नेपाल भारत सिमानाका रुपन्देहीको बेलहियाबाट डेढ किलोमिटर वर सिद्धार्थनगर नगरपालिकाले बनाएको स्वागतद्वारको डिजाइनमै गडबडी देखिएको छ।
७ करोड ९ लाख रुपैयाँको लागतमा भैरहवा नगरपालिकाले त्यो स्वागतद्वार बनाएको थियो।
गलत डिजाइनका कारण निर्माण सकिसक्दा स्वागतद्वारको स्वरुप नै बिग्रिएको सरोकारवालहरुले बताएका छन्।
पुस ११ गते संघीय सांसद घनश्याम भुसालले स्वगतद्वारको उद्घाटन गरेका थिए। अर्धवृत्त अर्थात आर्क डिजाइनमा गेट बनेको छ।
सिद्धार्थनगर जेसिजका पूर्वअध्यक्ष ओम श्रेष्ठले गेटको आर्क नमिलेको बताए। उनले भने, ‘यसले भैरहवा शहरलाई गिज्याएको छ।’
‘गेटको आर्क बिग्रेको, टेढो देखिएको सामान्य मानिसले पनि थाह पाउँछन्। यसले भैरहवा शहरको सुन्दरतालाई नै बिगारेको छ’ उनले भने, ‘राम्रो कालिगडले बनाएको भए त बृत्त राम्रो देखिनुपर्थ्यो। तर गेट बनाउँदा हेलचेक्रयाइँ भएको देखिन्छ।’
श्रेष्ठले नगरको सौन्दर्यको विषयमा खेलबाड भएको टिप्पणी गरे। उनले गेट निर्माणमा अरु पनि कमजोरी देखिएको भन्दै अनियमितता भएको आशंका गर्ने ठाउँ प्रशस्त रहेको बताए।
‘त्यस्तो गेट कसरी स्वीकृत भयो भनेर अचम्म लागेको छ। रकमको हिनामिना भयो कि भन्ने आशंका देखियो’ श्रेष्ठले भने, ‘रंगहरुको सन्तुलन मिलेको देखिँदैन। बुद्धको मुर्ति समेत मिलेको छैन भन्छन् विज्ञहरुले। प्लास्टर पनि उवडखावड देखिन्छ।’
इन्जिनियर समेत रहेका भैरहवाका समाजसेवी रविकुमार रौनियारले प्रविधिको आधुनिक युगमा पनि स्वागतद्वार बिग्रिनुले ठूलो प्रश्न जन्माएको बताए।
‘गेटको जुन भागमा सबैभन्दा बढी खर्च लागेको छ, त्यही आर्क नै बिगारिएको छ’ उनले भने, ‘प्रविधि नभएको बेला परापूर्वकालमा त सुन्दर कलाकृति बनेका थिए। आजको दिनमा प्रविधि र सुविधा हुँदाहुँदै यस्तो नराम्रो काम भएको छ।’
रौनियारले गेट बनाउने निर्माण कम्पनी मात्र नभई अनुगमन गर्ने निकाय पनि दोषी भएको आरोप लगाए।
‘गेट टेढो हुँदाहुँदै निर्माण व्यवसायीलाई प्रोत्साहन गरियो भने भोलिका दिनमा अरु निर्माण व्यवसायीले कस्तो काम गर्लान्?’ उनले भने ‘यसमा निर्माण कम्पनी मात्र होइन अनुगमन गर्ने माथि पनि कारबाही हुनुपर्छ। ७ करोड ९ लाख कसरी लाग्यो भन्ने जनताको प्रश्न छ।’
गेटको बिग्रेको आर्कलाई सुधार्न उच्चस्तरीय प्राविधिक विज्ञसँग सल्लाह गरेर अघि बढ्नुपर्ने रौनियारको भनाइ छ।
यस्तै स्वागतद्वार बनेको स्थानको बारेमा पनि आलोचना भएको छ। सिमानाका भन्दा डेढ किलोमिटर वर गेट बन्दा आउने पर्यटकहरु झुक्किन सक्ने ओम श्रेष्ठ बताउँछन्।
‘गेट बन्नु थियो भने सिमानामै बनेको भए राम्रो हुन्थ्यो। यहाँ बन्दा पर्यटकहरुले पनि गलत तरिकाले बुझ्न सक्छन्’ उनले भने, ‘नेपाल यहीँबाट सुरु हुन्छ कि भन्ने उनीहरुमा भ्रम पर्न सक्छ।’
यो गेट बन्दा बेलहियाबासीले सुरुदेखि नै विरोध गरेका थिए। सिमानाकामै पर्यटकीय गेट बन्नुपर्ने उनीहरुको माग थियो। गेटको उद्घाटन कार्यक्रम पनि बेलहियाबासीले बहिस्कार गरेका थिए।
यता, सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन अर्यालले भने बाहिर चर्चा भएजस्तो प्रवेशद्वारको संरचना नबिग्रेको दाबी गरे।
उनले गेट अगाडि घुम्ती र सडकको अग्लो होचो ठाउँको कारण त्यस्तो देखिएको प्रतिक्रिया दिए।
‘कुन एंगलले, कुन नजरले हेर्ने भन्ने कुरा हो। त्यहाँ टर्निङ प्वाइन्ट पर्छ। बाटो एकातिर अग्लो अर्कोतिर होचो पर्छ’ उनले भने, ‘हल्का त्यस्तो महसुस भएको हो। स्ट्रक्चर बिग्रेको छैन।’
अर्यालले डण्डा खोलाको करिडोरमा निर्माण हुन लागेको पार्कलाई लक्षित गरि त्यहाँ गेट निर्माण गरिएको बताए। उनले पर्यटकीय प्रवेशद्वार सिमानाकामै बन्ने जानकारी दिए।
‘खोलाको छेउमा पार्क बनाउने दिनभर पर्यटक भुलाउने भनेर योजना परेको छ। त्यसलाई केन्द्रित गरेर त्यहाँ गेट बनाइएको हो’ उनले भने, ‘पर्यटकीय प्रवेशद्वार बेलहियामै बन्छ। त्यसको लागि हामीले टेण्डर सुरु गरेका छौँ। अब काम सुरु हुन्छ।’
Shares
प्रतिक्रिया