बुधबार सार्वजनिक नेपालको जनगणनाको प्रारम्भिक नतिजाले लुम्बिनी प्रदेशका पहाडी जिल्लाबाट तराई र विशेषगरी सहरी क्षेत्रमा बसाइँसराइ तीव्र बनेको देखाएको छ। रुपन्देही जनसंख्याका हिसाबले देशभरमा तेस्रो स्थानमा छ। रुपन्देहीभन्दा बढी जनसंख्या भएका जिल्ला काठमाडौं र मोरङ हुन्।
जनसंख्या तीव्र वृद्धि हुनेमा भने रुपन्देही भक्तपुरपछि दोस्रो स्थानमा छ। १० वर्षअघि २०६८ को जनगणनामा रुपन्देहीको जनसंख्या ८ लाख ८० हजार १९६ छ।
अहिले २ लाख ३८ हजार बढेर ११ लाख १८ हजार ९७५ पुगेको छ। रुपन्देहीको वार्षिक जनसंख्या वृद्धिदर २.३० प्रतिशत छ।
२०६८ सालमा बुटवल उपमहानगरपालिकाको जनसंख्या १ लाख ३८ हजार ७ सय ४२ थियो। १० वर्षमा ५७ हजार जना बढेर अहिले यहाँको जनसंख्या १ लाख ९५ हजार ५५ पुगेको छ।
सिमाना जोडिएको तिलोत्तमा नगरपालिकामा जनसंख्या वृद्धिदर बुटवलको भन्दा निकै बढी छ।
२०६८ मा तिलोत्तमा नगरपालिकाको जनसंख्या १ लाख १ सय ४९ थियो। २०७८ सालको जनगणनामा यहाँको जनसंख्या १ लाख ४९ हजार ६ सय ५७ पुगेको छ। १० वर्षमा तिलोत्तमाको जनसंख्या झण्डै ५० प्रतिशत बढेको देखिएको छ।
तिलोत्तमा नगरपालिका रुपन्देहीका दुई पुराना सहर बुटवल र भैरहवाको बीचमा पर्छ। दुवै सहरलाई पायक पर्ने अनि खुला ठाउँ पनि भएकाले पहाडबाट बसाइँ सर्नेहरूको रोजाइ तिलोत्तमा पर्ने गरेको छ। बुटवलमै कार्यक्षेत्र रहेका धेरै व्यवसायी तथा जागिरेले घडेरी जोड्न र घर बनाउन तिलोत्तमा नै रोज्ने गरेका छन्।
तिलोत्तमामा ३ वर्षयता जनसंख्या थपिने क्रम तीव्र भएको मेयर वासुदेव घिमिरेले बताए। ‘हामीले लगानी सम्मेलन गर्यौं। जसका कारण यहाँ लगानीकर्ताहरू पनि आकर्षित भए। खुला ठाउँ पनि भएकाले शान्त ठाउँ खोज्नेले तिलोत्तमा रोजे’, उनले भने ‘यो ३ वर्षमा बाहिरबाट बसाइँसराइ भएर आउने क्रम द्रुत गतिमा छ।’
बसाइँसराइले तिलोत्तमा घना बस्ती हुँदै गएको छ। यही क्रममा जनसंख्या बढिरहने हो भने तिलोत्तमामा अबको केही वर्षमा खुला ठाउँ बाँकी नरहन सक्छ। खेतीयोग्य भूमि नासिन पनि बेर लाग्दैन।
तिलोत्तमाका मेयर वासुदेव घिमिरेले खेतीयोग्य र खुला ठाउँ जोगाउन नगरपालिकाले योजना ल्याएको दाबी गरे। ‘अब हाम्रो चुनौती भनेको खेतीयोग्य जमिनलाई बचाउनेछ। त्यसका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरेर अपार्टमेन्टमा जानुपर्छ’, उनले भने, ‘एउटै बिल्डिङमा डेढ/दुई सय परिवार राख्ने नीति ल्याउनुपर्छ। त्यसका लागि हामीले योजना बनाएका छौं।’
बुटवलको वडा नम्बर १ देखि ११ सम्म पहिले नै भवन भरिभराउ छन्। १२ देखि १९ सम्मका वडामा तिलोत्तमा जस्तै बसाइँसराइ भएर आउनेको चाप बढ्दै छ।
बुटवल र तिलोत्तमापछि रुपन्देहीमा सिद्धार्थनगर नगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिकामा बसाइँसराइ भएर आउने क्रम जारी छ।
बुद्धजन्मस्थल लुम्बिनी, बुटवलदेखि तिलोत्तमा, भैरहवा हुँदै सीमानाका बेलहियासम्म २५ किलोमिटर फराकिलो ६ लेनको सडक छ। त्यस्तै भैरहवा लुम्बिनी ४ लेनको सडक, निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललगायत पूर्वाधारका कारण पनि रुपन्देहीमा बसाइँसराइ भएर आउने क्रम तीव्र भएको हो। पछिल्लो समय लुम्बिनी प्रदेशको राजधानीले पनि आकर्षण बढाएको हो।
रुपन्देहीमा तीव्र रूपमा जनसंख्या बढ्दा नजिकका पहाडी जिल्ला गुल्मी, अर्घाखाँची र पाल्पाको जनसंख्या १० वर्षको अवधिमा घटेको छ। यी तीन जिल्लाको वार्षिक जनसंख्या घट्ने दर क्रमशः –१.२२, –१.०५ र –०.७२ प्रतिशत देखिएको छ।
यहाँबाट मुख्य गरी रुपन्देहीमा बसाइँसराइ भएर झरेका कारण जनसंख्या घटेको हो। तुलनात्मक रूपमा अन्य पहाडी जिल्लाभन्दा पाल्पा सुगम मानिन्छ। राजमार्गको सञ्जालले छोएको छ। त्यस्तै गुल्मी र अर्घाखाँचीमा पनि बाटोघाटोलगायत पूर्वाधारको राम्रै पहुँच छ। तर पनि मानिसहरू बसाइँ सर्न छाडेका छैनन्।
अर्थशास्त्री प्रा. डा आरसी आचार्य नजिकै देखिएको विकास र अवसर छोप्न पनि सुविधा भएको ठाउँमा जाँदा पहाडी जिल्लाको जनसंख्या घटेको बताउँछन्।
‘पाल्पामा शिक्षा र स्वास्थ्यको सुविधा पनि राम्रै छ। त्यसबाहेक मान्छेले रोजगारीको अवसर खोजे। रोजगारीको लागि उत्पादन त होला तर बजारीकरण छैन’, उनले भने, ‘यीलगायतका कुराले अवसर खोज्न रुपन्देही झरे। अर्कातर्फ रुपन्देही पूर्वपश्चिम, उत्तरदक्षिण जताततै सहज पहुँच भएको जिल्ला भयो।’
अर्थशास्त्री आचार्य जनसंख्याको तीव्र वृद्धिदर सन्तुलनमा ल्याउन अब पहाड केन्द्रित विकास योजना ल्याउनुपर्ने बताउँछन्।
‘अब पहाडतिर सरकार केन्द्रित हुनुपर्छ। तराईमा ६ लेनको फराकिलो सडक छ। नजिकै पाल्पामा सिद्धबाबा पहिरोले दुःख दिइरहन्छ’, उनले भने, ‘पाल्पामा सजिलो र केही फराकिलो सडक भयो भने मान्छे यहीँबाट आइजाइ गर्छ। त्यसबाहेक अरू पूर्वाधार पनि पहाडी जिल्लामा थप्दै जानुपर्छ।’
पहाडी जिल्लाबाट बसाइँसराइ भएर कतिपय लुम्बिनीकै पश्चिम नवलपरासी र कपिलवस्तु पनि जाने गरेका छन्। यीलगायत लुम्बिनीका तराईका जिल्लाका राजमार्गआसपास र बजार क्षेत्रमा जनसंख्या थपिने क्रम जारी छ। जसका कारण यी जिल्लामा थोरै मात्रामा भए पनि जनसंख्या बढेको छ।
जनगणनाको तथ्यांकअनुसार लुम्बिनी प्रदेशका नवलपरासी पश्चिममा १.४४, कपिलवस्तुमा १.७६, दाङमा १.९४, बाँकेमा १.९७ र बर्दियामा ०.७४ वार्षिक जनसंख्या वृद्धिदर छ। प्रदेशका पश्चिमका पहाडी जिल्लामा झिनो संख्यामा जनसंख्या बढेको छ।
रुकुमपूर्वको ०.८३, रोल्पाको ०.४९ र प्युठान ०.१६ प्रतिशत जनसंख्याको वार्षिक वृद्धिदर छ।
Shares
प्रतिक्रिया