महाकाली नदी आफ्नै वेगमा बगिरहेको छ। नदीको तीरै तीर चुरे फेदीका खल्ला, मसेट्टी र टुँडिखेल जोड्ने उबडखाबड बाटो छ।
त्यही बाटो हिँड्दै गरेकी भेटिइन्, टुडिँखेलकी ७० वर्षीया वृद्धा नारा ठगुन्ना र उजली बिष्ट। हातमा लौरो लिएर उबडखाबड बाटो छिचोल्दै उनीहरु घरतिर जाँदै थिए। उनीहरुको घर भीमदत्त नगरपालिका–९ टुँडिखेलमा छ।
उजलीले पिठ्युँमा झोला पनि बोकेकी छन्। गर्मीले असिनपसिन देखिने ती वृद्धा ठाउँ ठाउँमा रोकिँदै/हिँड्दै गरिरहेका थिए। उनीहरु स्थानीय ब्रह्मदेव बजारमा अस्पतालमा आएका रहेछन्।
अस्पतालमा स्वास्थ्य चेकजाँच र औषधि लिएर घर फर्किरहेका थिए। ७० वर्षीया वृद्धा नाराको बेला बेलामा हात, खुट्टा दुख्ने समस्या भइरहन्छ। र, त्यसकै लागि उनी हप्ताको एक दिन औषधि लिन ब्रह्मदेव बजार आउजाउ गरिरहन्छिन्।
यसपालिको उनीहरुको ब्रह्मदेवसम्मको यात्रा भने निकै कष्टकर बनेको छ। कार्तिक पहिलो साता आएको महाकाली नदीको बाढीले भीमदत्त नगरपालिका–९ खल्ला, मसेट्टी र टुँडिखेल जोड्ने सडक बगाएपछि त्यहाँका बासिन्दा कष्टकर जीवन बिताउन बाध्य छन्।
‘गाउँमा केही सुविधा छैन। त्यसैले हामीले केही गर्न पनि कि ब्रह्मदेव झर्नु पर्छ। कि त पारी भारततिर जानु पर्छ’ नारा ठगुन्नाले भनिन्, ‘अटोमा जान्थ्यौँ तर बाढीले बाटो बिग्रिएपछि १,२ घण्टा हिँडेर बजार पुग्नु परेको छ।’
सुगम जिल्लाका दुर्गम बस्ती खल्ला, मसेट्टी र टुँडिखेलको भौगोलिक बनावट ठ्याक्कै पहाडी भेगको जस्तै छ। त्यहाँ करिब ४ सय परिवारको बसोबास छ।
बस्ती बसेको दशकपछि हालसालै बस्तीमा बिजुली र टेलिफोन सेवा पुगेको थियो। स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भए पछि यो क्षेत्रले विकासमा फड्को मार्दै गएको थियो।
यद्यपी, चुरे पर्वत शृंखलामा पर्ने बस्ती बाढीको चपेटामा परे। खल्ला, मसेट्टी र टुँडिखेललाई बाढीले पुरानै अवस्थामा फर्काएको छ।
बाढीले बस्तीसँगको सडक सञ्जाल विच्छेद भएको छ। महाकाली तीरै तीर गाडिएका बिजुलीका पोलहरु टुटेका छन्। र, दुई साता भन्दा बढी समयदेखि बस्ती अन्धकारमय छ।
यस्तै बिजुली नहुँदा त्यहाँको टेलिफोन सेवा पनि बन्द भएको छ। स्थानीय भारतीय सीमको प्रयोग गरेर सम्पर्क गरिरहेका छन्।
‘बाटोको बेहाल छ। बिजुली नहुँदा चक्की (मिल) चल्न सकेका छैनन्। रासन ल्याउन, पिसानी कुटानी गर्न काँधमा बोकेर ब्रह्मदेव झर्नुपर्छ’ उजली बिष्टले भनिन्, ‘गाउँमा केही उब्जाउ हुँदैन। किनेरै खानु पर्छ। सामान किनमेल गर्न १,२ घण्टा हिँड्नुपर्ने बाध्यता छ।’
बिहान/बेलुकाको रासन जोहो गर्नै समस्या भएको उनको गुनासो छ। सडक नहुँदा बिरामीलाई बोकेर लैजानु पर्ने बाध्यता सृजना भएको स्थानीय कृष्णबहादुर बिक बताउँछन्।
याे पनि : विकट खल्ला-मसेट्टीलाई महेन्द्रगरसँग जोड्दै यी समाजसेवी
स्थानीय तह, प्रदेश र संघीय जनप्रतिनिधिहरुले बस्तीको निरीक्षण गरे पनि अहिलेसम्म समस्या समाधानमा चासो नदेखाएको उनको भनाइ छ।
‘विद्यार्थीहरुलाई विद्यालय जान, किनमेल गर्न बजार आउजाउ गर्न, बिरामी अस्पताल पुर्याउन सडक नहुँदा निकै सास्ती भएको छ’ उनले भने, ‘नेताहरुले आश्वासन मात्रै दिएका छन्। तर अहिलेसम्म हाम्रो समस्या समाधान हुन सकेको छैन।’
बिजुली नहुँदा ‘अन्धकार’
विद्युत नहुँदा खल्ला, मसेट्टी र टुँडिखेलका स्थानीय अन्धकारमा बस्न बाध्य छन्। वि.सं. २०६२÷०६३ साल तिर यी बस्ती बसेका थिए।
बस्ती स्थापनाको दशक पछि स्थानीयहरुले गत वर्ष बिजुलीको सुविधा पाएका थिए। बिजुली जडानपछि स्थानीयले यस पटकको तिहारमा झिलिमिलि हुने आशा लिएका थिए। बाढीले बिजुलीका पोल टुटाएपछि तिहारको मुखमै पुरै गाउँ अन्धकारमय भएका छन्।
‘अहिलेसम्म बिजुली पाएका थिएनौँ। यसपाली बिजुली आएकाले तिहारमा गाउँ झिलिमिलि हुने सोचेका थियौँ’ स्थानीय अमर बहादुर रोकाया मगरले भने, ‘बाढीले पोल टुटाएर बिजुली नआउँदा अन्धकारमा बस्न बाध्य छौँ। यसपालिको दीपावली पनि अन्धकारमै बित्ने भयो।’
भारतीय सीमको भर
भारतसँग जोडिएको नेपाली सीमावर्ती गाउँ पनि हुन– खल्ला, मसेट्ट र टुँडिखेल। स्थानीय बासिन्दा किनमेलका लागि ब्रह्मदेव बजार र भारततर्फ जाने गर्दछन्।
बस्ती बसेको दशकसम्म त्यहाँ नेपाली नेटवर्क थिएन। भारतीय सीमको प्रयोग गरेर स्थानीयहरु सम्पर्क गर्ने गरेका थिए।
बिजुली जडानसँगै नेपाल टेलिकमको टावर बनेपछि त्यहाँका बासिन्दाले नेपाली नेटवर्कको सुविधा पाएका थिए। यद्यपी उनीहरुले फेरि भारतीय सीम नै प्रयोग गर्नुपर्ने बाध्यता सृजना भएको छ।
‘बाढी पछि नेपाली नेटवर्क प्रयोग गर्न पाएका छैनौँ। सञ्चारको सुविधाबाट बञ्चित हुनु परेको छ।’ स्थानीय मोतीलाल रोकामगरले भने, ‘केही आपत विपत्त पर्यो भने पनि खबर गर्न सक्ने अवस्थामा छैनौँ।’
भारतीय सीमको नेटवर्क टिप्ने हुनाले केहीले त्यही सीम प्रयोग गरेर सम्पर्क गर्ने गरेको उनले बताए।
‘सडक, बिजुली र नेटवर्क पुगेर यहाँको बसाईमा सहजता थपेको थियो’, उनी भन्छन्, ‘तर बाढीले सबैमा क्षति गरेपछि हाम्रो हालत पहिलेको जस्तै भएको छ।’
Shares
प्रतिक्रिया