२०७९ को निर्वाचनअघि माओवादी केन्द्र छाडेकी सर्लाहीकी महिला नेतृ अनितादेवी यादव फेरि माओवादी केन्द्रमै फर्किएकी छन्।
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार सर्लाहीको बलरामा आयोजित कार्यक्रममा अनितासहितका सयौँ नेता-कार्यकर्तालाई आफ्नो पार्टीमा स्वागत गरेका माओवादी नेता राजकुमार यादवले जानकारी दिए।
गएको चुनावमा अनितादेवी सर्लाही क्षेत्र नम्बर ४ प्रदेश सभा (ख) मा स्वतन्त्रबाट उम्मेदवार बनेर पराजित भएकी थिइन्।
माओवादीले टिकट नदिँदा त्यतिबेला उनी माओवादी केन्द्रकै उम्मेदवार विरुद्धमा स्वतन्त्रबाट बागी उम्मेदवार बनेकी थिइन्।
चुनावमा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकै फकिरा महतो विजयी हुँदा उनी निकटतम प्रतिस्पर्धी बनेकी थिइन्।
त्यतिबेला महतो ८०३३ मत ल्याएर मधेस प्रदेश सभामा विजयी हुँदा अनितादेवीले ७ हजार ६७६ मत प्राप्त गरेकी थिइन्।
०७४ अघि उनी तमलोपामा थिइन्। उनी ०७४ मा रामेश्वर रायसँगै तमलाेपाबाट माओवादी प्रवेश गरेकी गरेकी थिइन्। ०७४ र ०७९ काे स्थानीय तह निर्वाचनमा उनी गोडैता नगरपालिकाको मेयरमा चुनाव लडेर पराजित बनेकी थिइन्।
शनिबार बलरा नगरपालिका–८, गडहीया डुमरियास्थित जनता नमूना माध्यमिक विद्यालयको भवन उद्घाटन गर्न गएका बेला प्रचण्डले यादवसहित विभिन्न राजनीतिक दल र स्वतन्त्रका एक हजार नेता कार्यकतालाई आफ्नो पार्टीमा प्रवेश गराएका बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहाले जानकारी दिए।
त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले यो वर्ष मधेसलाई प्राथमिकतामा राखेर वजेट बनाइने बताएका छन्।
‘यतिबेला मेरो पहिलो ध्यान नै मधेसमा छ,’ उनले भने, ‘बजेट निर्माणको अन्तिम चरणमा छ। यो वर्षको वार्षिक बजेटमा मधेस प्रदेशलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने छ।’
कार्यक्रममा पूर्वमन्त्रीद्वय महेन्द्र राय यादव र रामेश्वर रायसहितका माओवादी नेता पनि सहभागी थिए।
Shares
प्रतिक्रिया