दुई दिनदेखिको लगातार वर्षाले प्रदेश २ का विभिन्न जिल्लामा बाढी र डुबानको जोखिम बढेको छ।
धनुषा, महोत्तरी, सिरहा, सर्लाहीसहितका जिल्लामा नदीले बाँध कटान गर्न थालेपछि जोखिम बढेको हो।
महोत्तरीमा रातु नदीले बाँध भत्काउँदा बाढी बस्तीमा पसेको छ।
बलबा नगरपालिका वडा नम्बर ४ तिलगढका विभिन्न स्थान गरी झण्डै ४ सय मिटर बाँध कटान गरेर रातु नदीको बाढी बस्तीमा पसेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए।
बाढीका कारण ७ सयभन्दा बढी घर डुबानमा परेको उनले नेपालखबरलाई बताए।
डुबानमा परेका घरका परिवारलाई नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षित स्थलतर्फ सार्न लागिरहेको छ। बिहान करिब ६ बजे नदीले बाँध कटान गरी बाढी गाउँ पसेको प्रहरीले जनाएको छ।
यस्तै सिरहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा बाढीको बहाव बढेको छ। बाढी पस्ने जोखिममा परेका सिरहा नगरपालिका र कल्याणपुर नगरपालिकाका विभिन्न स्थानमा नेपाल प्रहरी र सेना सक्रिय भएका छन्।
कमला नदीको बहाव पनि बढेको छ। यसैले त्यहाँ बिहानैदेखि नेपाल प्रहरी र नेपाली सेनाले नदी तटीय क्षेत्रमा नजान, नदी उकासको जग्गाबाट हट्न र उच्च सर्तकतामा रहन भन्दै माइकिङ गरिरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए।
यस्तै सिरहाको कर्जन्हा नगरपालिकामा पर्ने बन्दीपुरस्थित बाबातालमा पानीको सतह बढेर ओभरफ्लो भई बाँध कटान गर्न थालेको छ। बाढी बस्तीमा पसेर जनधन क्षति हुने जोखिम बढेको छ।
नेपाली सेनाको टोलीले बाँध कटानस्थलमा बोरामा माटो हालेर बाँध मर्मत गरिरहेको प्रजिअ कँडेलले जानकारी दिए।
यस्तै सर्लाहीमा लखनदेही नदीको बाढीले बाँध कटान गर्न थालेको छ। हरिपुर, चक्रघट्टा, मलंगवा नगरपालिका छेउमा बाँध कटान गरिरहेकाले जोखिम बढेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए।
यस्तै धनुषाका विभिन्न ठाउँ समान्य डुबानमा परेका छन्। हालसम्म जनधन क्षति नभएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले बताए।
यो पनिः
रुपन्देहीमा पुल भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध (भिडिओ)
Shares
प्रतिक्रिया