ad ad

समाज


सुजिता मारिनुअघि आमाले सम्झाएकी थिइन्ः समाज यस्तै छ, मिलेर बस्नू

सुजिता मारिनुअघि आमाले सम्झाएकी थिइन्ः समाज यस्तै छ, मिलेर बस्नू

शैलेन्द्र महतो
असार २७, २०७८ आइतबार २२:१, जनकपुरधाम

महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरले जेठ २० गते बिहान करिब ८ बजे माइतीमा फोन गरिन्। बुबा कामेश्वर पाण्डेको मोबाइलमा फोन गर्दा सुजिता तनावमा थिइन्। बुबा कामेश्वरसँग अलिकतिमात्रै कुरा गरेकी सुजिताले आमालाई फोन दिन आग्रह गरिन्।

आमा सुनीतासँग फोनमा सुजिताले पीडा सुनाउँदै भनिन् ‘माई हमरा केहन घरमे बियाह करादेले, कहियो चैनके रोटी कहियौ नै खाइदैय? (आमा मलाई कस्तो घरमा बिहे गराइदिनु भो। कहिल्यै सुखले खान पनि दिँदैनन्?)

छोरीसँग कुरा गरिरहँदा सुनीताले पृष्ठभूमिमा झगडा भइरहेको सुनेकी थिइन्। उनले छोरीलाई सम्झाउँदै भनिन् ‘की करबही बौवा, हिलमिलके रह। अपना समाजमे इ त नै होइछै जे तुरन्त दोसर बियाह करादैछै। (के गर्छौ नानु! मिलेर बस। हाम्रो समाजमा छुट्टाएर तुरन्तै अर्को विवाह गरिदिने मिल्दैन।)

त्यसपछि सुजिताको फोन काटियो। र, सुजिता फेरि आमाबाबुको सम्पर्कमा आइनन्। त्यही उनको आमाबुबासँगको अन्तिम संवाद थियो। लगत्तै सुजिताका देवर रुपेश ठाकुरले सुनिताका बुबा कामेश्वरलाई फोन गरेर बोलाएका थिए। 

सुजिताको माइती उनको घर भ्रमरपुराबाट करिब तीन किलोमिटर पश्चिम महोत्तरीकै पिपरा गाउँपालिका वडा नं. ६ रतौलीमा पर्छ। रुपेशको फोन आएपछि सुजिताका बुबा छोरीको घरमा जान हतारहतार छिमेकीको मोटरासइकल खोज्न गए। पाँच मिनेटमा फेरि सुजिताकै देवर रुपेशले नै फोन गरे र भने, ‘अब नआउनुस् झगडा मिलिसक्यो।’

तर, रुपेशको फोनले मात्रै कामेश्वर ढुक्क हुन सकेनन्, छोरी सुजितालाई फोन गर्न थाले। त्यसदिन धेरै प्रयास गर्दा पनि फोन नलागेको कामेश्वरको भनाइ छ। भोलिपल्ट बिहानसम्म सुजिताको मोबाइलमा फोन नलागेपछि साढे ११ बजेतिर कामेश्वरले उनका देवर रूपेशलाई नै फोन लगाए, तर उठेन। पछि रुपेशले नै कामेश्वरलाई फोन गरे र सुजिता कतै भागिसकेको र तनाव हुन्छ भनेर आफूले जानकारी नगराएको बताए। 

‘बिहानै उठ्दा कोठामा ताल्चा लागेको थियो। तपाईंकी छोरी कतै भागिसकेकी छन्। मान्छे खोज्न लागाइदिएको छु, तपाईंलाई टेन्सन हुन्छ भनेर भनिनँ,’ रुपेशले भने, ‘ तपाईंको नाति नतिना मेरो दिदीको घरमा छन्।’ 

सुजिताका ९ वर्षिया छोरी आँचल र ४ बर्षका छोरा रौनक छन्। 

सुजिता भागेको खबर माइत पक्षलाई अपत्यारिलो लाग्यो। सबै खोज्न जुटे। त्यतिन्जेलसम्म घरपक्षले सुजिता परपुरुषसँग भागेको हल्ला फिँजाइसकेका थिए। सुजिताका पति मुकेश ठाकुर सुस्त मनस्थितिका छन्। 

परिवारले सुजिता गाउँकै एक केटासग भागेको हल्ला चलाएपछि ती व्यक्तिलाई पिपरा प्रहरी चौकीमा झिकाइयो। सुजितालाई भगाएको विषयमा ती व्यक्तिको कुनै संलग्नता नदेखिएपछि प्रहरीले छाडिदिएको थियो। 

तर, सुजिताको छोरा रौनकले आमालाई परिवारकै सदस्यले मारेर लास लुकाएको खुलासा गरे। 

घटनाको झण्डै दस दिनपछि वैदेशिक रोजगारीमा साउदी अररबमा रहेका सुजिताका दाइ जितेन्द्र पाण्डेले फेसबुकमा लाइभ आएर बहिनीलाई घरपरिवारले मारेर गाडेको हुनसक्ने शंका गरेका थिए। जितेन्द्रलाई ती कुराको सुइँको सुजिताकै गाउँका एकजनासाथीले दिएका थिए।

ती व्यक्तिले सुजिताकै घरभन्दा करिब एक किलोमिटर पर खेतमा उनको परिवारका चार सदस्यले खाल्डो खनिरहेको देखेका थिए। यही शंकाको आधारमा सुजिताका बुबा कामेश्वर आफ्ना दुई भाइ आकाश र शिवमलाई लिएर खेतमा खोज्न थाले।

पछि समाजिक अभियन्ता सरोज राय र गुञ्जा राय पनि सुजिताको खोजीमा माइती पक्षलाई सघाउन सक्रिय भए। असार ४ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा घरपरिवार विरुद्ध जाहेरी दर्ता गराउन पुगे। तर, प्रहरीले खोजबिनको लागि निवेदन दिन भन्यो।

खोज्दै जाँदा बेपत्ता भएको २३ दिनपछि सुजिताको शवको अवशेष जितेन्द्रका साथीले भनेको ठाउँमै गाडिएको अवस्थामा भटियो। कपाल, कपडा, केही नुनको पोलिथिन भेटेपछि सुजिताको हत्या भएको करिब पत्ता लाग्यो। 

लगत्तै सुजिताका पतिसहित सबै फरार भए। भ्रमरपुरामै रहेकी दिदी अञ्जुको घरमा लुकेको अवस्थामा पति मुकेश र देवर रुपेश पक्राउ परे। ससुरा परितराम ठाकुर, सासु रामसखी, देवरानी रुपेशकी पत्नी रोमा ठाकुर, नन्द अञ्जु ठाकुर भने भेटिएका छैनन्।   

आइतबार बिहान सुजिताको शव सडेको अवस्थामा घर नजिकै शौचालयको सेप्टिक ट्यांकीमा गाडिएको अवस्थामा फेला परेको छ। सेप्टिक ट्यांकीमा राखेर माथिबाट सिमेन्ट बालुवाले पलास्टर गरेको अवस्थामा शव फेला परेको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। सुजिताको हत्यामा संलग्न भएको भन्दै थप तीन जनालाई शनिबार साँझ पक्राउ गरिएपछि घटनाको भेद खुलेको हो। 

उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाको विस्तृत विवरण सार्वजनकि गर्न सोमबार पत्रकार सम्मेलन गर्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। प्रहरीको प्रारम्भीक अनुसन्धानअनुसार अंशको विवाद बढ्दै गएपछि सुजिताको हत्या भएको हो। 

‘प्रहरीले असहयोग गर्‍याे’

सुजिताका बुबा कामेश्वरका अनुसार शवको अवशेष फेला परिसकेपछि पनि महोत्तरी प्रहरीले सुजिता हत्याको जाहेरी दर्ता गर्न मानेको थिएन। खोजीमा खासै चासो देखाएन। 

झण्डै एक साताअघि समाजिक अभियन्ता सरोज राय, गुञ्जा रायसहित सुजिताका आमाबुबा, भाइलगायतविरुद्ध जाहेरी दर्ता गराउन पुगेका थिए। तर, प्रहरी उपरीक्षक दिनेश आचार्यले जाहेरी लिन अस्वीकार गरेको परिवारको भनाइ छ। 

जाहेरी दर्ता नभए आफूहरुले सामूहिक आत्महत्या गर्ने बताएपछि मात्रै मात्रै प्रहरीले सो दिन जाहेरी दर्ता गरेको सुजितका बुबा कामेश्वरको भनाइ छ। त्यसपछि प्रदेश प्रहरी कार्यालयबाट डीएसपी ज्ञानकुमार महतो नेतृत्वमा शव खोज्न टोली परिचालन भएको थियो।  

   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .