गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुख सीता पौडेलको कार्यालयमा पुगेका छन्।
प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री पदमा दाबी गर्न भोलि शनिबार ३ बजेसम्मको २४ घण्टे समय दिएकी छन्।
उनले सो पदमा दाबी गर्न आज आह्वान गरेको केहि घण्टाभित्रै विपक्षी गठबन्धनले सो पदमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपालीलाई उम्मेदवारको रुपमा अघि सारेको हो।
विपक्षी गठबन्धनका सांसद प्रदेश सभाहलमा जम्मा भई एक एक सांसद गनेर सँगसँगै प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन्।
६० सदस्यीय प्रदेश सभाका बहुमत सदस्य उनको पक्षमा देखिएका छन्।
नेपाली कांग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक), राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र निर्वाचित भएका दीपक मनाङे गरी उनको पक्षमा ३१ जनाको समर्थन जुटेको हो।
सबैजना अहिले प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका छन्।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउँ भन्ने प्रस्तावमाथि बिहीबार प्रदेश सभामा मतदान भएको थियो। गुरुङको प्रस्तावमा बहुमत प्राप्त नभएपछि उनी स्वतः पदमुक्त भएका छन्। त्यसपछि नयाँ मुख्यमन्त्री चयन प्रक्रिया सुरु भएको हो।
भिडिओ:
यो पनिः
गण्डकीको मुख्यमन्त्रीमा दाबी गर्न दिइयो भोलि ३ बजेसम्मको समय, विपक्षी गठबन्धन तयारी अवस्थामा
प्रतिक्रिया