘भर्खरै पनि हामी यही विषयमा कुरा गरिरहेका थियौँ', उनले भने, 'सरकारमा जाने कि समर्थन फिर्ता लिने भन्ने दुई तीन दिनमा निर्णय हुन्छ।'
प्रदेश सभामा ८७ सांसदमध्ये मुख्यमन्त्री लीला गिरिलाई ५८ सांसदको समर्थन छ। ४ सिट भएको नागरिक उन्मुक्ति सरकारबाट बाहिरिँदा सरकार ढल्ने सम्भावना छैन।
तर गिरिले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनीमा स्थानीय तहका प्रमुख-उपप्रमुख र प्रदेशसभा सदस्य गरी ३०५ मतदाता छन्।
जसमा २१८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ८७ प्रदेशसभा सदस्यहरु रहनेछन्। पालिका प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ छ।
नेपाली कांग्रेसका कुल २७ सांसद र ९२ पालिकाका जनप्रतिनिधि हुँदा कुल मतभार २ हजार ९५२ मतभार छ।
एमालेसँग स्थानीय तह र प्रदेशतर्फ गरी कूल २ हजार ५९८ मतभार छ। प्रदेश सभामा उसका २९ जना सांसद छन् ६७ जना पालिकाका जनप्रतिनिधि छन्।
माओवादीसँग १० जना प्रदेश सांसद र ४० जना स्थानिय जनप्रतिनिधि हुँदा १ हजार १६६ मतभार छ।
राप्रपाको मतभार २४६, जनता समाजवादी पार्टीको २५२, लोकतान्त्रिक समाजवादी पार्टीको २१६, नागरिक उन्मुक्तिको १९२, जनमत पार्टीको १४४, राष्ट्रिय जनमोर्चाको १२०, एकीकृत समाजवादीको ४८, जनता प्रगतिशील पार्टीको ३६ र स्वतन्त्र २ सांसदको मतभार ९६ छ।
Shares
प्रतिक्रिया