कैलालीको जोशीपुर गाउँपालिकाका रामप्रसाद चौधरी चार महिना अगाडि कामको खोजीमा भारत गएका थिए। स्वदेशमा केही रोजगारी नहुँदा उनलाई आफ्नो जहान पाल्न खर्चको जोहो गर्न धौ–धौ परेको थियो।
जीविकोपार्जन गर्न कामको खोजीमा रामप्रसाद भारतको हिमाञ्चल प्रदेश हानिएका थिए। त्यहाँ उनले स्याउ टिप्ने काम गर्दथे। रामप्रसादले भारतमा स्याउ टिप्ने काम गरेर घर खर्च चलाउने गरेका छन्। बिहिवार उनी भारतबाट स्वदेश फर्किए।
नेपालीहरुको महान पर्व दसैँ/तिहार नजिकिँदै गरेको छ। त्यसकै लागि भारतमा परिश्रम गरेर खर्च जोहो गर्दै चाडबाड मनाउन उनी घर आएका छन्।
‘स्वदेशमै काम केही पाइएन। भारतमा स्याउ टिप्न गएको थिएँ’ गड्डाचौकी नाकामा भेटिएका रामप्रसादले भने, ‘घरमा चाडबाड मनाउन खर्च पनि थिएन। चाडबाडको खर्च जोहो गरेर आएको छु। अब परिवारसँग मिलेर दसैँ मनाइन्छ।’
पछिल्लो समय कञ्चनपुरको गड्डाचौकी नाकामा भारतबाट स्वदेश फर्किनेको लर्काे लागेको छ। दसैँ, तिहार नजिकिएसँगै रोजगारीको खोजीमा भारत गएकाहरु मध्ये गड्डाचौकी नाकाबाट दैनिक ६/७ सय मानिस स्वदेश फर्किरहेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार असोजको पहिलो दुई सातामा १२ हजार ७ सय ३० जना मानिस स्वदेश भित्रिएका छन्। गड्डाचौकी नाकाबाट ६ हजार ६ सय २ जना र गौरीफन्टा नाकाबाट ६ हजार १ सय २८ जना स्वदेश प्रवेश गरेको डीएसपी सिद्धराज न्यौपानेले जानकारी दिए।
भारतमा काम गरेर दसैँको लागि घरखर्च जुटाएर स्वदेश फर्किनेको सुदूरपश्चिमका नाकामा भीड लागेको हो। कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटबाट मानिस नेपाल–भारत ओहोरदोहोर गरिरहेका छन्।
भारतबाट फर्किनेहरूमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेश र त्यस पछि कर्णाली प्रदेशका मानिस रहेका छन्। यहाँका मानिस रोजगारीको खोजीमा भारतको विभिन्न शहर पुग्ने गरेका छन्।
नाकामै खोप
भारतबाट आउने नेपाली नागरिकलाई गड्डाचौकी नाकामा कोरोना विरुद्धको खोप लगाइँदै छ। स्वास्थ्य कार्यालय, कञ्चनपुरले भारतबाट आउनेहरु १८ वर्षमाथिका पहिलो डोज नलगाएका मानिसलाई नाकामै कोरोना विरुद्धको खोप लगाउने व्यवस्था मिलाएको हो।
‘कोरोना महामारीबाट बच्न भारतबाट आउनेहरुको एन्टिजेन परिक्षण गर्ने गरेका छौँ।’ गड्डाचौकी नाकामा खटिएका स्वास्थ्य कार्यालय, कञ्चनपुरका स्वास्थ्य अधिकृत महेश महराले भने, ‘भारतमा कोरोना खोपको एक डोज पनि नलगाएकालाई हामी खोप पनि लगाउँदैछौँ।’
उनका अनुसार एक महिनाको अवधिमा नाकाबाट भित्रिएका ५ हजार ५ सय भन्दा बढि मानिसलाई कोरोना विरुद्धको खोप लगाइएको छ।
पछिल्लो केही दिनयता नाकामा भारतबाट फर्किनेको संख्या बढेको उनी बताउँछन्। ‘भारतमा आधार कार्ड नभएका अधिकांशले खोप लगाएका छैनन्। दैनिक एक/दुई सयलाई खोप लगाउने गरेका छौँ’ उनले भने, ‘अहिले विगतभन्दा चाडबाडले गर्दा नाकामा मानिसहरुको चाप पनि बढेको छ।’
Shares
प्रतिक्रिया