भारतको जयनगर देखि जनकपुरको कुर्थासम्म सञ्चालनको तयारी अवस्थामा रहेको रेलमार्गमा राखिएको १४ हजार क्लिप फेरि चोरी भएको छ।
करिब १४ हजार क्लिप र त्यसमा लाग्ने नट चोरी भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए।
यसअघि पनि रेलमार्गमा प्रयोग भएको झण्डै १६ हजार क्लिप र नट चोरी भएको थियो।
प्रहरी र रेलमार्गका कर्मचारीले आफूहरुको प्रयासले मात्रै रेलको सम्पत्ति संरक्षण हुन नसक्ने भन्दै उनले चोरी भएको क्लिप पुनः भारतीय पक्षले लगाइदिनु पर्ने बताएका छन्। सो विषयमा भारतीय निर्माण कम्पनीसँग कुरा भएको झाले बताए।
रेल संचालनको लागि जनकपुरदेखि जयनगरसम्म ३५ किलोमिटर लिक तथा भौतिक संरचना पूर्ण तयारी अवस्थामा छ। त्यसमा चलाउन दुई सेट रेल नेपाल सरकार भारतसँग किनेर ल्याएको डेढ वर्ष पुग्न लाग्दासमेत धनुषाको इनरवा स्टेशनमा थन्काएर राखिएको छ।
जनशक्ति र रेल कानुनको अभावमा रेल संचालन हुन नसकेर थन्किएर बसेको छ भने संरचनामा तोडफोड र चोरी निरन्तर हुने गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनु यादवले चाँडै रेल सञ्चालन गर्ने तयारी थालेकी छन्।
Shares
प्रतिक्रिया