ललितपुर नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कोभिड–१९ र बिरामीको सुरक्षित उपचारमा अक्सिजनको अभाव भएको जनाएको छ।
अस्पतालमा अहिले १२० भन्दाबढी कोरोना र १०० हाराहारीमा अन्य बिरामीको उपचार भइरहेको अस्पतालका प्रवक्ता डा. राज राणाले जानकारी दिए।
४० भन्दा बढी भेन्टिलेटर सहित सघन उपचार कक्षमा रहेको उक्त अस्पतालले सम्पूर्ण क्षमता, जनशक्ति र संयन्त्रको उपयोग गरी कोभिडका बिरामीको उपचारमा गरिरहेको जनाएको छ।
प्रत्येक दिन ४ सय पचास देखि ५ सय आवश्यक पर्नेमा १ सय सिलिण्डर मात्र अक्सिजन प्राप्त हुने गरेको जानकारी अस्पतालले दिँदै यस्तो परिस्थितिमा उपचार गर्न कठिनाई हुने भएकाले सहज आपूर्तिको व्यवस्था मिलाउन मन्त्रालय, सीसीएमसी र सम्बन्धित निकायसँग अपील गरेको छ।
अक्सिजनको सहज आपूर्तिको सुनिश्चित नभएसम्म कोभिडका जटिल बिरामीको नयाँ भर्ना लिन असमर्थ रहेको अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ।
यता, भक्तपुरको मध्यपुरथिमिस्थित मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोभिड–१९ का बिरामीको उपचार नगर्ने जनाएको छ। अस्पतालका निर्देशक डा रवीना प्रधानाङ्गले आज विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना नलिने जनाइन्।
अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने जारी रहेका अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले सहज आपूर्ति नभएसम्म कोभिड र अक्सिजन चाहिने अरु बिरामी अस्पतालले भर्ना नगर्ने जानकारी दिइएको हो।
अहिले अस्पतालमा उपचार गराइरहेका बिरामीलाई पनि अक्सिजन नहुँदा कठिनाइ आएको अस्पतालका अध्यक्ष विष्णुराज कार्कीले बताए।
आजै काठमाडौंको गोकर्णेश्वर नगरापालिकामा रहेको नेपाल मेडिकल कलेजले एक सूचना प्रकाशित गरी अक्सिजन उपलब्ध नभएकोले भर्ना भएका बिरामीलाई समेत अब उपचार गर्न नसकिने जनाएको थियो।
प्रतिक्रिया