धनुषामा बुधबार बिहान बस दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन्। दुर्घटना हुनासाथ अचानक आगो लाग्दा बस जलेर नष्ट भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख ७१०२ नम्बरको बस धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोलमा बुधबार बिहान ७:४५ बजे अनियन्त्रित भएर सडकछेउमा पल्टेको हो। त्यसपछि यात्रु निस्किनासाथ बसमा आगो लागेकाे हाे।
प्रहरीका अनुसार बस दाङकाे तुलसीपुरबाट विराटनगरतर्फ जाँदै थियो।
बसमा सवार यात्रुमध्ये १२ जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीका अनुसार बस दुर्घटनामा ७ महिला, ४ पुरुष र एक बालक घाइते भएका हुन्। तर उनीहरुकाे नाम खुलिसकेकाे छैन।
घाइतेमध्ये १० जनाको पुष्पवलपुरस्थित एक निजी स्वास्थय उपचार केन्द्रमा र दुई जनाको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
उनीहरुमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरी निरीक्षक सुवेदीले बताए।
बाँकी यात्रु भने सकुशल छन्।
प्रहरी निरीक्षक सुवेदीका अनुसार सडकबाट तल खसेको बसमा आफैं आगो लागेकाे हाे। बस पल्टेपछि तेलको ट्यांकी फुटेर आगो लागेको हुन सक्ने अनुमान गरिएकाे छ।
बसमा लागेको आगो ढल्केबरस्थित दंगा नियन्त्रण गणका सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय ढल्केवर जनपद प्रहरीले वारुणयन्त्रको मद्दतले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सुवेदीले बताए।
आगोमा परी धेरैजसाे यात्रुको सामान जलेर नष्ट भएका छन्।
घटनालगत्तै चालक र सहचालक फरार भएकाले खाेजी भइरहेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया