भारतबाट खरिद गरेको लामो समय थन्किएको जनकपुर-जयनगर रेल आइतवारदेखि गुड्ने भएको छ।
तर, त्यो पनि यात्रु नबोकी। उद्घाटन नभएसम्म नियमित ‘ड्रायरन’ गर्न रेल दिनको एकपटक चल्ने भएको हो ।
रेल चलाउन लिक कब्जा गरिएका ठाउँहरू खाली गराइएको छ। लिकमा लगाइएका हाटबजार बन्द गराइएको छ ।
अनुमतिबिना रेलवे लिक क्रस गरी बनाइएको बाटो बन्द गराउनुको साथै गेट म्यान कर्मचारी भोलि बिहानैबाट काममा खट्ने नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले बताए।
‘लामो समयदेखि रेल थन्काइएको थियो । एक दिन ट्रायल गरियो । त्यसले मात्रै यसको प्राविधिक स्थिति बुझ्न सकिँदैन’ उनले भने ‘सातादश दिन चल्यो भने रेल कुन कण्डिसनमा छ बुझ्न सकिन्छ। खराबी छ भने मर्मत गर्ने काम हुन्छ । परीक्षण नसकी यात्रु बोक्दा प्राविधिक समस्या भए बीच बाटोमै रोक्दा सन्देश राम्रो जाँदैन।’
रेल्वे लिकामा छाडा छाडिने पशु चौपाया, मानव आवागमन, जथाभावी बाटो लगाउने जस्ता समस्या समाधान गर्न रेल्वे ‘ड्रायरन’ गर्नु आवश्यक रहेको महाप्रवन्धक झाले बताए ।
‘ड्रायरन’ गर्नाले लिकामा पशु छाडा छाड्ने, मान्छेहरु जथाभावी गएर बसिदिने, बाटो काट्ने जस्ता समस्या समाधान हुन्छ । रेल चल्न थाल्यो भनेर लिकमा जथाभावी गर्नु हुँदैन भन्ने सर्वसाधारणमा जनचेतना फैलिन्छ,’ झाले भने ।
सञ्चालनका लागि दुवै रेलको इन्जिन र बोगी एउटैमा जोडिएको छ। अगाडि एउटा र पछाडि अर्को इन्जिन जोडिएको छ।
जाने बेला एउटा इन्जिन र फर्किने बेला अर्को इन्जनको प्रयोग गरिने छ।
६० नेपाली र १४ भारतीय कर्मचारी भोलिदेखि काममा खटिनेछन्। भारतको सीआरपीएल कम्पनीबाट २६ जना कर्मचारी आउने टुंगो लागेको छ।
जसमध्ये १४ जना भारतीय कर्मचारी आइसकेका छन्। बाँकी उद्घाटनपछि आउने महाप्रवन्धक झाले बताए।
नेपाली र भारतीय प्रधानमन्त्रीले संयुक्त रुपमा रेल उद्घाटन गर्ने तयारी छ । तर त्यसको लागि हालसम्म तिथि तय भएको छैन।
फागुन पहिलो सातामा उदघाटन तिथि तय हुन सक्ने महाप्रवन्धक झाले बताए ।
जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरको रेलमार्ग छ। एसी चलाएर आउँदा दैनिक २८० लिटर डिजल लाग्ने अनुमान गरिएको छ।
२ असोज २०७७ मा भारतबाट खरिद गरी दुई सेट रेल नेपाल भित्र्याइएको थियो।
भारतीय सरकारी कम्पनी कोकन रेल्वे कर्पोरेसनबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरि तामझामसहित ल्याएका दुई सेट रेल धनुषाको जनकनन्दनी गाउँपालिकास्थित इनरुवामा त्रिपाल ओढाएर राखिएको छ।
Shares
प्रतिक्रिया