सप्तरीमा बसको ठक्करबाट महिलाको मृत्यु भएको छ।
प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिमतर्फ गइरहेको को १ ख ७७८४ नम्बरको बसले मंगलबार राति साढे ११ बजेतिर ठक्कर दिँदा खडक नगरपालिका ७ कल्याणपुरका रामचलितर भगतकी पत्नी ४५ वर्षीया ठण्डेश्वरी भगतको मृत्यु भएको हो।
बसले उनलाई घरनजिकै ठक्कर दिएको थियो। गम्भीर घाइते अवस्थामा उनलाई युनिक अस्पताल (रुपनी) लगिए पनि चिकित्सकले मृत घोषणा गरेको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधप्रसाद काफ्लेले जानकारी दिए।
पोस्टमार्टमका लागि शव गजेन्द्र नारायण सिंह अस्पताल (राजविराज) मा राखिएको र बससहित चालक मोरङ धनपालथान गाउँपालिका ३ मयागनका ३२ वर्षीय विनोद राजवंशी प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको डीएसपी काफ्लेले बताए।
यसैबीच सप्तरीमै सवारीसाधनको ठक्करबाट हरिण मरेको छ। बुधबार बिहान ४ बजेतिर पूर्वपश्चिम लोकमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका ६ कठौना चोकमा सवारीसाधनले ठक्कर दिँदा जंगली वयस्क अन्दाजी १०० किलो तौल भएको हरिण घटनास्थलमै मरेको प्रवक्ता काफ्लेले जानकारी दिए।
कानुनी प्रक्रिया पूरा गरी हरीण इलाका वन कार्यालय (रुपनी) को जिम्मा लागाइएको जिल्ला प्रहरी कार्यालय (सप्तरी) ले जनाएको छ।
Shares
प्रतिक्रिया