बाराबाट सशस्त्र प्रहरीले हतियारसहित दुई भारती युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार राज्यको पूर्वी चम्पारण मोतिहारी डेका ग्रामपंचायत १३ बस्ने वर्ष २१ का चन्दन राम र वर्ष २० का अभिषेक कुमार छन्।
आज अपराह्न साढे ५ बजेको समयमा बाराको सिम्रौनगढ नगरपालिका ८ पातलो बाटो नहर चोकस्थित भारतबाट नेपाल आउँदै गरेको बीआर–५०५ एजे४४२०९ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा विशेष सुराकीको आधारमा चेकजाँच गर्दा हतियारसहित दुवै जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डीआइजी गणेश ठाडाले जानकारी दिए।
दुवै जनाको साथबाट अटोमेटिक युएसए लेखेको १ थान पेस्तोल, ७.६५ एमएमको २ राउन्ड गोली, त्यसमा प्रयोग हुने एकवटा म्याग्जिन, चकु, लागुऔषध गाँजा २ सय ग्राम लगायत बरामद गरिएको उनले बताए।
उनीहरूलाई बीओपी गोलागञ्ज बारामा ल्याई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाउने प्रकृयामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया