कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ। माघ ६ गते बिहीवारदेखि अर्को सूचना जारी नभएसम्मको लागि सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी सूचनामा उल्लेख छ।
कार्यालयका विभिन्न फाँटका कर्मचारीमा संक्रमण लक्षण देखिइ होम आइसोलेसनमा रहेको हुँदा र सेवाग्राहीको अत्याधिक भिडले कोभिड फैलिन सक्ने भएकाले सेवा स्थगित गरिएको सूचनामा भनिएको छ। प्रमुख जिल्ला अधिकारी तिवारीले सात आठ जनामा लक्षण देखिएको र ती मध्ये कतिपयमा संक्रमण पुष्टी भएकाले सेवा बन्द गरिएको नेपालखबरलाई बताए।
‘स्टाफहरु होम आइसोलेसनमा हुनुहुन्छ। सतर्कता अपनाउनुपर्ने पनि देखियो। भिडभाड पनि बढी भयो’ उनले भने, ‘शान्ति सुरक्षा, मुद्दा सम्बन्धी र अन्य अत्यावश्यक सेवा बाहेकका सेवा स्थगित गरेका छौं।’
नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, दर्ता र नवीकरण, पेन्सन सिफारिस र प्रमाणित, नाबालक परिचय पत्र लगायतका सेवा स्थगन गरिएको तिवारीले बताए। अत्यावश्यक सेवा लिन आउनेका लागि पनि खोप कार्ड अनिवार्य गरिएको छ।
Shares
प्रतिक्रिया