नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेल सोमबार बिहान साढे ९ बजे कक्षा ४ मा अध्ययनरत बालिका अर्चना विकको घर तिर लम्के।
आगनीमा अर्चनाका बुबा नयन बहादुर, कान्छी आमा र केही छिमेकीहरु बसेर गफिदै थिए। हात जोडेर ‘नमस्कार नमस्कार’ भन्दै नेता पोखरेल आगनी मै पुगे। अर्चना घर भित्रै थिइन्।
‘तपाईंहरु सबैलाई नमस्कार है। अर्चना नानी कता छिन्? देख्दिन त, के छ उसको पढाइ लेखाइ?’ नेता पोखरेलले अर्चना खोज्दै सोधे।
नेता पोखरेल असोरामा राखेको खाटमा बसे। घरभित्रबाट अर्चना निस्केर नमस्कार गर्दै नेता पोखरेलकै अगाडि पुगिन्। पोखरेलले उनलाई छेउमै बस्न भने। अर्चनाको हालखबर र पढाइलेखाइको विषयमा सोध्न थाले।
नेता पोखरेल अर्चनालाई पठनपाठनमा बढी चासो राख्नुको कारण हो उनी शैक्षिक अभिभाक हुन्।
अर्चना कक्षा १ बाट २ मा जाँदा तत्कालिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री थिए पोखरेल। २०७६ को शैक्षिक सत्रको सुरुमै दलित एवं विपन्न परिवारकी बालिका अर्चनाको शैक्षिक अभिभाकत्व ग्रहण गरेका नेता पोखरेल निरन्तर उनको पढाइको विषयमा चिन्ता र चासो लिँदै आएका छन्। कहिले आफ्ना स्थानीय शुभचिन्तक, कहिले आफ्ना पार्टीका नेता पठाएर त कहिले आफैँ फोन गरी वा स्वयम् पुगेर अर्चनाको शिक्षाको बारेमा सोधपुछ गर्छन् र आवश्यकताका सामग्री पठाउँछन् पोखरेल।
अर्चना आमाविहीन बालिका हुन्। उनी सानै छँदा आमाले छाडेर गएकी थिइन्।
नेता पोखरेल घर पुग्दा अर्चनाका बुबा नयन बहादुरले छोरीलाई अंग्रेजी माध्यमको पढाइ र ट्युसनको व्यवस्था गरिदिन आग्रह गरे। अर्चनाको शिक्षाको जिम्मेवारी आफूले बोकेकाले उनको शैक्षिक सामग्री, ड्रेस, ट्युसन लगायत पठनपाठनमा लाग्ने शुल्कको लागि कुनै चिन्ता नगर्न र अन्य कुराहरुमा देखविचार गर्न घरपरिवारलाई नेता पोखरेलले आग्रह गरे।
उनी तत्कालै विद्यालय पुगेर अंग्रेजी माध्यममा पढ्दा अर्चनाको लाग्ने चालु आर्थिक वर्षको शैक्षिक सत्रको शुल्क बुझाइदिए। दुईसेट पोसाक तुरन्तै व्यवस्था गर्न स्थानीय समेत रहेका माओवादी केन्द्र धनुषाका उपाध्यक्ष झल्कु यादवलाई केही रकम उपलब्ध गराए।
विद्यालयले अंग्रेजी माध्यम पढ्न शुल्क तिर्ने व्यवस्था गरेको छ। शुल्क दिँदै अर्चनाको पढाइको विषयमा समेत नेता पोखरेलले जानकारी लिएका छन्। उनले विद्यालयका प्रधानाध्यापक प्रदीप सिंहलाई अर्चना लगायत विपन्न परिवारका बालबालिकाहरूलाई निःशुल्क अंग्रेजी माध्यमको पढाइको व्यवस्था गर्न र कमजोर विद्यार्थीका लागि अतिरिक्त पठनपाठको व्यवस्था मिलाउन आग्रह गरे।
‘एकमदमै गरिब, विपन्न एवं समताको सूचिमा परेकाहरुलाई तपाईंहरु शिक्षा पूर्ण रुपमा निःशुल्क गरदिनुस् भन्ने मेरो आग्रह हो’ प्रअ तथा जनप्रतिनिधिसँग नेता पोखरेलेले भने, ‘पछाडी परेका विद्यार्थीहरुलाई अतिरिक्त कक्षाको व्यवस्था गरिदिनुस्।’
पाँच प्रतिशत बालबालिका अझै विद्यालय बाहिर रहेको बताउँदै पोखरेलले शतप्रतिशत बालबालिका विद्यालय ल्याउन आफू शिक्षामन्त्री हुँदा आर्थिक रुपले अत्यन्तै कमजोर घरपरिवारका बालबालिकालाई अभिभाकत्व ग्रहण गर्ने अभियान चलाएको बताए।
‘हामीले सतप्रतिशतमा ल्याउनु पर्ने छ। सामान्य प्रक्रियाले मात्र पुग्दैन भने अतिरिक्त प्रक्रिया पनि अपनाउनु पर्छ। म अभिभाकत्व ग्रहण गरेको विद्यार्थीको शिक्षा र लुगाकपडामा सपोर्ट गर्दै छु। यो समग्र अभिभाकत्व होइन। शिक्षात्मक अभिभाकत्व भनेको उसको पढाइमा सहयोग गर्ने हो। हामीले सकेजति आफ्नो ठाउँबाट पढ्नबाट वञ्चित वा त्यस्ता घरपरिवारका बालबालिकालाई सहयोग गरिदिनु पर्यो’ उनले भने।
नेता पोखरेलले अर्चना लगायत सिरहाका र कालिकोटका १’१ गरी ३ जना बालबालिकालाई सोही वर्षमा अभिभाकत्व ग्रहण गरेका थिए। अन्य दुई बालबालिकाको पनि पठनपाठनमा निरन्तर सहयोग गर्ने गरेको नेता पोखरेल बताउँछन्।
Shares
प्रतिक्रिया