दार्चुलाको व्याँस गाउँपालिका–१ स्थित तिंकरबस्ती सुनसान बनेको छ । चिसो छल्न तिंकरबासी सदरमुकाम खलंगा झरेपछि बस्ती सुनसान बनेको हो।
भारतीय अतिक्रमणमा परेको लिपुलेक क्षेत्रसँग जोडिएको तिंकरमा चिसो अत्याधिक बढेपछि सुरक्षाकर्मी पनि त्यहाँबाट छाङरु झरेका छन्। यसले बस्तीमा असुरक्षासमेत बढेको छ।
तिंकर र छाङरुका बासिन्दा बसाइँ सरेर खलंगा आएपछि गाउँ अहिले मानवबिहीन भएको व्याँस गाउँपालिका–१ का वडा सचिव विनोद बुढाथोकीले बताए।
‘गाउँमा कोही छैनन्, मानवबस्ती रहेको तिंकर र छाङरु अहिले सुनसान छन्,’ उनले नेपालखबरसँग भने, ‘चिसो छल्न तिंकर र छाङरुबासी सदरमुकाम खलंगा झरिसकेका छन्। अब गाउँमा घर मात्रै छन्।’
पशुचौपायासमेत साथमै लिएर तिंकरबाट मानिस मंसिर पहिलो सातातिरै खलंगा झरिसकेका छन् भने छाङरुबासी पनि मंसिरको तेस्रो साता खलंगा झरेका हुन्।
तिंकरको सुरक्षाका लागि तैनाथ नेपाल प्रहरी र शसस्त्र प्रहरी पनि छाङरु झरेकोले बस्तीसमेत सुरक्षाबिहीन बनेको वडा सचिव बुढाथोकी बताउँछन्।
तिंकरको छियालेकमा रहेको शसस्त्र प्रहरी र नेपाल प्रहरी पनि चिसो अत्याधिक बढेकाले छाङरु झरेपछि बस्तीमा असुरक्षासमेत बढेको छ। ‘तिंकरबस्ती भन्दा एक किलोमिटरमाथी छियालेकमा शसस्त्र र जनपद प्रहरीको उपस्थिती थियो। चिसो बढे पछि सुरक्षाकर्मी पनि छाङरु आएर बस्न थालेका छन्,’ वडा सचिव बुढाथोकीले भने, ‘तिंकरमा अहिले न स्थानीय छन् न त सुरक्षाकर्मी नै। यसले बस्ती नै असुरक्षित बनेको छ।’
दार्चुलाको उत्तरी अन्तिम बस्ती तिंकर चिनसँग पनि जोडिएको छ । शसस्त्र प्रहरी र नेपाल प्रहरी तिंकरबाट झरेर छाङरुस्थित घाघा भन्ने स्थानमा बसेका छन्।
छाङरुका बासिन्दा पनि खलंगा झरिसकेकाले गाउँ सुनसान छ । तिंकर र छाङरुका सौका समुदायका बासिन्दा हिँउदका छ महिना खलंगा बसाइँ सर्छन् । स्थानीय भाषामा उनीहरु यसलाई ‘कुञ्चा’ सर्नु भन्छन्।
‘तिंकर र छाङरुबासीका घरमा ताल्चा लागेका छन् । भएभरको सम्पत्ति कोही नभएको घरमा छाडेर खलंगा आएका छन्,’ तिंकरका स्थानीय समेत रहेका वडा सचिव बुढाथोकीले भने, ‘स्थानीय आफ्ना बालबच्चा र पशुचौपाया मात्रै लिएर खलंगा आएका हुन। अब बैशाखतिर मात्रै उनीहरु माथी जान्छन्।’
तिंकर र छाङरुमा एक सय १३ परिवारको बसोबास छ । तिंकर र छाङरुमा जाडो छल्न खलंगा झर्ने र गर्मी छल्न तिंकर चढ्ने पुरानै चलन हो। तिंकर र छाङरुबासी सदमुकाम खलंगा पुग्न निकै कष्टपूर्ण यात्रा गर्न बाध्य छन्।
नेपाली भूमिबाट तिंकर र छाङरु जोड्ने बाटो नहुँदा उनीहरु भारतीय बाटो प्रयोग गर्न बाध्य छन्। नेपाली भूमिमा बाटो नहुँदा भारतीय पक्षको अनुमति माग गरेर सदरमुकाम आवतजावत गर्नुपर्ने बाध्यता रहेका स्थानीय अशोक बुढाथोकीले बताए।
‘कहिले कोही भारतीय पक्षले आवतजावतका लागि अनुमति पनि दिदैन । एसएसबीले विभिन्न बहानामा ढिलाई गर्ने तथा अनावश्यक चेकजाँच गर्ने गर्छन्,’ उनले भने, ‘नेपालतिर बाटो बनेको भए अर्काको भर पर्नु पर्ने बाध्यता हुे थिएन।’
सदरमुकाम झर्न नेपाली बाटो प्रयोग गरे चार दिनसम्म जोखिमपूर्ण पैदल यात्रा गर्नु पर्ने हुन्छ । भारतले गाडी गुड्ने बाटो निर्माण गरेकोले सो बाटोबाट एक दिनमै सदरमुकाम खलंगा पुग्न सकिने स्थानीय बताउँछन्।
खलंगादेखि छाङरुसम्म नेपाली भूमिबाट सेनाले बाटो निर्माण गरेको छ । तर उक्त बाटो निकै जोखिमपूर्ण छ । छाङरुदेखि तिंकरसम्म ११ किलोमिटर क्षेत्रमा पनि नेपाली सेनाले बाटो निर्माण गरे तिंकरबासीले केही मात्रामा भए पनि भए पनि राहत पाउने थिए।
‘अगाडिका मानिस त चिसोमा पनि यही बस्थे । तिंकरबासी चिसो छल्न मात्रै खलंगा झर्दैनन्। यहाँ केही बन्दोबस्त नै छैन, जीवनयापन गर्नै कठिन छ,’ अशोक बुढाथोकीले भने, ‘त्यसैले पनि गाउँ छोड्नु पर्छ, बाटोघाटो मात्रै भए पनि यहाँका जनता सुखको सास फर्न पाउने थिए।’
Shares
प्रतिक्रिया