ad ad

समाज


भूपेन्द्र हत्या प्रकरण : खुलेन कारण, सीआइबीको टोली परिचालन

भूपेन्द्र हत्या प्रकरण : खुलेन कारण, सीआइबीको टोली परिचालन

गोकुल जोशी
कात्तिक २९, २०७८ सोमबार १४:४०, महेन्द्रनगर

कैलालीका २२ वर्षीय युवक भूपेन्द्र बडुवालको हत्या घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टीम खटिएको छ। जिल्ला प्रहरी कार्यालय (कैलाली)को अनुसन्धान टीमलाई सघाउन सीआइबीको टीम खटिएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक धर्म बहादुर बोहराका अनुसार सीआइबीको टीम आज (सोमबार) काठमाडौँबाट कैलाली आएर काम सुरु गर्ने छ। 

भूपेन्द्र हत्या प्रकरणकोे सुक्ष्म अनुसन्धान र केही प्राविधिक पक्षको विश्लेषण गर्न सीआइबीको टीम घटनास्थलमा आउन लागेको प्रहरी निरीक्षक बोहरा बताउँछन्।

‘फरार आरोपीको खोजी कार्य भइरहेको छ  जिल्लाबाट सीआइबीको माग भएको थियो।’ उनले भने, ‘काठमाडौँबाट सीआइबी परिचालन गरिएको छ। आज टोली कैलाली पुगेर काम थाल्ने छ।’

गएको मंगलबार राति लम्कीचुहा नगरपालिका–१ लम्की बजारका २२ वर्षीय भूपेन्द्रको टीकापुर नगरपालिका–१ मा चक्कु प्रहार गरेर एक समूहले हत्या गरेको थियो। घटना भएको करिब एक साता भइसक्दा पनि प्रहरीले अझै हत्याको स्पष्ट कारण पत्ता लगाउन सकेको छैन। 

घटनाको ईलाका प्रहरी कार्यालय टीकापुर, जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोलीले अनुसन्धान गरिरहेको छ।

‘योजनाकार’ नविन रावलसहित ७ जना अझै फरार 
भूपेन्द्रको हत्या आरोपमा ९ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय टीकापुरमा भूपेन्द्रका परिवारले चिसापानीका नविन रावलसहित १६ जना विरुद्ध किटानी जाहेरी दिएका थिए।

ती आरोपीमध्ये घटनाका ‘योजनाकार’ नविन रावलसहित ७ जना अझै फरार छन्। आइतबार लम्कीबाट हत्या आरोपीमध्येका विकास खड्कालाई प्रहरीले पक्राउ गरेको थियो। 

भूपेन्द्रको हत्या लगत्तै प्रहरीले लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धीरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल, २२ वर्षीय कपिल श्रेष्ठ, टीकापुर नगरपालिका–१ का  २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आलेलाई पक्राउ गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .