ad ad

समाज


अर्जुन दास हत्या प्रकरण : परिवारले शव नबुझ्दा अस्पतालमै

अर्जुन दास हत्या प्रकरण : परिवारले शव नबुझ्दा अस्पतालमै

गोकुल जोशी
पुस ९, २०७८ शुक्रबार १६:६, काठमाडौँ

घाँटी रेटेर हत्या गरिएका कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका अर्जुन दासको परिवारले शव बुझ्न अस्वीकार गरेको छ। घटनाका दोषीलाई नियन्त्रणमा नलिइएको भन्दै मृतक दासको परिवारले शव बुझ्न मानेको छैन।

‘अभियुक्त पक्राउ परेका छैनन्। उनीहरु नियन्त्रणमा नआउँदासम्म शव नबुझ्ने पीडित परिवारको अडान छ,’ जानकी गाउँपालिका–९ का वडाध्यक्ष खकेन्द्र भण्डारीले  भने, ‘पोष्टमार्टम भएको छ। परिवारले शव नबुझ्दा अहिले शव अस्पतालमा नै राखिएको छ।’ 

परिवारले शव नबुझे पछि अहिले मृतक अर्जुनको शव टीकापुर अस्पतालको शव गृहमा राखिएको छ। 

अर्जुन शनिबार घाँटी छिनालेर रुखमा बाँधिएको अवस्थामा स्थानीय अमरावती सामुदायिक वनमा मृत फेला परेका थिए।

प्रहरीले आइतबार नै शव पोष्टमार्टमका लागि अस्पताल लैजान खोज्दा स्थानीयले अभियुक्त पक्राउको माग गर्दै उठाउन दिएका थिएनन्। त्यस पछि सोमबार मात्रै प्रहरीले पोष्टमार्टमका लागि शव अस्पताल ल्याएको थियो।

यद्यपी मृतक अर्जुनको पोष्टमार्टमको कार्य सकिए पनि परिवारले शव बुझेका छैनन्।

हत्या भएको एक साता बित्नै लाग्दा पनि अभियुक्त पक्राउ नपरेको भन्दै न्यायको माग गर्दै पीडित पक्ष आन्दोलित भएका छन्। मृतक अर्जुन दासको परिवार तथा आफन्त संघर्ष समिति गठन गरेर आन्दोलनमा होमिएका छन्। 

उनीहरुले घटनाको विरोधमा बुधबार जानकी गाउँपालिका र वडा कार्यालय बन्द गरेका थिए। 

हत्यामा संलग्नलाई आजीवन कारावास, मृतकलाई शहीद घोषणा, मृतकका छोराछोरीलाई राहत र उच्च शिक्षाको ग्यारेन्टी, परिवारको सुरक्षा लगायत ८ बुँदे माग राखेर पीडित पक्ष आन्दोलित भएको हो।

जानकी गाउँपालिकामा बुधबार पीडित पक्षसँग छलफल गरिएको थियो। तर, सहमति नजुटेको वडाध्यक्ष भण्डारी बताउँछन्।

‘हिजो ८ बुँदे मागमा मोटामोटी सहमति त भएको छ। केही माग स्थानीय तहले मात्रै गर्न नसक्ने छन्,’ उनले भने, ‘शहीद घोषणा लगायत केही माग हामीले सम्बोधन गर्न सक्दैनौँ। त्यसैले एकमुष्ट लिखित सहमति भने हुन सकेन।’

प्रहरीले हत्या आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। हत्यामा संलग्न ३/४ जना भारत फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .