ललितपुरको गोदावरी नगरपालिका-१२ थेचो बसपार्क नजिकै हत्या गरिएका तेह्रथुमका मोहन लिम्बुको शव निकालिएको छ।
उनको शव घरभित्रै गाड्ने प्रयास भएको प्रहरी अनुसन्धानले देखाएको छ। मंसिर २८ गते हत्या गरेर घरभित्र गाड्ने प्रयास असफल भएपछि आडमा गाडेर ढलान गरेको अवस्थामा शव फेला परेको हो।
‘घरभित्रै एउटा कोठामा शव गाड्न खनेका रहेछन्। तर ढलान फुटाउन नसकेपछि बाहिर गाडेर सिमेन्ट ढलान गरिदिएछन्’, घटनास्थलमा रहेका अपराध महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले भने।
अहिले लिम्बुको शव घटनास्थलबाट निकालेर पोष्टमार्टमका लागि प्रहरीले अस्पताल लगेको छ ।
घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका सिरहाका अनिल मण्डलले लिम्बुको शव रहेको स्थान बताएपछि अपराध महाशाखा र मोरङ प्रहरीको टोली थेचो पुगेको थियो।
मण्डलले आफू बस्ने घरभित्रै लिम्बुको शव गाड्ने प्रयास गरेको पाइएको हो। मण्डलले त्यो एकतले घर भाडामा लिएका थिए।
यसअघि माघ १२ गते मोरङको धनपालथानमा पनि दुईजना पुरुषको शव गाडिएको अवस्थामा भेटिएको थियो। मोरङ र ललितपुरमा तीनजनाको हत्या एकै समूहले गरेको खुलेको छ।
Shares
प्रतिक्रिया