रुपन्देहीमा सक्रिय संक्रमितको संख्या झन्डै २ हजार पुगेको छ । शुक्रबार मात्र थप ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४ सय ५ जनाको पीसीआर परिक्षण गर्दा आधाभन्दा बढी २ सय ४७ जनामा संक्रमण पुष्टि भएको हो। ३ सय १७ एन्टिजेन परीक्षण गर्दा ७२ जनामा कोरोना पोजिटिभ देखिएको छ।
योसँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या १९९५ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले जानकारी दिए।
पछिल्लो केही दिनयता रुपन्देहीमा संक्रमणदर तीव्र रूपमा बढेको छ। संक्रमण बढे पनि अस्पताल भर्ना दर भने कम रहेको शाहले बताए।
अस्पताल भर्ना हुनेमा अरू रोग लागेका तर कोरोना जोडिएका बिरामी छन्। लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा रहेका २२ जनामा कोरोना संक्रमण छ। त्यसबाहेक अरु वार्डमा रहेका ९ जनामा कोरोना देखिएको छ। अस्पतालमा रहेका संक्रमित भर्ना भएर आएको नभई अरु रोगका कारण भर्ना भएको प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले बताए।
‘पहिले कोभिडको निमोनिया भएका बिरामी बढी हुन्थे। तर अहिले कोभिड देखिएका तर अरु रोगका कारण भर्ना भएका छन्’, उनले भने, ‘सुगर, मुटुरोग, डेलीभरी भएकाहरुमा संक्रमण छ। कोभिडको कारण नभई दमका कारण निमोनिया भएकाहरू छन्।’
Shares
प्रतिक्रिया