ad ad

समाज


निषेधाज्ञा खुकुलो भएसँगै घुमफिर गर्ने बढे

निषेधाज्ञा खुकुलो भएसँगै घुमफिर गर्ने बढे

फाइल तस्बिर


वसन्त अर्याल
साउन १४, २०७८ बिहिबार १८:१३,


निषेधाज्ञा खुकुलो भएसँगै नेपाली घुमफिरका लागि निस्कन थालेका छन्। कोभिड माहामारी बढ्दै गएपछि निषेधाज्ञाको कारण मध्य वैशाखबाट घरमा थुनिएका नेपाली भ्रमणमा निस्कन थालेका हुन्।  वसन्त ऋतुमा हिमाल आरोहणका लागि विदेशी पर्यटक आए पनि कोभिड दोस्रो लहरपछि सुन्य जस्तै रह्यो।

तर वर्षात्को समयमा पनि आन्तरिक पर्यटक बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन्। त्रिभुवन विमानस्थलले अन्तर्राष्ट्रिय उडान कम भए पनि आन्तरिक उडान सामान्य तर्फ फर्कन थालेको जानकारी दिएको छ। विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले दैनिक २० वटा अन्तराष्ट्रिय उडान हुँदा आन्तरिक तर्फ दुई सय बढी उडान भैरहेको बताउँछन्। 


हवाई उड्डयन व्यवसायीले आन्तरिक उडान पहिलाको सामान्य अवस्थामा जस्तै फर्किएको बताउँछन्। यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले पोखरालगायत क्षेत्रमा पर्यटक घुम्न निस्कन थालेको बताएका छन्।  ‘निषेधाज्ञा खुलेपछि पोखरामा यात्रुको आउजाउ राम्रै छ,’ बर्तौलाले भने ‘भैरहवा, विराटनगर क्षेत्रमा समेत यात्रु बढी नै छन्।’

नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)का अध्यक्ष अच्युत शर्मा गुरागाईंले वर्षातको समयमा आन्तरिक पर्यटक बढेकोमा खुसी व्यक्त गरेका छन्। ‘मलाई वर्षात्को समयमा यसरी मनिस घुम्न निस्कन्छन् भन्ने लागेको थिएन,’ नाट्टा अध्यक्ष गुरागाईंले भने ‘चितवन, पोखरा, सुदुरपश्चिम खप्तड र पूर्वको इलाममा पर्यटक निस्कन थालेका छन्।’


सरकारले चालु आर्थिक वर्षमा कर्मचारीलाई १० दिनको विदा दिने भनेको छ। उक्त व्यवस्था कार्यान्वयनमा आउँदा आन्तरिक पर्यटकले थला परेको व्यवसायलाई सहयोग पुग्ने व्यवसायीको विश्वास रहेको छ। त्यसबाहेक प्रदेश सरकारहरुले समेत आन्तरिक पर्यटक प्रवद्र्धनको लागि कर्मचारीलाई विदा दिने कार्यक्रम ल्याएका छन्। 


जसमा लुम्बिनी प्रदेशले एक महिनाको तलब बराबरको सुविधा दिएर कर्मचारीलाई घुम्ने व्यवस्था गर्ने बजेटमा घोषणा गरेको छ। प्रदेश १ ले १० दिनको विदा, बागमती प्रदेशले हिमाली तथा पहाडी क्षेत्रको भ्रमणको लागि १० दिनको विदा र कर्णाली सरकारले पर्यटन प्रवद्र्धनको लागि १२ दिनको पर्यटन खर्च सहितको विदा दिने बजेटमा व्यवस्था गरेको छ। 


संघीय सरकार तथा प्रदेश सरकारले घोषणा गरेको कार्यक्रम कार्यान्वयनमा  ल्याए आन्तरिक पर्यटनले बजार चलायमान बनाउने गुरागाईंले बताए। गुरागाईंले भारत लगाएका देशबाट खोप लगाएर आउने पर्यटकलाई क्वारेन्टिन व्यवस्था हटाए अन्तराष्ट्रिय पर्यटक बढ्ने बताए। 

सरकारले पनि बन्द गरेका पर्यटकीय गन्तब्य खोल्दै गएको छ। पोखराको फेवाताल, चितवनको सौराहामा हात्तिसफारी खुलिसकेको छ। ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल टानका अध्यक्ष खुमबहादुर सुवेदीले ठुलो मात्रामा अझै घुम्न ननिस्किए पनि पर्यटन पुरै बन्द भने नरहेको बताएका छन्।


‘पहिला पुरै बन्द थियो, ५–६ प्रतिशत आन्तरिक पर्यटक निस्कन शुरु गरेका छन्,’ टान अध्यक्ष सुवेदीले भने ‘खोपको पूर्ण सुनिश्‍चित नभएसम्म पर्यटन क्षेत्र चलायमान हुन सक्दैन।’ उनले कोभिड खोप लगाएपछि मानिसमा आत्मविश्वास बढ्दै गएकाले घुम्न निस्कन थालेको बताए।  


लामो समय बन्द भएका पर्यटक बस समेत नियमित सञ्चालनमा आएका छन्। पर्यटक बसले काठमाडौंबाट पोखरा, चितवन जाने बढी यात्रु पाउने गरेको व्यवसायीको भनाइ छ। होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले सरकारले एकीकृत नीति निर्माण गरी पर्यटन प्रवद्र्धनमा गर्नुपर्ने बताए। 


‘माहामारीको समयमा भोक र रोगबाट मुक्ति पाउनको लागि स्वास्थ मन्त्रालय, पर्यटन मन्त्रालय मिलेर नीति तय गर्नुपर्छ,’ हानका अध्यक्ष शाहले भने ‘रोग आयो भन्दै सधै घरभित्र बसेर कसरी बाँच्ने रोगसँगै काम गर्ने वातावरण बनाउनु पर्छ।’नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन बढाउनको लागि पनि खोप आवश्यक भएको बताएको छ। 


‘सरकारलाई छिटो खोपको व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छौं,’ पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले भने ‘अहिले पर्यटक निस्कन शुरु गरेपनि भदौपछि आन्तरिक पर्यटकको चाप बढ्छ।’
पर्यटन व्यवसायीले कोरोनाको तेस्रो लहर नआए दशैँसम्म आन्तरिक पर्यटक ह्वात्तै बढ्ने विश्वास गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .