झण्डै एक दशकअघि ५ जनाको ज्यान जानेगरी भएको जनकपुर बमकाण्ड मुद्दाको फैसलामा मुख्य योजनाकार भनिएका संजय कुमार साह (टकला)ले पुनः राहत पाएका छन्।
ज्यान मार्ने षडयन्त्र मुद्दामा जिल्ला अदालत धनुषाले जन्मकैद फैसला सुनाएकोमा उच्च अदालत जनकपुरले त्यसलाई कम गरी ११ वर्ष हुने फैसला सुनाएको छ।
सोमबार न्यायाधीश धीर बहादुर चन्द र रमेश ढकालको संयुक्त इजलाशले पूर्वराज्यमन्त्रीसमेत रहेका अभियुक्त साहलाई ११ वर्षको कैद सजाय सुनाएको उच्च अदालतका रजिष्ट्रार खडगराज अधिकारीले नेपालखबरलाई जानकारी दिए।
जिल्लाको फैसलाविरुद्ध विक्की दास कथबनियाले उच्च अदालतमा दिएको मुद्दामा यस्तो फैसला आएको हो।
जन्मकैदमा २० वर्ष सजायको व्यवस्था छ। अब उच्च अदालतले ९ वर्ष कम गरेर फैसला सुनाएपछि संजय साहलाई राहत भएको छ।
षडयन्त्र गरी ज्यान मार्ने मुद्दामा १० देखि १५ वर्षसम्म सजाय हुने व्यवस्था रहेकोमा ११ वर्ष कैद फैसला भएको रजिष्ट्रार अधिकारीले बताए।
यसअघि गएको असोज १७ गते उच्च अदालतले जनकपुर बम काण्डकै अर्को ज्यान मार्ने उद्योग मुद्दामा साहलाई ७ वर्ष कैद सजाय सुनाएको थियो। सो मुद्दामा जिल्ला अदालतले साहलाई १२ वर्ष कैदको फैसला सुनाएको थियो।
जिल्लाको फैसलाविरुद्ध गरेको रिटमा ५ वर्ष कैद सजाय कम गर्दै उच्च अदालतले ७ वर्ष कैद हुने फैसला सुनाएको थियो।
२०६९ वैशाख १८ गते मिथिला राज्य माग गर्दै जनकपुरधामको रामानन्द चोकमा धर्ना बसेका नागरिकलाई लक्षित गरी शक्तिशाली बम विस्फोट गराइएको थियो। जसमा परी ५ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए।
सो घटनामा साहलाई मुख्य योजनाकार बनाई जिल्ला अदालतमा ज्यान मार्ने उद्योग र ज्यान मार्ने षड्यन्त्र गरी दुई वटा मुद्दा चलाइएको थियो।
जिल्ला अदालत धनुषाले पूर्वराज्यमन्त्री टकलालाई जन्मकैद सजाय सुनाएको थियो। साह काठमाडौंको नक्खु कारागारमा कैद भुक्तान गरिरहेका छन्।
अभियुक्त साहलाई जनकपुरका सञ्चार उद्यमी अरुणकुमार सिंघानिया हत्यामा पनि धनुषा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ।
यो पनिः जनकपुर बमकाण्ड : सञ्जय साहको कैद सजाय उच्च अदालतले घटायो
Shares
प्रतिक्रिया