यही फागुन ५ गते बिहीबार बिहान रुपन्देहीको सैनामैना नगरपालिकाबाट अपहरित बालबालिकालाई प्रहरीले झापाबाट उद्धार गरेको छ।
अपहरणमा परेका बालकालिकालाई शुक्रबार दिउँसो झापाको बिर्तामोडबाट प्रहरीले सैनामैना नगरपालिका वडा नम्बर ६ दुधाराक्षका प्रसिद्ध दाहाल र उनकी बहिनी प्रसन्ना दाहाललाई उद्धार गरेको हो। शनिबार बिहान उनीहरूलाई बुटवल ल्याई अभिभावकको जिम्मा लगाइएको छ।
अपहरणमा संलग्न खेमबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेको छ। अपहरण तथा शरीर बन्धक मुद्दाअन्तर्गत घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय (रुपन्देही) ले जनाएको छ।
यस्तो छ घटना
यही फागुन ५ गते बिहीबार बिहान साढे ९ बजे दाजु–बहिनी १२ वर्षीय प्रसिद्ध दाहाल र ९ वर्षकी प्रसन्ना दाहाल विद्यालय जान भनेर सैनामैना नगरपालिका वडा नम्बर ६ दुधराक्षस्थित घरबाट निस्के। सैनामैना ४ मा रहेको प्रभात बोर्डिङ स्कुलको लु १ ख ६५८६ बस चढे।
छुट्टी भएपछि साँझ उनीहरू घर फर्केनन्। आफ्ना छोराछोरी स्कुलबसमा नफर्केपछि बुबा प्रेम दाहाल विद्यालयमै पुगे। बसका कर्मचारीले अभिभावकले फोटो खिच्न भनी बच्चाहरूलाई बिहानै झारेर लगेको बताए।
बसमा सवार अन्य विद्यार्थीले खेम पौडेलले दुई जनालाई लिएर गएको बाबु प्रेम दाहाललाई जानकारी गराए।
त्यसपछि प्रेमले सैनामैना मुर्गिया बजारस्थित इलाका प्रहरी कार्यालयमा आफ्ना छोराछोरी अपहरणमा परेको जानकारी गराए। जिल्ला प्रहरी कार्यालय (रुपन्देही) ले आफ्ना मातहतका सबै एकाइलाई निर्देशन दिई खोजी सुरु गर्यो।
प्रहरीले सम्पर्क गर्न खोज्दा खेम पौडेलको मोबाइल दिउँसो ३ बजेबाट स्विचअफ पाइयो। पौडेलसँग सम्पर्कमा भएकाहरूसँग बुझ्ने क्रममा भाइ गुप्तबहादुर पौडेलले दिउँसो साढे १२ बजे बुटवलको नेपालगन्ज रोडमा दाइलाई भेटेर सुटकेस दिएको र त्यो लिएर उनी ट्राफिक चोकतर्फ गएको बताए।
प्रहरी बुटवलको नयाँ बसपार्क पुग्यो। त्यहाँ बस काउन्टरमा बुझ्दा फागुन ५ गते खेमबहादुर पौडेलको नाममा बुटवलबाट बिर्तामोड (झापा) जाने टिकट काटिएको पाइयो। त्यसपछि जिल्ला प्रहरी कार्यालय (रुपन्देही) को टोली झापातर्फ लाग्यो। झापाको इलाका प्रहरी कार्यालय (अनारमणि) को सहयोगमा बिर्तामोड बजारमा अपहरित बालबालिकासहित खेमबहादुर पौडेललाई पक्राउ गरिएकाे रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिए।
जेठानका छोराछोरी अपहरण
अपहरणमा संलग्न खेमबहादुर पौडेल बालबालिकाका फुपाजु पर्छन्। अर्थात् उनी प्रेम दाहालका बहिनीज्वाइँ हुन्। प्रेमकी बहिनी अर्थात् खेमकी पत्नी माइत बसिरहेकी थिइन्। पति–पत्नीबीच मनमुटाव थियो। १५ दिनअघि श्रीमतीले जाहेरी दिएकाले खेमविरुद्ध मुद्दा चलेको रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले बताए।
‘यसको माइती पक्षले मलाई थुनायो। यिनीहरूलाई पनि मैले देखाइदिन्छु भनेर अपहरण गरेको देखियो’, उनले भने, ‘यस्ता केसमा धेरै नातेदार नै अपहरणमा संलग्न भएका हुन्छन्।’
Shares
प्रतिक्रिया