ad ad

समाज


विकट खल्ला-मसेट्टीलाई महेन्द्रगरसँग जोड्दै यी समाजसेवी

विकट खल्ला-मसेट्टीलाई महेन्द्रगरसँग जोड्दै यी समाजसेवी

गोकुल जोशी
कात्तिक १५, २०७८ सोमबार १७:५९, काठमाडौँ

तराईको जिल्ला कञ्चनपुरको सबैभन्दा विकट ठाउँ हुन्– भीमदत्त नगरपालिका–९ मा पर्ने खल्ला, मसेट्टी र टुँडिखेल। यहाँको भौगोलिक बनावट ठ्याक्कै पहाडी भेगको जस्तै छ।

बस्ती बसेको दशकपछि हालसालै यी बस्तीमा सडक, बिजुली र टेलिफोन सेवा पुगेको थियो। स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भए पछि यो क्षेत्रले विकासमा फड्को मार्दै गएको थियो। चुरे पर्वत शृंखलामा पर्ने महाकाली नदीकिनारका यी बस्ती कात्तिक पहिलो साता बाढीको चपेटामा परे।

मनसुन पछिको वर्षाले उर्लेर आएको महाकाली नदीले खल्ला, मसेट्टी र टुँडिखेल जोड्ने सडकमा क्षति पुर्‍यायो। बाढीले क्षति पुर्‍याएको यी बस्तीका स्थानीय, प्रदेश र संघका सांसदहरुले स्थलगत निरीक्षण गरे। 

बस्तीमा पुग्ने जनप्रतिनिधिहरुले बाढीका कारण अवरुद्ध बनेको सडक सञ्जाल खोल्ने लगायत आश्वासन दिए। खल्ला, मसेट्टी र टुँडिखेल बासीसँगको सडक सञ्जालसँग सम्बन्ध विच्छेद भएको दुई साता बितिसक्दा पनि जनप्रतिनिधिले वास्ता नगरेपछि स्थानीय आफैँ सडक खुलाउन जुटेका छन्। 

भीमदत्त नगरपालिका–९ खल्लाका दिपराज चटौत बाढीका कारण अवरुद्ध स्थानीय बजार ब्रह्मदेव र खल्ला, मसेट्टी तथा टुँडिखेल जोड्ने सडक निर्माणमा जुटेका छन्।

‘जनप्रतिनिधिहरुले वास्ता नगरेपछि बिग्रिएको सडक आफ्नै खर्चमा निर्माण गरिरहेको छु’  चटौतले भने, ‘यो गाउँको बासिन्दा भएकाले मेरो पनि दायित्व हुन्छ। यहाँका जनताको दुःख, कष्ट देख्न नसकेर सामाजिक सेवाले सडक निर्माणको काम गरिरहेका हुँ।’

उनले सडक निर्माणमा आफ्नै दुई जेसीबीको प्रयोग गरेका छन्। लगातार दुई दिनदेखि दिनरात काम गरेर सडक केही हिँडडुल गर्न सक्ने अवस्थामा आएको उनी बताउँछन्। 

‘जनप्रतिनिधिहरु यही बाटो हिँडेर हेरेर गए। तर काम गर्ने केही सुरसार नै गरेनन्’ उनले भने, ‘मेयर साव, वडाध्यक्षज्यू सबैले भोलि पर्सी भन्दै टार्दै गएपछि आफैँले काम थालेको हुँ।’

बाढीका कारण ब्रह्मदेव र खल्ला, मसेट्टी, टुँडिखेल जोड्ने सडकको २ किलोमिटर खण्डमा पूर्ण क्षति पुगेको थियो। 

‘दुई दिन त रातमा पनि काम गर्‍यौँ। २ किलोमिटर सडक निकै बिग्रिएको थियो। अहिले त्यो काम सकेर आवतजावत गर्न मिल्ने भएको छ’ उनले भने, ‘सडकका खाल्डा खुल्डी पनि पुरिरहेका छौँ।’

बाढीले सडक बिगारेपछि खल्ला, टुडिँखेल र मसेट्टीबासी हिँडेरै स्थानीय ब्रह्मदेव बजारसम्मको कष्टपूर्ण यात्रा गर्न बाध्य छन्। सडक सञ्जालसँग जोडिएपछि त्यहाँका स्थानीय बासिन्दाले  बस र अटोको सुविधा पाएका थिए। त्यही चढेर उनीहरु ब्रह्मदेव र महेन्द्रनगर बजारमा किनमेल गर्न आउजाउ गर्ने गर्थे।

बाढीले सडक बिग्रिएपछि आउजाउमा सास्ती खेप्नु परेको स्थानीय कमला रोकाले बताइन्। अहिले पुन सडक मर्मत सुरु भएपछि फेरि सहज हुने उनले आशा व्यक्त गरिन्।

‘धेरै पछि सडक पाएका थियौँ। बजार आउजाउ गर्न सजिलो भएको थियो। बाढीले सबै अस्तव्यस्त बनायो’ उनले भनिन्, ‘अहिले जेसीबीले सडक बनाएपछि केही राहत भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .