ad ad

समाज


ज्यान जोगाउन छिमेकमा आश्रय लिए, त्यही घर पहिरोले बगाउँदा परिवारै गुमाए

ज्यान जोगाउन छिमेकमा आश्रय लिए, त्यही घर पहिरोले बगाउँदा परिवारै गुमाए

गोकुल जोशी
कात्तिक ३, २०७८ बुधबार २१:१०, काठमाडौँ

पहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका तीन जनाको शव भेटिएको छ। 

थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार बेलुकासम्म तीन जनाको शव भेटिएको छ। दुई जना बालक र एक अधबैँसे पुरुषको शव भेटिएको भए पनि उनीहरु सनाखत हुन सकेको छैन।

‘तीन जनाको क्षतविक्षत अवस्थामा शव भेटिएको छ’ उनले भने, ‘उनीहरुको सनाखत गर्ने काम भइरहेको छ।’

दुई बालकको घरभन्दा दुई सय मिटर तल र अर्काको बिजुली गाड खोला किनारमा शव भेटिएको हो। उनीहरुको शव अहिले स्थानीय मैनधार आधारभुत स्वास्थ्य केन्द्रमा राखिएको छ। 

आज साँझसम्म बेपत्ताको खोजी भइरहेकोमा अँध्यारोका कारण खोजी कार्य बन्द गरिएको र भोलि फेरि खोजी गरिने उनले बताए। 

‘भोलि बिहानैदेखि खोजी कार्य फेरि सुरु हुन्छ’ वडाध्यक्ष विष्टले भने, ‘जताततै खोज्यौँ तर केही अत्तोपत्तो चलेको छैन।’ 

बेपत्ता अन्य २० जना सकुसल भेटिने सम्भावना न्यून रहेको उनी बताउँछन्। 

‘८/९ सय मिटर भन्दा बढी क्षेत्रमा पहिरो खसेको छ। सबै पहिरोमा पुरिएको आशंका छ’ उनले भने।

स्थानीय, नेपाली सेना र सशस्त्र प्रहरीले पहिरोमा पुरिएकाको उद्धार तथा खोजबिन गरिरहेका छन्। 

थलारा गाउँपालिका–४ डिक्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका थिए। बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ र नरबहादुर पार्कीको घरका ५ जना रहेका छन्।

‘पहिरोको डरले ज्यान जोगाउन नरबहादुरले आफ्नो परिवार गगनेको घरमा राखेका थिए। आफू सामान लिन घर गए’ वडाध्यक्ष विष्टले भने, ‘तर आउँदा त घर पहिरोले खाइसकेको थियो।’ 

पहिरोमा नरबहादुरका श्रीमती, आमा, दुई छोरी र एक छोरा बेपत्ता भएका छन्। पहिरोले नरबहादुर र गगन सार्कीको परिवार खोसेको छ।

गगने सार्की ३ छोरासहित रोजगारीका लागि भारतमा छन्।

‘नरबहादुर र उनीसँग सामान लिन गएका गगनेको परिवारका २ जना सकुसल छन्’ वडाध्यक्ष विष्टले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .