११ असोजमा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको विमानमा देखिएको भनिएको समस्यालाई बुद्ध एयरले क्याप्टेनको कारण सिर्जित समस्याको रुपमा व्याख्या गरेको छ।
बुद्ध एयरले गठन गरेको छानबिन समितिले जहाजमा कुनै समस्या नरहेको तर क्याप्टेनले बाहिरी सूचनाको मात्रै पर पर्दा समस्या सिर्जना भएको निष्कर्ष निकालेको हो।
बुद्ध एयरले छानविन समितिको प्रतिवेदन सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई बुझाएको छ। जसमा जहाजमा कुनै पनि समस्या नभएको उल्लेख गरिएको छ।
११ असोजमा काठमाडौं(विराटनगर उड्नु पहिले बिमानको ‘क्रु टिम’ले जहाजको ‘इन्डिकेटर’ को संकेत याद नगरी उडान गर्दा समस्या आएको निष्कर्ष छानविन समितिले निकालेको हो।
क्याप्टेन एजी शेर्पाले उक्त उडान गरेका थिए। पहिले नै जहाजले समस्याको संकेत गर्दासमेत क्याप्टेन शेर्पाले त्यसलाई ख्याल नगरेकोसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ।
बुद्ध एयरका क्याप्टेन अनन्त डंगोलको संयोजकत्वमा कम्पनीले छानबिन समिति गठन गरेको थियो। प्रतिवेदनमा उड्नुभन्दा पहिले ककपिट भित्र देखिएको इन्डिकेटरलाई ‘क्रु टीम’ ले ध्यान नदिएको उल्लेख छ।
चालक दलका सदस्यसहित ७७ यात्रु लिएर उडेको बुद्ध एयरको ‘९ एन– एएनआई’ कलसाइनको एटीआर–७२ जहाज त्यो दिन ठूलो दुर्घटनाबाट जोगिएको थियो। विराटनगरमा अवतरण गर्न नसकि काठमाडौँ फर्किएको जहाजले साढे २ घण्टासम्म काठमाडौंको आकाशमा फन्को लगाएको थियो।
आकाशमै अढाइ घण्टा बस्नुपर्दा यात्रुबीच रुवावासीसमेत चलेको थियो। पछि सामान्य अवस्थामै बिमान काठमाडौंमै अवतरण भएको थियो।
Shares
प्रतिक्रिया