ad ad

समाज


आपराधिक ‘अखडा’ बन्दै कैलाली, अपराध गर्दै भारत भाग्दै

आपराधिक ‘अखडा’ बन्दै कैलाली, अपराध गर्दै भारत भाग्दै

फाइल फाेटाे/गत कात्तिक २३ गते हत्या गरिएका भूपेन्द्र बडुवाल (बीचमा), पक्राउ परेका ८ अभियुक्त।


गोकुल जोशी
पुस ८, २०७८ बिहिबार १५:२९, काठमाडौँ

सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलाली पछिल्लो समय आपराधिक अखडा बन्दै गएको छ। दिनप्रतिदिन आपराधिक घटना बढ्दै गएपछि कैलालीमा सुरक्षा चुनौति थपिएको छ।

पछिल्लो समय कैलालीमा तीब्र रूपमा जघन्य अपराधका घटना बढेको प्रहरीको तथ्यांकले देखाउँछ। 

कात्तिक २३ गते राती कैलालीको लम्कीचुहा नगरपालिका– १ लम्कीबजारका २२ वर्षीय युवक भूपेन्द्र बडुवालको खुकुरी प्रहार गरेर हत्या गरिएको थियो।

भूपेन्द्रको हत्या घटनामा २१ जना विरुद्ध प्रहरीमा जाहेरी परेको थियो। ती मध्ये १२ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो। 

९ जनालाई पुर्पक्षका लागि जिल्ला अदालत कैलालीले कारागार चलान गरिसकेको छ भने ३ जना धरौटीमा रिहा भएका छन्। ९ जना अझै पनि फरार छन्। 

भूपेन्द्रको हत्यामा संलग्न पक्राउ नपर्दै  सोही क्षेत्रमा फेरि अर्को जघन्य अपराधको घटना सतहमा आएको छ। 

जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय अर्जुन दासको घाँटी रेटेर क्रुर तरिकाले हत्या गरिएको छ। प्रहरीका अनुसार गत शनिबार बेलुका स्थानीय अमरावती सामुदायिक वनमा टाउको छिनालेर शरीर रुखमा बाँधिएको अवस्थामा अर्जुनको शव भेटिएको थियो।

यसअघि पनि कैलालीमा थुप्रै आपराधिक घटना भएका छन्। मंसिर ५ गते लम्कीचुहा–१ का स्थानीय दिनेश नेपालीमाथि खुकुरी प्रहार भएको थियो। बिहेमा नाचगान गरिरहेका बेला उनको कोखामा एक समूहले खुकुरी प्रहार गरेको थियो।

टीकापुर नगरपालिका–८ कालीमाटीमा स्थानीय १८ वर्षीय अनुप साउदको चक्कु प्रहार गरेर हत्या गरिएको थियो। 

त्यसअघि लम्कीचुहा नगरपालिका–२ मोतीपुरमा डेरा गरेर बस्दै आएका कैलारी गाउँपालिका–४ का ३९ वर्षीय सोमबहादुर बस्नेतलाई आफूसँगै बस्ने साथीले हत्या गरेका थिए। 

कैलालीको टीकापुरमा साढे तीन वर्षीय बालक विवेक विष्टको पनि हत्या भएको थियो। बालकको हत्या आरोपमा कैलाली प्रहरीले बालककै दिदी नाता पर्ने १५ वर्षीय किशोरी र किशोरीकी १४ वर्षीया साथीलाई पक्राउ गरेको थियो।

त्यस्तै २०७४ मा टीकापुरमै होली कार्यक्रममा सहभागी भएका २१ वर्षीय करन थापाको अज्ञात समूहको खुकुरी प्रहारबाट मृत्यु भएको थियो।

२०७६ असोज १६ गते कैलालीको लम्कीमा खुकुरी प्रहारबाट लम्कीचुहा–२ का अन्दाजी ३१ वर्षीय कृष्णबहादुर बुढामगर घाइते भएका थिए।

२०७७ साउन ९ गते लम्कीचुहा नगरपालिका–१ मा २८ वर्षीय रमेशबहादुर शाहीमाथि खुकुरी प्रहार भएको थियो। सैलुनमा कपाल काटेर बाहिर निस्कने क्रममा उनीमाथि ७/८ जनाको समूहले आक्रमण गरेको थिए।

यी घटनाहरूले पनि कैलालीमा हिंसात्मक क्रियाकलाप बढ्दो क्रममा रहेको देखाउँछ। कैलालीमा अपराधका घटनाहरु बढ्दै गएपछि स्थानीय त्रसित भएका छन्।

(जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय अर्जुन दासको घाँटी रेटेर हत्या गरिएको घटनास्थल।)

जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङले पनि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग शीर्षकको मुद्दा दर्ता वर्षेनी बढ्दै गएको देखाएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीका अनुसार दुई वर्षको अवधिमा कर्तव्य ज्यान शीर्षकमा ३२ र ज्यान मार्ने उद्योग शीर्षकमा ७६ मुद्दा दर्ता भएका छन्।

कर्तव्य ज्यान शीर्षकमा आर्थिक वर्ष २०७६/०७७ मा १६ र २०७७/०७८ मा १६ मुद्दा दर्ता भएका थिए। यही शीर्षकमा आर्थिक वर्ष  २०७८/०७९ को हालसम्म ७ मुद्दा दर्ता भएका छन्।

यस्तै, ज्यान मार्ने उद्योग अन्तर्गत आर्थिक वर्ष २०७६/०७७ मा ३०, २०७७/०७८ मा ४६ मुद्दा दर्ता भएका थिए। आर्थिक वर्ष २०७८/०७९ को हालसम्म ज्यान मार्ने उद्योगका १५ मुद्दा दर्ता भएका छन्।

अपराध बढ्नुका कारण
लागुऔषधका कारण जघन्य अपराधका घटनाहरु बढेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी विक्रम चन्द बताउँछन्। 

भारतसँगको खुला सीमाका कारण सीमावर्ती जिल्लाहरुमा लागुऔषध प्रयोगकर्ताको संख्या बढेसँगै अपराधिक क्रियाकलाप पनि बढेको उनको भनाइ छ।

‘अपराध बढ्नुको प्रमुख कारण लागुऔषध नै देखिन्छ। यसलाई नियन्त्रण गर्न सक्यो भने केही हदसम्म अपराध नियन्त्रण गर्न सक्छौँ,’ उनले भने, ‘लागुऔषध नियन्त्रणका लागि हामीले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ।’

यस्तै, कानून कार्यान्वयनको पक्ष फितलो बन्दा जघन्य अपराध बढिरहेको जानकी गाउँपालिका–९ का अध्यक्ष खकेन्द्र भण्डारी बताउँछन्। 

‘कानून छ तर कार्यान्वयनको पक्ष निकै फितलो छ। यही कुराले गर्दा समाजमा अपराध बढिरहेको छ’ उनले भने, ‘अपराध गर्दा कठोर सजाय हुन्छ भन्ने परेमा यस्ता घटनामा कमी आउन सक्छ।’ 

आपराधिक घटनामा संलग्नहरू पक्राउ नपरेपछि पनि हिंसात्मक घटना बढिरहेको उनको भनाइ छ।

‘अपराधीलाई राजनीतिक संरक्षण हुने भएकाले उनीहरुको मनोबल बढ्ने हुन्छ, यसले पनि हिंसात्मक घटना बढिरहेका छन्,’ वडाध्यक्ष भण्डारीले भने, ‘केही घटनामा दोषी पक्राउ नपरेपछि उनीहरु नै अन्य घटनामा पनि संलग्न हुने गरेका छन्।’

युवाको संलग्नता
पछिल्लो समय भइरहेका अपराधिक घटनामा १८–२५ वर्ष उमेर समूहका युवाहरु संलग्न रहने गरेका छन्। 

अधिकांश अपराधिक घटनामा लागुऔषधको दुर्व्यसनमा लागेका युवाहरु नै संलग्न हुने गरेको प्रहरीले जनाएको छ। खुला सीमाका कारण भारतबाट सहजै लागुऔषध भित्रिने गरेको छ।

भूपेन्द्र बडुवाल हत्यामा पनि २५ वर्षमुनिका युवकहरुकै संलग्नता रहेको थियो। लागुऔषध सेवन नियन्त्रण गर्न सकेको खण्डमा अपराधमा कमी आउने स्थानीयको विश्वास छ।

भारत भाग्छन् अभियुक्त
नेपाल र भारतबीच खुला सीमा छ। कैलालीको दक्षिणी क्षेत्र भारतको खुला सीमासँग जोडिएको छ। कैलालीमा आपराधिक घटना घटाएर अभियुक्तहरू खुला सीमाको मौका छोपेर भारत भाग्ने गरेका छन्। 

भूपेन्द्र बडुवालको हत्या घटनाका अभियुक्त पनि भारत भागेको प्रहरी अनुसन्धानमा खुलेको छ। यस्तै, अर्जुन दासको हत्याका आरोपी पनि भारत भागेका छन्। प्रहरीले उनीहरुको खोजी गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .