‘कांग्रेस एमालेले भेला गरेको भए छुट हुन्थ्यो। हामीलाई अनागरिक ठानेर यस्तो व्यवहार गर्दै हुनुहुन्छ,’ यहाँ नबस्नु भनेर धकेल्ने प्रयास गरिरहेका प्रहरीलाई एक युवाले भने।
‘हामीलाई मधेशी भनेर हेप्नुभयो ।
हाम्रो अधिकार माग्न पनि दिनुभएन,’ उनी गुनासो पोख्दै बानेश्वर चोकबाट माइतीघरतर्फ अघि बढिरहेका थिए। उनकै गतिमा अरु १० जना युवा पनि हिडिरेहका थिए।
‘किन रोकिएको छिटो हिँड्,’ प्रहरीले एक युवालाई अपमानजन्य व्यवहारमा भने। ‘सर, हामीलाई यस्तो व्यवहार किन गर्नुहुन्छ,’ प्रतिकारको मुद्रामा ती युवाले जवाफ फर्काए।
साढे ११ बजे, बानेश्वर चोकमा जम्मा हुँदै गरेको त्यो समूह, नागरिकताविहीनहरूको हो।
उनीहरू नागरिकता दिलाइदिन माग राख्दै निषेधित क्षेत्रको नजिक धर्ना बस्दै थिए। ‘कोभिडको बेलामा किन जम्मा भएको तपाईंहरू। पढेलेखेको हुनुहुन्छ। थाहा छैन?’ उनीहरू भेला हुन नपाउँदै प्रहरीका इन्स्पेक्टर गर्जिए।
‘त्यही पढ्न लेख्न पाएनौं, जागिर पाएनौं। नेपाली भएर बाँच्न पाएनौं भनेरै बसेका हौं सर,’ नागरिकताविहीन समूहका इन्द्रजित साफीले नरम जवाफ दिए। केहीबेर प्रहरी र नागरिकताविहीन समूहबीच भनाभन चल्यो। प्रहरीले अवरोध गरे पनि कुनै हालतमा धर्ना बस्ने उनीहरूको योजना थियो।
‘ल त्यसोभए १५ मिनेटमा सकाउनुहुन्छ? सामाजिक दुरी कायम गरेर गर्नुस्। त्यति समय दिन्छौं,’ प्रहरी इन्स्पेक्टरले भने। ‘अलिक समय दिनुस् सर। साथीहरू आउँदै हुनुहुन्छ,’ इन्द्रजितको जवाफ थियो।
‘त्यसोभए जानुस्। अब आन्दोलन नगर्नुस्। कोभिड बढ्छ, हुँदैन यहाँ,’ इन्स्पेक्टरले भने।
‘सर, हामीले त खोप पनि लगाउन पाएका छैनौं। हामीसँग नागरिकता छैन। त्यसैपनि मरिरहेका छौं। अधिकारको लागि लड्न त दिनुस्,’ इन्द्रजितले आग्रह गरे। ‘ड्युटी’का प्रहरी ती अनागरिक युवाका आग्रह सुन्नेवाला थिएनन्। धम्क्याउँदै, धकेल्दै त्यहाँबाट पारी पु¥याउने ध्याउन्नमा थिए उनीहरू।
केही मिटर अगाडि पुगेपछि धर्नाका लागि आएका ती युवाहरू रोकिए र प्ले कार्ड निकाले। ‘किन बस्या, किन नटेरेको। जानुस् भनेको सुन्नुभएन,’ सानो जत्थामा रहेका नागरिकताविहीनहरूलाई प्रहरीले बलै प्रयोग गर्लान्जस्तो मुडमा देखिए।
उनीहरूले प्ले कार्ड निकालेका मात्र के थिए, प्रहरी थुतौंलाझैं गरी आए। ‘सर हामीलाई जेलमा हाल्नुस्, तर धर्ना बस्न दिनुस्’ भन्दै थिए समूहका एक युवा। ‘तलाईं किन थुन्ने जेल। जाकिन मन छ?’ छुद्र हुँदै एक प्रहरी जवानले जवाफ फर्काए। ती युवक केही नबोली अघिअघि लागे।
१५ मिनेटपछि आइपुग्यो विजुली बजारको पुल। ‘अब आन्दोलन गर्नुछ भने ऊ त्याँ पारी गएर गर्नुस् । हामीलाई तनाब हुन्न। तर यहाँ वारी गर्दै नर्गुस्,’ यति भनेर प्रहरीहरूले त्यो समूहलाई पारी पठाए।
अनि उनीहरू बानेश्वर चोकतर्फै फर्किए।
विजुलीबजार पारी कटिसकेपछि इन्द्रजित साफी असिनपसिन भए। साथीहरूलाई प्ले कार्ड निकाल्न आग्रह गर्दै लहरै उभिएर बसे। ‘म इन्जिनियर हुँ। तर म देशको अनागरिक भएँ। नागरिकता नभएकै कारण जीवन खेर गइरहेको छ,’ उनी दुःखेसो पोख्दै थिए।
नेपालको संविधानको नागरिकता ऐनमा जन्मसिद्ध नागरिकता लिएकाका सन्तानलाई वंशजको आधारमा दिने कुरा प्रष्ट छ। तर संविधान लेखिएको ६ वर्ष भइसक्दा पनि अहिलेसम्म संशोधन भएको छैन। इन्द्रजितकाे बुबाको जन्मसिद्ध नागरिकता थियो। तर उनी र उनका चार भाइले नागरिकता पाउन सकेका छैनन्।
नागरिकता नभएकै कारण इन्द्रजितले नेपालमा पढ्न पाएनन्। इन्जिनियरिङ पढ्न मन थियो, नेपालमा नभएपछि इण्डिया गएर पढे। त्यहाँ पढ्दै गर्दा पनि घरबाट पैसा पठाउन खुबै समस्या भोग्नुपर्थ्यो उनले।
किनकि उनीसँग खाता थिएन। जब इन्जिनियरिङ पढेर नेपाल आए। सुरु भयो उनको संघर्षको अर्को सिलसिला। जागिरको लागि धेरै पाइताला खियाए, तर पाएनन्। ‘कतिपय ठाउँमा अन्तर्वार्ता दिएर पास भएँ। तर इन्जिनियर र बाइकको लाइसेन्स नभएका कारण जागिरबाट निकालिएँ,’ उनी सुनाउँछन्।
उनी नेपाली हुन्, तर उनको परिचय नै छैन। उनी देशमा नागरिकको गणनामा पर्दैनन्। ‘शरणार्थी जीवन बिताइरहेको छु म,’ उनी निरस सुनिन्छन्। नागरिकताका लागि सर्वोच्चमा मुद्दा पनि नहालेका होइनन् उनले। दुई वर्ष भयो, तारेख मात्र बोलाएको छ। सुनुवाइतिर गएको छैन।
इन्द्रजितलाई इन्जिनियरिङ पढाउँदा परिवारले ५ लाख ऋण बोकेको थियो। अहिले त्यो पढेर १८ लाखमा पुगेको छ। ‘समयमै नागरिकता पाएको भए घरको ऋण आधा सकाउँथें । न कसैले जागिर पयौं। न विदेश जान पनि सक्यौं, यसरी त बाँच्न पनि सकस हुँदो रहेछ,’ इन्द्रजति मलिन हुन्छन्।
रापिलो घाममा प्रहरीको खेदाइ सहेर धर्नामा उत्रिरहेका उनले प्रण गरे– बरु मरुँला । अधिकारको लागि पछि हट्दिनँ, हट्दिनँ।’ जनकपुरका तिलक साह उही संघर्षमा छन् वर्षौंदेखि। उनको बुबाको जन्मसिद्ध र आमाको वंशज नागरिकता छ। स्कुले जीवन सकेर जब नागरिकता लिए गए। उनलाई भनियो– यो कानुनमा छैन। दिन मिल्दैन।
त्यसपछि उनले सजाएको सपना भत्किएजस्तो भयो। निराश भए। तिलकको चाहना थियो– इन्जिनियरिङ पढ्ने। काठमाडौंमा इन्ट्रान्स दिन आए। नागरिकता नभएकै कारण उनले दिन पाएनन्। त्यसपछि स्विट्जरल्यान्ड युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कलेजबाट बीएचएम पढे। तर नागरिकता नभएकै कारण उनको भविष्य अन्योलमा छ।
प्ले कार्ड बोकेर उभिँदै गर्दा सिंहदरवार वृत्तको प्रहरी आइपुगे। ‘तपाईंहरूलाई यहाँ कसले बस्नु भनेको। जानुस्, यहाँ नबस्नुस्।’ ‘सर, पारी पनि गर्न दिएनन्, अब यहाँ पनि दिनुहुन्न। हामीले हाम्रो आवाज कहाँ सुनाउने ?’ प्ले कार्ड लिएर उभिएका राजु कुमार महतोले प्रश्न गरे।
‘जहाँ गएर गर्नुस्, थाहा छैन । तर यहाँ नगर्नुस्,’ प्रहरी जंगिए। त्यसपछि समूहका केही प्रहरी जवानले उनीहरूको प्ले कार्ड थुतिदिए। ‘तपाईंहरू पारी जानुस्, पुलपारी। यता नगर्नुस्,’ प्रहरीले धम्क्याउने लवजमा बोल्दै भने।
नागरिकताविहीन युवाहरूका आँखामा निराशा छाइसकेको थियो।
उनीहरूलाई प्रहरीका समूहले पुलबाट पारी पठाए, जहाँबाट बानेश्वर बृत्तका प्रहरीले भनेका थिए, ‘यता नआउनुस्। उतै गएर गर्नुहोला।’ निश्चित थियो, फेरि बानेश्वरतर्फै अघि लागेको नागरिकताविहीन युवाको समूहलाई पुनः त्यताबाट प्रहरीले खेद्नेनैछन्। र उनीहरूको आवाज आज पनि दबिनेनै छ।
Shares
प्रतिक्रिया