ad ad

समाज


अफगानिस्तानबाट आएका १२७ जनालाई सेनाको आइसोलेसनमा लगियो, रिपोर्ट नेगेटिभ आए आजै घर पठाइने

अफगानिस्तानबाट आएका १२७ जनालाई सेनाको आइसोलेसनमा लगियो, रिपोर्ट नेगेटिभ आए आजै घर पठाइने

नेपालखबर
भदौ १, २०७८ मंगलबार १२:५५, काठमाडौँ

अफगानिस्तानबाट आइपुगेका १२७ जनालाई सामाखुसीस्थित नेपाली सेनाको आइसोलेसनमा लगिएको छ। 

बिहान सवा १० बजे कुवेत हुँदै जजिरा एयरलाइन्सबाट ११८ जना नेपाली र नेपालीमूलका ९ जना भारतीय नागरिक काठमाडौं आएका थिए। तीमध्ये एक जना नेपाली महिला हुन्। 

उनीहरुलाई अमेरिकी सेनाले विमान चार्टर गरेर काठमाडौं ल्याइदिएको हो। काबुलस्थित अमेरिकी मिशनमा कार्यरत नेपालीलाई पहिलो पटक उद्धार गरिएको हो। 

अमेरिकी सेनाले आफ्नो मिसनमा कार्यरत विदेशीलाई पनि उद्धार गरिरहेको छ। यसबाहेक झण्डै चार सय नेपालीलाई दोहा पु¥याएको छ। 

उनीहरुलाई पनि काठमाडौं आउने व्यवस्था अमेरिकी सेनाले नै गर्ने भएको छ।

काठमाडौं आइपुगेका सबैलाई कोरोना परीक्षणका लागि सामाखुसीस्थित सेनाले सञ्चालन गरेको आइसोलेसनमा लगिएको छ। आइसोलेसनमा लैजान सेनाले १३ वटा बस विमानस्थल पठाएको थियो। 

सुरुमा एन्टिजेन परीक्षण गरिने नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए। एन्टिजेनमा रिपोर्ट पोजेटिभ आएकाहरुको पुनः पीसीआर गरिनेछ। पीसीआर गर्दा रिपोर्ट पोजेटिभ आउनेलाई त्यही आइसोलेसनमा राखिनेछ। 

रिपोर्ट नेगेटिभ आएकाहरुलाई भने सीसीएमसीका प्रतिनिधिको रोहबरमा आजै घर पठाउने व्यवस्था गरिने सेनाले जनाएको छ। त्यसरी घर जानेहरु होम आइसोलेसनमा बस्नेछन्। 

अफगानिस्तानमा विद्रोही तालिवानले सत्ता कब्जा गरेपछि त्यहाँ रहेका प्रवासीहरु श्वदेश फर्किन थालेका हुन्। अमेरिकी सेनाले पनि अफगानिस्तान छाड्ने निर्णय गरिसकेको छ। आफू फर्किंदा आफूसँगै मिसनमा काम गर्ने विदेशीलाई पनि उद्धार गरेको हो। 

यस्तै सरकारले अन्य नियोगहरुलाई पनि नेपालीको उद्धारका लागि आग्रह गरेको छ। जुन नियोगमा काम गरिरहेका छन्, तिनै नियोगले घरसम्म पठाउने व्यवस्था गर्न भनिएको छ। 

व्यक्तिगत श्रम स्वीकृति लिएर गएका र अहिले अप्ठ्यारोमा परेकालाई अनलाइनबाट विवरण दर्ता गर्न भनिएको छ। 

उनीहरुको उद्धारका लागि भने सरकारले आफ्नै विमान पठाउने निर्णय गरेको छ। सोमबार साँझ ६ बजेसम्ममा १३४ जनाले विवरण दर्ता गरेका छन्। 

म्यानपावर कम्पनीबाट रोजगारीका लागि त्यहाँ पुगेकाहरुलाई पनि उद्धार गर्नका लागि म्यानपावर कम्पनीलाई सरकारले निर्देशन दिएको छ। 

म्यानपावर कम्पनीहरुले भने ३३० जना दोहा आइपुगेको र झण्डै साढे चार सय काबुल विमानस्थलमा फर्किने प्रतीक्षामा रहेको जानकारी गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .