ad ad

राजनीति


सुदूरपश्चिम सरकार फेरबदलको चर्चा : मुख्यमन्त्रीमा एकीकृत समाजवादीको दाबी

सुदूरपश्चिम सरकार फेरबदलको चर्चा : मुख्यमन्त्रीमा एकीकृत समाजवादीको दाबी

शनिबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा सरकार फेरबदलको विषयले प्रवेश पाएको छ


गोकुल जोशी
असार १८, २०७९ शनिबार १७:९, कञ्चनपुर

प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकार फेर्न गृहकार्य थालेको छ। आफूले नेतृत्व पाउने गरी प्रदेश सरकार फेरबदल गर्न एकीकृत समाजवादीका सुदूरपश्चिमका सांसदहरुले केन्द्रस्तरमा लबिइङ गरिरहेका छन्।

१४ सांसदसहित ठूलो दल रहेको नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री दाबी गरेको छ। 

‘प्रदेश सभामा हामी सबैभन्दा ठूलो दल हौँ, उता बागमतीमा कांग्रेसले पाए, यता हामीले पाउनु पर्छ,’ एकीकृत समाजवादीका एक नेताले भने, ‘यसमा गठबन्धनले सघाउनु पर्छ, सुदूरपश्चिममा नेतृत्व लिने विषयमा केन्द्रीय नेतृत्वको पनि ध्यानाकर्षण गराएका छौँ।’

नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी मुख्यमन्त्री बन्ने कसरतमा छन्। सुदूरपश्चिम प्रदेशमा अहिले नेपाली कांग्रेस, एकीकृत समाजवादीको सहकार्यमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार छ। 

सुरुवातदेखि नै सुदूरपश्चिममा माओवादी केन्द्रका त्रिलोचन भट्टको नेतृत्वको सरकारले निरन्तरता पाएको छ। सरकार फेरबदलको चर्चासँगै यो विषय प्रदेश सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रको संसदीय दलको बैठकमा पनि प्रवेश गरेको छ।

शनिबार मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको संसदीय दलको बैठकमा सरकार फेरबदलको विषयमा छलफल भएको माओवादीका एक सांसदले बताए। 

‘सरकार परिवर्तनको बारेमा भइरहेको चर्चाको विषयमा सामान्य छलफल भएको छ,’ ती सांसदले भने, ‘गठबन्धनको शीर्ष नेतृत्वले टुङ्ग्याउने विषय भएकाले माथिबाट जे निर्णय हुन्छ, त्यही अनुसार अगाडि बढ्छौँ।’

५२ प्रदेश सांसद रहेको प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्र १३, कांग्रेस १२, एमाले १० र जसपा र लोसपाका एक÷एक सांसद छन्। 

माओवादीले आफ्ना सांसदलाई भन्यो– बजेटको विपक्षमा नउभिनू
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटको विपक्षमा नउभिन निर्देशन गर्ने निर्णय गरेको ती सांसदले बताए। 

बैठकमा सहभागी भएका माओवादीका प्रदेश सभा सदस्यहरुले बजेटमा विधि र प्रक्रिया विपरीत मनपरी ढंगले योजना समावेश गरिएको भन्दै संशोधन गर्नु पर्ने माग गरेका थिए। 

बजेट कार्यान्वयनका क्रममा त्रुटि सच्याउँदै जाने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री भट्टले सांसदहरुलाई बजेटको पक्षमा लागेर पारित गराउन निर्देशन गरेका हुन्। 

सत्तारुढ सांसदकै असन्तुष्टिका कारण असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावलले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफल सुरु हुन सकेको छैन। बजेटमाथि छलफल गर्न बोलाइएको बैठक तीन पटक स्थगित भएर अनिश्चित बनेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .