ad ad

समाज


बाढीले खोस्यो कुतियाकबरबासीको रोजिरोटी (भिडिओ)

बाढीले खोस्यो कुतियाकबरबासीको रोजिरोटी (भिडिओ)

गोकुल जोशी
कात्तिक १२, २०७८ शुक्रबार १८:२०, काठमाडौँ

कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका- १० कुतियाकबरका ५२ वर्षीय खड्के बुढा करिब चार दशकदेखि कृषि पेसामा संलग्न छन्। उनी वर्षेनी गाउँमै जमीन लिजमा लिएर बेसार र परबल लगायत तरकारी खेती गर्छन्।

यही पेशाले उनले आफ्नो ११ सदस्यीय परिवार सजिलैसँग पालेका थिए। तर, यसवर्ष भने उनलाई परिवार कसरी पाल्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ। मनसुन पछिको भारी वर्षाले महाकाली र जोगबुढा नदीमा आएको बाढी गाउँ पस्दा बुढाले गरेको खेती स्वाहा पारेको छ।

अहिले उनको खेती गरेको जमीन बगरमा परिणत भएको छ। खेतीयोग्य जमीनमा बालुवा भरिएको छ। बाढीले उनको रोजिरोटी नै खोस्यो। त्यसैले उनलाई अहिले घरखर्च कसरी चलाउने भन्ने चिन्ता थपिएको छ। 

‘बाढीले खेतको बालीनाली त सब लग्यो। घरभित्रको अन्नपात पनि बगाएको छ। अब के गर्ने/कसरी परिवार पाल्ने भन्ने चिन्ता छ,’ उनले भने, ‘यो पेशा गरेर राम्रै गरेर गुजारा चलेको थियो।’

बुढाका ३ छोरा, १ छोरी, नातिनातिना गरेर ११ जनाको परिवार छ। कृषि पेसाबाट नै उनले छोरा–छोरीलाई शिक्षादीक्षा दिएका थिए। र, घरखर्च पनि चलाएका थिए। बुढाले वि.सं. २०४० सालदेखि खेती गर्न थालेका हुन्। 

उनको कुतियाकबरमा जमीन छैन, सुकुम्बासी हुन्। उनले प्रत्येक वर्ष लिजमा जमीन लिएर बेसार, परबल, गहुँ, धान, तोरी खेती गर्थे।  

‘यसैबाट घरमा खान पनि हुन्थ्यो। बजारमा बिक्री गरेर घर खर्च पनि चल्थ्यो,’ उनले भने, ‘तर यसपाली त बाढीले हाम्रो रोजिरोटी नै खोसिदिएको छ।’ 

बुढाले तीन बिगाह जमीनमा बेसार र तोरी खेती, १० कट्ठा जमीनमा परबल खेती गरेका थिए। बाढीले सबै सखाप पारेको छ। लिजमा लिएको जमीनमा बालुवा भरिएकाले अब खेती गर्नै नसकिने उनी बताउँछन्।

‘बाढीले पुरै खेतीयोग्य खेत नै तहसनहन पारेको छ। अब केही खेती गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘जमीनमा बालुवाको थुप्रो लागेको छ।’

उनले दुई लाख रुपैयाँ भारुमा दुई खेत तीन वर्ष र एक खेत एक वर्षका लागि लिजमा लिएका छन्। बिउ, जमीनको लिज छोडेर एक खेतमा बाली लगाउन एक लाख लगानी लाग्थ्यो। र, त्यसबाट करिब ४/५ लाख आमदानी हुने गरेको बुढा बताउँछन्। 

‘खेतीबाट जसोतसो गरेर जीविकोपार्जन गरिरहेका थियौँ। बालबच्चालाई पढायौँ,’ उनले भने, ‘बाढीले पहिला त यस्तो कहिल्यै गरेको थिएन। बाढी आउँथ्यो, हल्काफुल्का बालुवा भरिन्थ्यो। त्यसमा पनि हामी खेती गर्थ्यौं। यसपाली त यस्तो अवस्था नै रहेन।’

उनी मात्रै होइन, दोधारा–चाँदनी नगरपालिका–१० कुतियाकबरका ३८ परिवार बाढीले घर खेतीबालीमा क्षति पुर्‍याउँदा बिचल्लीमा परेका छन्। कुतियाकबर महाकाली नदी र जोगबुढा नदीले घेरिएको छ। यो भारतसँग जोडिएको सीमावर्ती गाउँ हो।

यहाँका अधिकांश स्थानीय बासिन्दा बेसार, परबल, गहुँ, तोरी, अदुवा खेती गर्छन्। र, यहीबाट उनीहरुको गुजारा चल्ने गरेको छ। कुतियाकबरको उत्पादन महेन्द्रनगरका साथै भारतीय सहरमा पनि पुग्छ। 

तरकारी खेती गर्ने अर्का किसान लालबहादुर खड्काको खेती पनि बाढीले पुरै नष्ट गर्‍याे। तर अहिलेसम्म उनले राहत पाएका छैनन्। बस्तीको निरीक्षणमा आएका जनप्रतिनिधिहरुबाट उनीहरुले आश्वासन मात्रै पाएका छन्। उनी अब परिवार पाल्न भारत जाने मनस्थितिमा छन्।

‘दैनिक ५ हजारको भान्टा बिक्री हुने गरेको थियो। सबै बारी बाढीले सखाप पारेको छ,’ उनले भने, ‘सरकारबाट अहिलेसम्म केही राहत पाएका छैनौँ। अब परिवार पाल्न भारततिर जानु पर्छ।’

भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .