ad ad

समाज


जनगणनाका लागि छाङरु र तिंकर हिँडेका गणक हिँड्न नसकेर फर्किए

जनगणनाका लागि छाङरु र तिंकर हिँडेका गणक हिँड्न नसकेर फर्किए

फाइल फाेटाे


गोकुल जोशी
मंसिर ४, २०७८ शनिबार १९:५६, काठमाडौँ

जनगणनाका लागि दार्चुलाको व्याँस गाउँपालिका–१ स्थित तिंकर र छाङरुतर्फ प्रस्थान गरेका गणक फिर्ता भएका छन्। बाटो कठिन हुनाले हिँड्न नसकेर गणक दुम्लिङबाट सदरमुकाम खलंगा फर्केका हुन्। 

भारतीय प्रशासनले बाटो प्रयोग गर्न अनुमति नदिएपछि शुक्रबार बिहान तीन सदस्यीय जनगणना टोली नेपालको बाटो भएर छाङरु र तिंकरतर्फ गएको थियो। 

तर, टोलीमा रहेका गणक राजेन्द्र कार्की हिँड्न नसके पछि खलंगा फर्किएको जनगणना कार्यालय (दार्चुला) का प्रमुख पदमराज पाण्डेले बताए। तीन सदस्यीय टाेलीका दुई जना भने छाङरुतर्फ लागेका छन्।

‘बाटो बिग्रिएकोले निकै कठिन छ। जोखिम मोलेर जनगणना टोली छाङरु र तिंकर जाँदैछ। गणक हिँड्न नसकेर दुम्लिङबाट फर्किएका छन।’

छाङरुतर्फ गएको टोलीसँग भने अहिले सम्पर्क नभएको उनले बताए। 

‘टोली शुक्रबार बेलुका दुम्लिङ बस्यो। शनिबार त्यहाँबाट एक जना भरिया लिएर हिँडेको छ। त्यसपछि टोलीसँग सम्पर्क हुनसकेको छैन। छाङरु र तिंकर पुगेपछि सम्पर्क हुन्छ’ उनले भने।

उनका अनुसार दुम्लिङबाट छाङरु र तिंकर पुग्दा त्यसबीचमा कुनै गाउँ छैन। जनगणना कार्यालय दार्चुलाका सहायक जनगणना अधिकृत खगेन्द्र कार्की, गणक राजेन्द्र कार्की र एक जना कार्यालय सहयोगी छाङरु र तिंकरका लागि गएका थिए।

गणक हिँड्न नसकेर फर्किएपछि सहायक जनगणना अधिकृत र कार्यालय सहयोगी मात्रै त्यसतर्फ लागेका छन्।

भारतले आफ्नो भूमिको बाटो प्रयोग गर्न नदिएपछि नेपाली भूमिकै बाटो भएर शुक्रबार जनगणना टोली तिंकर र छाङरुका लागि खलंगाबाट हिँडेको थियो। 

स्थानीयका अनुसार दार्चुला सदरमुकाम खलंगाबाट नेपाली बाटो भएर छाङरु र तिंकर पुग्न बाटो कठिन छ। खलंगाबाट करिब ३ दिन पैदलको जोखिमपूर्ण पैदलयात्रामा छाङरु र तिंकर पुगिन्छ। 

तिंकर र छाङरुमा एक सय २३ परिवारको बसोबास छ। तिंकर र छाङरुमा पहिलो चरणको सुपरिवेक्षण मात्रै हुन सकेको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले २५ कार्तिक र ३० कार्तिकमा जनगणनाका लागि गणक भारतीय बाटो भएर जाने भएकाले सहजीकरण गरिदिन धार्चुला प्रशासनलाई पत्राचार गरेको थियो। तर, भारतीय प्रशासनले भने बाटो बिग्रिएको बहाना झिक्दै अनुमति दिन मानेन।

भारतले बाटो नदिएपछि जोखिम मोलेर छाङरु र तिंकर जाँदै जनगणना टोली
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .