नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसँगको निकटताका कारण गायिका कोमल वली एक पटक राष्ट्रियसभा सदस्य भइन्।
हाल एमाले केन्द्रीय सदस्यसमेत बनेकी उनी २०७९ मंसिरको चुनावमा दाङ क्षेत्र नम्बर ३ बाट चुनाव पनि लडिन्।
दाङ नै गृहजिल्ला भएकी उनी त्यसबेला नेपाली कांग्रेसका दीपक गिरीसँग पराजित भइन्। संसदीय चुनाव हारे पनि उनी अहिले एमालेमै सक्रिय छिन्।
उनको सक्रियता रुपन्देहीको बुटवलमा जारी एमाले लुम्बिनी प्रदेश कमिटीको अधिवेशनमा पनि देखिएको छ।
जहाँ उनी आफ्ना सहोदर दाजु यामिन्द्रबहादुर वलीलाई जिताउन खटिएकी छन्। एमालेको नेतृत्वमा भए पनि उनले आफ्ना दाजुलाई मात्रै प्रदेश खुल्ला सदस्यमा जिताउन भन्दै प्रचा बाँडेकी छन्।
‘मेरा दाजु यामिन्द्रबहादुर वली (क्र.सं. ३१) लाई प्रदेश खुल्ला सदस्यमा अत्याधिक मत दिई विजयी गराउनु हुन हार्दिक अनुरोध गर्दछु। कोमल वली केन्द्रीय सदस्य!’, अधिवेशनस्थलमा उनले बाँडेको चिर्कटोमा भनिएको छ।
वली राष्ट्रियसभा सदस्य हुँदा दाङको तुलसीपुरस्थित घरमा ‘माननीय कोमल वली’ लेखिएको बोर्ड राखिएको थियो।
उनका निजी सचिव उनै दाजु यामिन्द्र थिए। वलीले त्यसबेला सहयोगीका रुपमा वीरबल खड्का र हेमराज डाँगीलाई राखेकी थिइन्।
एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा अध्यक्ष पदका लागि राधाकृष्ण कँडेल र हरि रिजालबीच प्रतिस्पर्धा भइरहेको छ।
प्रथम अधिवेशनमै एमाले लुम्बिनीको गुटबन्दी छताछुल्ल हुने गरी गुटगत राजनीति चरम अवस्थामा देखिएको छ।
सर्वसम्मत नेतृत्व चयन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली बुटवल पुगेपनि सफल हुन नसकेपछि निर्वाचन हुँदैछ।
एमाले उपाध्यक्ष विष्णु पौडेल प्यानलबाट कँडेल समूह र महासचिव शंकर पोखरेल प्यानलबाट रिजाल समूह चुनावी मैदानमा उत्रिएको छ। पार्टीभित्र पौडेल र पोखरेलबीच प्रतिस्पर्धाजस्तो देखिएको छ।
Shares
प्रतिक्रिया