उपत्यकाका धार्मिक तथा ऐतिहासिक क्षेत्रमा घुम्दा तिनको सुन्दरतामा नहराउने को होला! तर घुम्दै जाँदा धेरैलाई एउटा चिन्ताले सताउने गर्छ, त्यो हो, शौचालयको अभाव।
भक्तपुर नगरपालिका यो समस्या समाधान गर्न अघि बढेको छ।
भक्तपुरका धेरैजसो पर्यटकीयस्थलनजिक अहिले घर र मन्दिरजस्ता देखिने शौचालय बनाइएका छन्।
ऐतिहासिक र पुरातात्विक सम्पदाको धनी भक्तपुरले पर्यटकीय हबको परिचय बनाएको छ। प्राचीनस्थल वरिपरि बनाइएका शौचालयले यस्ता ठाउँको सुन्दरता झनै बढाएको छ।
सिद्धपोखरीमा रहेको शौचालय अगाडिबाट हेर्दा मन्दिरजस्तो छ। बाहिर बस्ने पाटी पनि छ। पछाडिपट्टि भने महिला र पुरुषका लागि छुट्टा–छुट्टै शौचालय बनाइएका छन्।
पाँच तले मन्दिर रहेको टौमढीमा दुई तले शौचालय छ। बाहिरबाट हेर्दा परम्परागत शैलीमा निर्मित घरजस्तो, तर भित्र छिरेपछि शौचालय। त्यो पनि सुविधासम्पन्न।
त्यस्तै, नगरपालिका कार्यालय छेउमा बन्दै गरेको शौचालयको माथिल्लो तलामा त मानिसहरु बस्न वा कार्यालय खोल्न्समेत सकिने खालको संरचना छ।
‘भक्तपुर पर्यटकीय नगर हो। त्यसैले शौचालय सबैका लागि आवश्यक पर्छ’ भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापति भन्छन्, ‘यस क्षेत्रमा रहेका हाम्रा सम्पदाजस्तै बाहिरबाट हेर्दा घर, मन्दिर वा पाटीजस्ता देखिने यस्ता शौलालयले हाम्रो क्षेत्रलाई कुरुप हुन दिँदैनन्।’
यस्ता शौचालय भक्तपुरमा तीनदेखि पाँच मिनेटको अन्तरमा बनाउने योजना नगरपालिकाको छ।
यसरी बनेका शौचालय वार्षिक ४० हजारदेखि दुई लाख ५० हजारसम्म तिर्नेगरी जिम्मा लिन पनि नगरपालिकाले टेन्डर आह्वान गरेको छ। कतिपयले टेन्डर पारेर शौचालयको रेखदेख गर्न थालिसकेका छन्।
शौचालयको प्रयोग गरेबापत नेपाली नागरिकबाट पैसा लिइन्छ। विदेशी नागरिकले भने पर्यटकीयस्थलको भ्रमण गर्दा नै पैसा तिर्ने भएकाले निःशुल्क शौचालय प्रयोग गर्न पाउँछन्।
कतिपय शौचालयमा माथिल्लो तला विदेशी पर्यटकका निम्ति र तल्लो तला स्वदेशी पर्यटकका निम्ति छुट्याइएको छ।
यसरी बनेका शौचालयको लागत ३०–३५ लाखसम्म हुन आउँछ। मौलिक लयमा निर्माण गरिएकाले लागत बढी पर्न गएको मेयर प्रजापति बताउँछन्। भन्छन्, ‘कतिपय शौचालयको बाहिर पाटीमा बस्न सकिन्छ। कतिपयको माथिल्लो तलामा कार्यालय सञ्चालन गर्न सकिन्छ। हामीले फरक प्रयोग गरेका छौँ।’
टेन्डरमार्फत टौमढीमा रहेको शौचालयको जिम्मा पाएका शंकर पोडे शौचालयको आकर्षण दिनप्रतिदिन बढिरहेको बताउँछन्।
‘शौचसँगै फोटो खिच्न र हेर्न आउनेहरुको संख्या पनि उत्तिकै छ। कतिपयले त शौचालय भन्ने नपत्याएर भित्रै आएर हेर्छन् पनि,’ उनी भन्छन्।
जिम गरेको पैसा लाग्दैन
भक्तपुर नगरपालिका क्षेत्रका घरघरमा सेतो कोट लगाएका नर्स दैनिकजसो आवातजावत गर्छन्। उनीहरु स्थानीयको स्वास्थ्य अवस्थाबारे जानकारी लिन्छन्। त्यहाँबाट आएको रिपोर्ट नगरपालिकामा पुर्याइन्छ।
रिपोर्ट हेरेर डाक्टरहरुले आवश्यक जाँच गर्न सल्लाह दिन्छन्। रिपोर्टमा क्यान्सर, मधुमेह, ब्लड प्रेसर, मष्तिस्काघात, मृर्गौला रोगजस्ता नसर्ने रोग बढी देखा परे। यस्ता रोगको कारणबारे छलफल गर्दा व्यायामको कमी एउटा कारण भएको निस्कर्ष निक्लियो।
त्यसका लागि के गर्ने त?
‘यही प्रश्नको उत्तर खोज्दै जाँदा हामीले एउटा व्यायामशाला बनाउने विषयमा छलफल गर्यौँ र नगरपालिकाका केही वडामा जिमखाना खोल्यौँ’ मेयर प्रजापति बताउँछन्।
जिमखानाको सकारात्मक प्रभाव देखिएको पनि उनको भनाइ छ। त्यसपछि नगरपालिकाले सबै वडा, दुई कलेज र सार्वजनिक स्थलमा पनि जिमखाना खोल्यो। यसरी हाल १३ वटा जिमखाना सञ्चालनमा छन्।
‘जिम गर्न क्लबमा मासिक पाँच हजारसम्म खर्च गरिरहेको थिएँ, नगरपालिकाले जिमखाना खोलेपछि त्यो पैसा बचत भएको छ,’ स्थानीय मोतीराज श्रेष्ठ बताउँछन्।
जिमखानामा स्थानीय नागरिकको चाप दिनानुदिन बढ्दै गइरहेको छ। बिहान र दिउँसो गरी दुई समयमा खुल्ने जिमखानामा अहिले मानिसको भीड लाग्छ।
‘हामीले एक वर्षभन्दा पहिलेदेखि यो अभ्यास गरेका थियौँ,’ प्रजापति भन्छन्, ‘तर, पछिल्लो समय प्रचारमा आएर यसले अलि बढी चर्चा पायो। सिद्धपोखरीमा राखेपछि धेरैको ध्यान गयो।’
मेयर प्रजापति बिहान–बिहान नगर अवलोकनमा निस्कन्छन्। स्थानीय उनीसँग जिमखाना खोलेकोमा खुसी व्यक्त गर्छन्। आफ्नो कामबाट जनता खुसी भएकोमा प्रजापति पनि मख्ख छन्।
जिमखानामा भीड बढेपछि नगरपालिकाले अझै ८ ठाउँमा तत्काल थप गर्न लागिएको उनले बताए। जिमखानाको हेरचाह भने वडामा रहेका खेलकुद समितिले गर्छन्। मर्मत गर्नुपरे नगरपालिकाका डकर्मी छँदै छन्।
सामानअनुसार एक स्थानमा जिमखाना स्थापना गर्न दुईदेखि पाँच लाख लाग्ने मेयर प्रजापतिले बताए। ती सामान चीनबाट मगाइएका हुन्।
त्यसबाहेक नगरपालिकाले आफ्ना नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन तत्काल अस्पताल निर्माण गर्दै छ। त्यसका लागि सम्बन्धित निकायबाट स्वीकृति लिएर काम अघि बढिसकेको छ। ३१ जना डाक्टरको टोली बनिसकेको छ। जसमध्ये १७ जना विशेषज्ञ छन्।
एक सय बेडको अस्पताल बनाउने योजना भए पनि हाललाई २५ बेडका लागि स्वीकृति लिएर काम थालिएको छ।
‘विशेषज्ञ सेवा ५० रुपैयाँ र फलोअप ३० रुपैयाँमा प्रदान गर्ने हाम्रो योजना छ,’ मेयर प्रजापति भन्छन्। अस्पतालले दैनिक पाँच सय बिरामीलाई सेवा दिने छ। आँखाका सय र आयुर्वेदका ५० बिरामीलाई समेत दैनिक सेवा दिइने नगरपालिका बताउँछ।
Shares
प्रतिक्रिया