नेपालीहरुको महत्वपूर्ण ठूलो चाड दसैँको चहलपहल सबैतिर बढेको छ। वर्षमा एक पटक आउने चाडबाडले गाउँ–सहरमा उत्साह ल्याएको छ।
काम तथा अध्ययनका लागि घर बाहिर रहेकाहरु घर फर्किएका छन्। दसैँको लागि घर लिपपोत गर्ने तथा लत्ताकपडा किनमेल गर्ने काममा मानिसहरु जुटेका छन्।
तर कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीस्थित सुकुम्बासी बस्तीमा भने दसैँको कुनै चहलपहल नै छैन। सदरमुकाम महेन्द्रनगर नजिकै रहेको बस्ती चाडबाडमा बेला सुनसान छ।
त्यहाँ बसोबास गर्ने अधिकांश मानिस मजदुरी काम गर्ने गर्छन। बिहान खाना खाएर काममा जाने उनीहरु बेलुकाको रासन गुजारा गरेर घर फर्किन्छन्।
सुकुम्बासी बस्तीमा बस्ने शंकर पार्की दसैँको टिका नजिकिएसँगै चिन्तित छन्। उनलाई दसैँको लागि घर खर्च जुटाउन हम्मेहम्मे परेको छ।
आर्थिक विपन्नताले बस्तीमा चाडबाड आए जस्तो नभएको शंकर बताउँछन्।
‘वर्षमा एक दिन आउने चाडबाड आउँदा खुसी हुनु पर्ने हो,’ उनले भने, ‘तर हामी दिनभरी कमाएर बेलुकी खाना खानेलाई के को चाडबाड के खुसी।’
दसैँको टिका खर्च जुटाउन अहिले पनि दिनहुँ आफ्नो काममा व्यस्त छन्, उनी। शंकरले बजारबाट कबाड संकलन गरी बिक्री गर्ने काम गर्छन।
उनी सबेरै देखि काममा लाग्छन्। दिनभर बजारबाट पुराना फलाम, भाडाकुडा, कार्टुन लगायत संकलन गर्छन्। र बेलुका ती कबाड बेचेर उनको चुलोमा आगो बल्छ।
‘कबाडको काम गरेर बिहान/बेलुकाको गास जोडिन्छ’ शंकर भन्छन्, ‘काम नगरे खानाको ठेगान नै हुँदैन।’
उनलाई यो बस्तीमा बस्न थालेको ७ वर्ष भन्दा बढि पुग्यो। बैतडीको शिवनाथ गाउँपालिका–६ डाडाकोटका शंकर २०७० सालतिर गरिबीको पीडाले तराई झरेका थिए।
‘बुवा बाजेको अवस्था कमजोर थियो। पहाडमा जग्गा, जमीन पनि थिएन’ शंकरले भने, ‘त्यहाँ खान, बस्न अपुग हुन थाल्यो। त्यस पछि तराई आएको थिए।’
सुकुम्बासी बस्तीमा शंकरको सानो झुप्रो छ। त्यहीँ झुप्रोमा बालबच्चासँगै उनी उज्जवल जीवनको सपना देख्दैछन्। उनका तीन जना स–साना छोरा छोरी छन् ।
कबाड बेचेर आउने पैसाले बिहान–बेलुकाको छाक टार्न मुस्किल हुने गरेको शंकर बताउँछन्।
‘यहाँबाट आउने पैसाले कहिले त रासनको लागि पनि पुग्दैन। ग्यास, बिजुली, पानीको पनि पैसा तिर्नु पर्छ’ उनले भने, ‘चाडबाड मनाउन पैसा चाहियो, यस्तो अवस्थामा कसरी मनाउने त?’
छोरा–छोरीले दसैँमा लत्ताकपडा किनिदिन भनेको तर आफूले किन्न नसकेको उनको भनाई छ।
‘बालबच्चाले दसैँमा कपडा भनेका छन्। तर किन्न सकेको छैन’ उनले भने, ‘पैसा नै जुटाउन सकेको छैन। कामको पैसाले रासनमै ठिक्क हुन्छ।’
हरीलाल राना पनि सकुम्बासी बस्तीमा बस्छन्। उनलाई अहिलेसम्म दसैँले छोएको छैन। हरीलाल घर बनाउने मिस्त्रीसँग ज्यालादारीमा मजदुरी गर्छन्। ठेकेदारले पैसा नदिदा दसैँ खल्लाे हुने उनको चिन्ता छ।
‘ऋण निकालेर रासन लिएको थिए। त्यो पैसा तिर्न बाँकी नै छ’ उनले भने, ‘दसैँमा पनि पैसा आएन भने भोकभोकै बस्नु पर्ने अवस्था आउँछ।’
पैसा नहुँदा ऋण काढेर दसैँ मनाउनु परेको मोहन विकले बताए।
‘चाडबाड आउनु हाम्रा लागि दशा लागे झै भएको छ। खर्च धेरै हुन्छ। कमाएको पैसा रासनमै सकिन्छ’ उनले भने, ‘साथीभाइसँग ऋण मागेर बालबालिकाका लागि कपडा किनेको छु।’
घरमा खानका लागि केही रासन नभएको गोपी लुहार गुनासो गर्छन।
‘ज्वरो आएर २/३ दिन काममा जान सकिन। छिमेकीसँग मागेर पेट पाल्दै छु’ उनले भने, ‘चाडबाडमा मिठो मसिनो खाने मन थियो। तर के गर्नु भोक मेट्न रासन नै नपाइएला जस्तो छ।’
भीमदत्त नगरपालिका–१८ सालघारीमा एक सय ५८ परिवार सुकुम्बासी छन्।
Shares
प्रतिक्रिया