कञ्चनपुरमा कोरोना संक्रमणको तेस्रो लहर बढ्दै गएपछि भारत आवतजावत गर्न अनिश्चितकालिन रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले भारत ओहोरदोहोर गर्दा संक्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै आइतबार राति १२ बजेदेखि भारत आवतजावत गर्न रोक लगाउने निर्णय गरेको हो।
‘अत्यावश्यक कार्य बाहेक सीमा नाकामा भारततर्फ हुने आवतजावत रोक्ने निर्णय गरेका छौँ,’ प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले भने, ‘अति आवश्यक कामले जानै पर्ने भए कागजात र खोप लगाएको कार्ड देखाएर जान सक्छन्।’
कञ्चनपुरको गड्डाचौकी नाका भएर दैनिक हजारौँ मानिस किनमेल गर्न भारतीय सहर बनवासा पुग्ने गरेका छन्।
आइतबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले ९ वटै पालिकामा कोरोना सम्बन्धी जनचेतनामूलक कार्यक्रम र मास्क अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ।
यस्तै विवाह, ब्रतबन्ध जस्ता समाजिक कार्य गर्दा २५ जनाको संख्या नबढाई गर्ने र नित्य धार्मिक पूजा प्रार्थना बाहेकका धार्मिक भेला तथा कार्यक्रमहरु गर्न रोक लगाइएको छ।
Shares
प्रतिक्रिया