सूर्यको उपासना गरी मिथिलाञ्चल लगायत तराई-मधेशमा आज हर्सोल्लासपूर्वक छठपर्व मनाइँदै छ।
पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइँने छठ पर्व अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ। छठ पर्वको आज मुख्य दिन पनि हो।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिन जनकपुरको पोखरी तलाउमा बनाईएका घाटमा रातिदेखि नै छठको पूजा सामग्री लिएर श्रद्धालुहरु पुग्न थालेका छन् । यस्तै ग्रामिण भेगहरुमा आज दिउँसो र साँझ मात्रै पूजा सामग्री लिएर भक्तजनहरु छठ घाटमा पुग्ने गरेका छन्।
पाँच दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन ब्रतालुहरुले माछमरुवा बारेका थिए भने दोश्रो दिन नुहाएर अरबा अरबाईन भोजन गरेका थिए। तेश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गरिन्छ।
त्यस्तै चौथो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने पाँचौ दिन बिहान उँदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ।
छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ।
अघ्र्य दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्छन्। छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक तयार गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्व मानिन्छ।
यतिबेला आदिदेव सूर्य भगवानलाई अर्घ दिन मिथिलाञ्चलको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाट बनाएर विशेष रुपले सृंगारिएको छ।
खास गरी जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरुलाई नवदुल्ही झै सजाइएर झकिझकाउ बनाइएको छ।
घाटहरुमा लगाइएको रंगविरंगी झिलिमिली बत्तीले रातिको समयमा झनै मनमोहक देखिन्छ । यस्तै मिथिलाञ्चलको गाउँघर, सहर बजार लगायत गल्लीमा गुञ्जिरहेको छठपर्वको नानाथरी सुमधुर गीतले मिथिलाञ्चलको रौनकता नै बदलिएको छ।
पोखरी, तलाउ र नदीको घाटमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिन लगेको पूजा सामग्रीसहित रातभर जग्राम बसेर श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरी भोली पल्ट बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि मात्र पूजा सामग्री लिएर घर फर्कन्छन्।
ग्रामिण भेगका कतिपय इनारमा घाट बनाएर छठपर्व गर्नेहरु साँझ पूजा सामग्री लगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि पुनः पूजा सामग्री घर ल्याउने गर्दछन् र विहान पख सूर्य उदाउनु केहि बेर पूर्व पूजा सामग्री घाटमा लगेर अघ्र्य दिने गर्दछन्।
उदाउँसो सूर्यलाई अघ्र्यको रुपमा चढाइएको पूजा सामग्री एवं प्रसाद छठ घाटमा समेत वितरण गर्ने प्रचलन छ भने घरमा लगेर प्रसादको रुपमा सबैले ग्रहण गर्दछन् । छठ पर्व नहुनेहरुलाई छठ पर्व गर्नेहरुले निम्ता दिएर, बोलाएर खुवाउनुको साथै घरमा समेत पूर्याईदिने मिथिलाञ्चलमा प्रचलन छ।
छठ पर्वमा विभिन्न स्थानमा सांस्कृति कार्यक्रमहरु पनि आयोजन हुने गरेका। छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिईन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन्।
Shares
प्रतिक्रिया