काठमाडौंको पिपलबोटबाट प्रहरीले संरक्षित वन्यजन्तुको छालासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौंको गोठाटार बस्ने २८ वर्षीय सबिन तामाङ र रामेछाप लिखु गाँउपालिका–५ नागदह घर भइ हाल भक्तपुर पुरानोठिमी बस्ने वर्ष २६ को हित बहादुर मगर रहेका छन्।
केन्द्रीय अनुसन्धान व्यूरोबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि परिचालित प्रहरी टोलीले संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार–पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा वौद्द, पिपलबोटबाट उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिबाट संरक्षित वन्यजन्तुको आखेटोपहार थान १ र सालकको छाला सहितको खपटा भएको आखेटोपहार थान–१ बरामद भएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार उक्त कसूरमा पाँच वर्षदेखि १५ वर्ष कैद तथा पाँच लाख रुपैँया देखि १० लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
Shares
प्रतिक्रिया