आफ्ना दाजुको तुलनामा राजकुमारी फाड्जिलाह लुबाबुल बल्किया अर्थात् राजकुमारी फाड्जिलाह निकै कम मात्रामा चर्चामा आउँछिन्। धेरै कुरा उनी आफैँमा राख्छिन्, सार्वजनिक गर्दिनन्।
त्यसो त उनी सामान्य व्यक्ति होइनन्। ब्रुनाईका सुल्तान हसानल बोल्कियाकी दोस्री श्रीमतीकी छोरी हुन्। गत महिनामात्रै उनी वैवाहिक जीवनमा प्रवेश गरेकी हुन्। जनवरी १६ देखि उनको भव्य विवाह सम्पन्न भएको थियो।
उनले राजपारिवारिक वैवाहिक समारोहमा अब्दुल्लाह नाबिल महम्मद अल हाशिमीसँग विवाह गरेकी हुन्। हप्ता दिन लामो वैवाहिक समारोह आयोजना गरिएको थियो। मलेसियन वेबसाइट हाइपका अनुसार यो समारोहको पहिलो दिन राजपरिवारको सम्मेलन भएको थियो। अर्को दिन ‘ओपेनिङ सेरेमनी’ भएको थियो।
सन् १९८५ अगस्ट २३ मा जन्मिएकी ३६ वर्षीया राजकुमारी फाडजिलाह सुल्तान बोल्किया र पुआन हाजा मारियाम हज अब्दुल अजिजकी कान्छी छोरी हुन्। उनका बुबा ब्रुनाईका सुल्तानले सन् १९६७ मा शासनभार सम्हालेका थिए। जो बेलायती महारानी एलिजाबेथपछि विश्वकै लामो समय शासन चलाउने राजा हुन्। सँगसँगै उनी निकै धनी छन्। धनाढ्य राजाहरुमध्ये पर्छन्। उनीसँग अनुमानित २८ अर्ब अमेरिकी डलर सम्पत्ति छ।
उनका दाजु राजकुमार अजिमको मृत्यु भइसकेको छ। जो सुल्तानका दोस्रा छोरा हुन्। उनको सन् २०२० अक्टोबरमा अटोइम्युन रोगका कारण मृत्यु भएको थियो। अजिम हलिउड सेटमा प्रिन्स मातीन नामले प्रसिद्ध थिए। त्यस्तै इन्स्टाग्राममा पनि उनी उत्तिकै चर्चा पाएका राजपरिवार सदस्यमा गनिन्छन्। खासगरी उनको असल बानीबेहोरा र शारीरिक सौन्दर्यले। हुन त उनीहरुका अन्य दाजुभाइ दिदीबहिनी पनि छन् जो सुल्तानको पहिलो विवाहबाट जन्मिएका थिए, यी चारचाहिँ यो परिवारमा अत्यन्तै चर्चित छन्।
सन् २००८ मा २२ वर्षको हुाँदा फाडजिलाहले किंग्स्टन युनिभर्सिटीबाट इन्टरनेशनल स्टडिजमा स्नातक हासिल गरेकी थिइन्। स्कुलको वेबसाइटमा यी राजकुमारीको स्कुल बसाइको बारेमा उल्लेख गरिएका उद्धरणहरु भेटिन्छन्।
सन् २०१५ मा राजकुमारीले हल्ट इन्टरनेशनल बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेको ब्रुनाई न्युज ग्याजेटले जनाएको छ। सुल्तान र राजकुमारी फडजिलाहका सहोदरहरुले डाभोसस्थित कंग्रेसजेन्ट्रुममा आयोजित विवाह समारोहमा उनलाई हौसला दिन उपस्थित भएका थिए।
खेलप्रेमी राजकुमारी
फाडजिलाहलाई ‘खेल राजकुमारी’ अर्थात् स्पोर्टी प्रिन्सेसको उपनामले पनि चिनिन्छ। सक्रिय पोलो प्लेयर उनी ब्रुनाईको राष्ट्रिय नेटबल टोलीकी कप्तान हुन्।
च्यानेल न्युज एसियामा उनले आफूलाई समकक्षी खेलाडीले फ्याड नामले बोलाउने गरेको खुलाएकी थिइन्। टोलीमा उनी आफूलाई एक प्रान्कस्टर भन्न रुचाउँछिन्। उनका टोली सदस्यले सुरुमा कसरी उनको सुरक्षा टोलीसँग तालमेल मिलाएको बारे समेत उनले खुलाएकी थिइन्।
यसअर्थमा उनी एक सच्च खेलप्रेमी हुन्। जो आफ्ना समकक्षी खेलाडीको खुलेर प्रशंसा गर्छिन्। उनी ब्रुनाईमा नेटबलले प्रसिद्धि कमाएको हेर्न चाहन्छिन्। उनी उच्च प्रतिभाशाली खेलाडीहरु खेल क्षेत्रमा उदाएको हेर्न चाहन्छिन्।
‘सुनको मुटु’ भएकी परोपकारी राजकुमारी
मुस्लिम जीवनशैलीबारे लेख्ने एक्विलिया स्टाइलले राजकुमारीको उनको परोपकारिताको प्रशंसा गर्दै ‘हार्ट अफ गोल्ड’ अर्थात् साह्रै दयालुको उपनाम दिएको थियो। उनले ब्रुनाईमा स्वास्थ्य संस्थाको सुधार र प्रवर्द्धनका लागि रिम्बा हेल्थ सेन्टरको उद्घाटनमा सहयोग गरेकी थिइन्। उनी म्याराथन र परोपकारका लागि आयोजित पोलो खेलहरुमा सहभागी भइराख्छिन्। एससीएमपीबाट
Shares
प्रतिक्रिया