नेपालीहरुको महत्वपूर्ण चाड बडा दसैँ बिहीबारदेखि सुरु भएको छ। घर–घरमा जमरा राखिएका छन्। शहर–बजार, गाउँघर सबैतिर दसैँको चहलपहल ह्वात्तै बढेको छ। रोजगारी तथा अध्ययनका लागि घरबाट टाढा गएकाहरु दसैँमा परिवारसँगै बसेर खुसी साट्न धमाधम घर फर्किरहेका छन्।
चाडबाड मनाउन घर फर्किनेको ताँतीले नेपाल–भारत सीमा नाकामा चहलपहल बढेको छ। तर, यतिबेला सुदूरपश्चिमको नेपाल–भारत सीमा नाकामा दुई फरक दृश्य देख्न पाइन्छ।
बिहान दसैँ मनाउन घर फर्किनेको लर्को देखिने सीमा नाकामा दिउँसो भने कामको खोजीमा भारत जाने लामबद्ध भएका देखिन्छन्। दसैँको मुखमै कामको खोजीमा भारत जानका लागि सुदूरपश्चिम तथा कर्णाली प्रदेशका मानिसको नाकामा लर्को लाग्ने गरेको छ।
गरिबीको चपेटामा परेका उनीहरुलाई न रोगव्याधीले छेक्छ, न त चाडबाडले नै। स्वदेशमा रोजगारी नपाएपछि उनीहरु चाडबाडमै घरपरिवार छोडेर परदेशी हुन बाध्य भएका छन्।
‘लालाबाला घरमै छोडेर चाडबाडमा घर छाडेर हिड्नु परेको छ,’ कैलालीको गोदावरी नगरपालिका–३ का भरत ताम्राकारले भने, ‘घरपरिवारसँगै बसेर चाडबाड मनाउने रहर त थियो, तर के गर्नु, गरिबीले गर्दा चाडपर्वकै बेला घर छाडेर परदेशिनु परेको छ। यो हाम्रो बाध्यता हो।’
अहिले घरखर्च चलाउन भारत जानेहरुले चाडपर्वको खुसीयाली घरपरिवारसँग साट्न पाएका छैनन्। स्वदेशमा रोजगार नपाएपछि गुजारा चलाउन चाडबाडकै मुखमा विदेश जानु परेको कञ्चनपुरको कृष्णपुर नगरपालिकाका शुक्रराज भट्टले गुनासो गरे।
‘आफ्नो ठाउँमा केही काम पाइएन। घरखर्च चलाउनै मुस्किल प¥यो,’ उनले भने, ‘त्यसैले बालबच्चा पाल्न अहिले भारत जाँदै छु। भारत नगए भोकभोकै बस्नुपर्ने अवस्था छ।’
बेरोजगारी र चरम गरिबीले गर्दा घरखर्च चलाउन समस्या भएपछि वर्षको सबैभन्दा ठूलो चाडकै मुखमा सुदूरपश्चिमबाट हजारौँ नेपाली रोजगारी खोज्दै भारत लागेका छन् । ‘भोकले गर्दा हामीलाई चाडपर्वले रोक्न सकेन। स्वदेशमा रोजगारी पाइएन। खर्च नभएपछि कसरी चाड मनाउनु,’ कैलालीको लम्कीका हरिश विष्टले भने, ‘त्यसैले चाडमै बाध्यतावश विदेशिनु परेको छ।’
स्वदेशमा परिवार पाल्न गार्हो भएपछि दसैंकै मुखमा भारत जान लागेको अछामका अर्जुन विकले बताए ‘तीन महिना अगाडि बङ्ग्लोरबाट आएको थिएँ। कमाएर ल्याएको रकम ऋण थपेर गाउँमै पसल थापेँ, तर त्यसको आम्दानीले पेट पाल्न गार्हो भयो,’ उनले भने, ‘पसल थाप्दा लागेको ऋण तिर्न बाँकी छ । त्यही ऋण तिर्न फेरी भारत हिँडेको छु।’
कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट हिजोआज दैनिक ६/७ सयको संख्यामा नेपाली नागरिक भारत गइरहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार असोज महिनाको तीन साताको अवधिमा यी नाका भएर १४ हजार एक सय ८७ जना नेपाली नागरिक रोजगारीका लागि भारत पसेका छन्।
पश्चिमी नाका गड्डाचौकीबाट असोज १ देखि २१ गतेसम्मको अवधिमा ७ हजार ९ सय ९ जना र गौरीफन्टा नाकाबाट ६ हजार २ सय ७८ जना नेपाली रोजगारीको खोजीमा भारततिरको गएको प्रहरीले जनाएको छ।
यस्तै भारतबाट स्वदेश फर्किनेको संख्या भारत जानेको भन्दा दोब्बर छ। तीन साताको अवधिमा गड्डाचौकी नाकाबाट १३ हजार ८ सय ३५ जना तथा गौरीफन्टा नाकाबाट १२ हजार ३ सय ७ जना गरी कुल २६ हजार १ सय ४२ जना स्वदेश भित्रिएका छन्।
कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटबाट मानिस नेपाल–भारत ओहोरदोहोर गरिरहेका छन्। रोजगारीको लागि भारत जानेहरुमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेश र त्यस पछि कर्णाली प्रदेशका छन्।
यहाँका मानिस रोजगारीको खोजीमा भारतको दिल्ली, देहेरादुन, बङ्ग्लोर, पन्जाब, हरियाणा लगायत शहर पुग्ने गरेका छन्। ‘विदेशमै रोजगारी पाए दसैँको मुखमा कामको लागि अर्काको मुलुक जानु पर्ने बाध्यता हुने थिएन,’ अछामका अर्जुन विकले भने।
Shares
प्रतिक्रिया