कोटेश्वरबाट धापाखेल जाने भन्दै यात्रु बनेर चढेका दुईजनाले पठाओ राइडरलाई बाँधेर झाडीमा फालिदिएका छन्।
शनिबार राति ११ बजेतिर कोटेश्वरबाट ललितपुरको धापाखेल जाने भन्दै चढेका २१ वर्षीय सुमन तामाङले गन्तव्यमा पुगेपछि अर्का युवाससँग मिलेर राइडरलाई लुटेको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले बताए।
प्रदेश ०२-९०१९००१ प ११६६ नम्बरको एनएस पल्सर मोटरसाइकलका पठाओ राइडर काठमाडौं निवासी २५ वर्षीय प्रवीण राई सुमनलाई लिएर धापाखेल गएका थिए।
धापाखेलस्थित आँखीदहमा अर्का युवक मीनराज राईलाई पनि बोलाएर सुमनले पठाओ राइडर प्रवीणलाई कुटपिट गरेका थिए।
त्यसपछि मुखमा पट्टी र हातखुट्टा बाँधिदिएर सडकबाट तल झाडीमा फालिदिएको बयान पीडितले प्रहरीलाई दिएका छन्।
उनलाई झाडीमा फालेपछि मोटरसाइकल, त्यसको ब्लु बुक र मोबाइल फोन लुटपाट गरी उनीहरु फरार भएको एसपी शाहले बताए।
पीडितले जानकारी दिएपछि प्रहरी वृत्त सातदोबाटो र महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनामा संलग्न दुवै जनालाई पक्राउ गरेको छ।
बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सो-रुम नजिकैबाट चोरी भएका सामानसहित उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ पर्ने सुमन तामाङ सिन्धुलीको खनियाखर्कका हुन् भने उनीसँग मिलेर प्रवीणलाई कुटपिट गर्ने मीनराज खोटाङको हलेसीका हुन्।
Shares
प्रतिक्रिया