ad ad

समाज


ब्रम्हदेवमा भारतीयको कब्जा, सीमास्तम्भ गायब पारेर गाडियो खम्बा

ब्रम्हदेवमा भारतीयको कब्जा, सीमास्तम्भ गायब पारेर गाडियो खम्बा

गोकुल जोशी
मंसिर २, २०७६ सोमबार ९:२१,

कञ्चनपुर जिल्ला सदरमुकाम रहेको भीमदत्त नगरपालिका–९ मा ऐतिहासिक ब्रहमदेव बजार पर्छ। बजारको मुटुमा नै प्रहरी चौकी छ। नेपाल-भारत सीमा नदी महाकालीको किनार पूर्वतर्फ स्थापना गरिएको सीमा प्रहरी चौकी ब्रहमदेव आसपासमा बाक्लो मानवबस्ती छ। तर, यही क्षेत्रमा दशकौंदेखि बसोबास गर्ने नेपालीको बस्ती भने अहिले आधा भारतमा पर्छ।

दशकौंदेखि बसेको गाउँको बीचमा भारतले आफ्नो भूमि दाबी गर्दै संकेत सीमा स्तम्भ खडा गरेको छ। तर सो सीमास्तम्भलाई भने नेपाली पक्षले मानेको छैन । सीमा शसस्त्र प्रहरीले सो क्षेत्रमा निर्माण भएको सीमा स्तम्भलाई अस्विकार गरेको छ। तर भारतले भने एकलौटी रुपमा त्यही स्तम्भलाई सीमास्तम्भ दाबी गरेको छ। शसस्त्र प्रहरीका अनुसार सो क्षेत्रको सीमा स्तम्भ नम्बर ८११ गायब छ, अर्थात हराएको सूचिमा राखिएको छ।

एकलौटी रुपमा भारतले सो क्षेत्र अतिक्रमण गरेको स्थानीयको भनाई छ। दशक अगाडि भारतले निर्माणको गरेको ब्रह्मदेव बजार भन्दा केही तल रहेको सीमा स्तम्भ दुई सय मिटर महाकाली नदीतर्फ रहेको स्थानीयको भनाइ छ। ‘हाम्रो घर जमीन नेपाल/भारत दुवैतर्फ छ। अगाडि यहाँ रहेको स्तम्भ महाकाली नदीतिर थियो, अहिले हाम्रो बस्तीबीचमा नै छ।’ दुई दशकदेखि ब्रह्मदेव क्षेत्रमा बसोबास गर्दै आएका प्रदेशी दमाईले भने।

घर नेपाल भूभागमा, जमीन भारतले दाबी गरेको भूभागमा भएको स्थानीयहरु बताउँछन्। कञ्चनपुरको भारतीय सीमासँग जोडिएका क्षेत्रमा स्पष्ट सिमा स्तम्भ नहुँदा स्थानीयले हैरानी खेप्नु परेको छ। नेपाली बस्तीकोबीचमा नै भारतले आफ्नो क्षेत्र दाबी गर्दै सीमा छुट्याउनका लागि साना संकेत स्तम्भ खडा गरेको छ। तर सो स्तम्भलाई भने नेपाली पक्षले इन्कारेको छ।

काठको खम्बा जंगे पिल्लर

नेपालको पश्चिमी सीमा एउटा काठको खम्बा (पिल्लर) ले विभाजित छ। भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजार नजिकै भारतीय पक्षले एउटा काठको पिल्लरलाई सीमा स्तम्भ मान्दछ। तर नेपाली पक्षले भने सो खम्बालाई सीमा मानेको छैन। सो क्षेत्रको सीमा स्तम्भ नम्बर ८१०/२ लाई शसस्त्र प्रहरीले हराएको सूचिमा उल्लेख गरेको छ।

गुगल नक्सा अनुसार भारतले दाबी गरेको सो काठको खम्बा रहेको स्तम्भ भन्दा केही पश्चिम महाकाली नदीतिर देखाउने गरेको शसस्त्र प्रहरीका अधिकारी बताउँछन्। भारतीहरुले दाबी गरेको सीमाबाट केही पनि प्राकृतिक स्रोत उपभोग गर्न नदिएको स्थानीय बताउँछन्। ‘तिहारमा यो खम्बा भन्दा केही परबाट माटो समेत ल्याउन दिएन।’ स्थानीय पार्वती तिरुवाले भनिन्। सीमा स्तम्भ नम्बर ८११ र ८१०÷२ स्पष्ट नहुँदा सो क्षेत्रमा भारतले नेपाली भूमि कब्जा गर्ने गरेको छ।

११ स्तम्भ गायब

जिल्लाको उत्तरी क्षेत्रमा मात्रै नेपाल–भारत सीमा छुट्याउने ११ वटा सीमा स्तम्भ गायब छन्। नेपालको पश्चिमी सीमा नाका कञ्चनपुरको ब्रह्मदेव क्षेत्रको दशगजामा राखिएको ११ सिमा स्तम्भ गायब पारिएका छन्। ब्रह्मदेव स्थित बोर्डर आउट पोष्ट (बिओपी) का अनुसार आफ्नो क्षेत्र अन्तर्गत पर्ने ४० सीमा पिल्लरमध्ये ११ सीमा स्तम्भ गायब भएका छन्। सीमा स्तम्भ नम्बर ८१३, ८१३/१, ८१३/२, ८१४, ८१४/१, ८१४/२, ८१५, ८१५/१, ८१५/२ र ८१६, ८१६/१ स्तम्भ गायब पारिएको ब्रह्मदेव स्थित बोर्डर आउट पोष्ट (बिओपी) ले जनाएको छ।

सबैभन्दा बढि विवाद सीमा स्तम्भ नम्बर ८११ र ८१०/२ रहेको सशस्त्र प्रहरीले जनाएको छ। गायब पारिएका स्तम्भमा धेरैजसो पानीमा डुबेको तथा हराएर फेला नपारिएको जनाइएको छ। सीमा स्तम्भ नम्बर ८११ र सहायक सीमा स्तम्भ ८१०/२ हराएको सूचिमा छन्। ती हालसम्म पनि भेटिएका छैनन्। यद्यपी भारतले भने उक्त सीमा स्तम्भका ठाउँमा कतै काठको पिल्लर, कतै अस्थायी पिल्लर मानेको छ।

एसएसबीले विवाद रहेका ८११ र ८१०/२ दुई सीमा स्तम्भमा काठ र अस्थायी इटाको खम्मालाई पिल्लर मान्ने गरेको तर आफूहरुले त्यसलाई नमानेको ब्रह्मदेवस्थित बिओपीका प्रहरी निरीक्षक रामराज खनाल बताउँछन्। जिमुवादेखि खल्ला–मसेट्टी क्षेत्रसम्म रहेका १२ मुख्य र २८ सहायक गरी ४० स्तम्भमध्ये ११ फेला नपरेको उनले बताए।

१४.५६ हेक्टर जमीन भारतको कब्जा

74835629_533264987520682_3283969094449102848_n_1.jpgभारतले सिमा मिचेर कब्जा गरेकाे नेपाली भूभाग देखाउँदै स्थानीय

जिल्लाको पश्चिमी–उत्तरी ब्रह्मदेव क्षेत्रको १४.५६ हेक्टर नेपाली भूमि भारतले कब्जा गरेको छ। शसस्त्र प्रहरीका अनुसार जिमुवादेखि खल्ला–मसेट्टी क्षेत्रको १४.५६ हेक्टर नेपाली भूभाग भारतले अतिक्रमण गरेको हो। यो मध्ये २.९ हेक्टर जलाशय क्षेत्रले ओगटेको छ। स्थानीयका अनुसार भारतले नेपालको बह्मदेव स्थित मन्दिर समेत आफ्नो दाबी गरेको छ।

घर–शौचालय निर्माणमा रोक

ब्रह्मदेव बजार क्षेत्र भन्दा केही तल भारतले एक्लौटी रुपमा निर्माण गरेको सीमा संकेत स्तम्भ वरपर घना नेपाली बस्ती छ। तर त्यहाँ भारत पक्षले भने नेपालीहरुलाई कुनै पनि संरचना निर्माण गर्न दिएको छैन।

विकासको पूर्वाधार सडकदेखि बसोबासको लागि घर समेत बनाउन नदिएको स्थानीहरु बताउँछन्। यति मात्र होइन शौच गर्नका लागि स्थानीयहरुले बनाउन थालेको शौचालय निर्माणमा समेत भारतीय पक्षले अवरोध सृजना गरेको उनीहरुको भनाइ छ।

अवरोधका साथ साथै नेपाली भूमिलाई भारतीय भूमि दाबी गर्दै आफूहरुलाई यहाँबाट अन्यन्त्र सर्न दवाव आउने गरेको स्थानीयले गुनासो गरेका छन्। ‘घर अगाडि नेपाली भूभागमा रहेको सानो स्तम्भ अस्थाई नहरको लागि गाडिएको थियो। भारतले त्यहीलाई सीमा स्तम्भ मानेको छ’ लक्ष्मी सार्कीले भनिन्, ‘नेपाली सिमा भारतले भन्दै आएको भन्दा दुई सय मिटर उतै रहेको छ।’ उनले अगाडि थपिन्, ‘भारतले जबरजस्ति नेपाली भूमिलाई आफ्नो भन्दै हामीहरुलाई हट्न धम्की दिँदै आएको छ।’

भारतले दाबी गरेको स्तम्भ भन्दा नेपाली भूमितर्फ केही वर्ष अगाडि घर निर्माणको तयारी गरिएको तर निर्माणमा भारतले अवरोध सृजना गरेको उनी बताउँछिन्। ‘कुनै बेला घरमा जस्ता राख्न दिएन, कुनै बेला शौचालय निर्माण गर्न दिएन। हाल यहाँ घर समेत निर्माणमा अवरोध गरिएको छ’ उनले भनिन्, ‘घरको जग मात्र राखिएको तर सो भन्दा माथी उठाउन भारतीय पक्षले अवरोध गरेको छ।’

घरको छानो राख्न नदिए पछि स्थानीयहरु त्रिपाल टाँगेर बस्न बाध्य भएका छन्। स्थानीयका अनुसार उक्त क्षेत्रमा भारतीय एसएसबी हतियार सहित आउने गरेका छन्।
यद्यपी ब्रह्मदेवस्थित बोर्डर आउट पोष्ट (बिओपी) ले भने हालसम्म हतियार सहित भारतीय सीमा सुरक्षा बल (एसएसबी) का कोही पनि नआएको दाबी गर्छ। ब्रह्मदेव बजार क्षेत्रको सो क्षेत्रमा भारतीय पक्षले कुनै पनि संरचना निर्माण नगर्न धम्की दिने गरेको लक्ष्मी सार्की बताउँछिन्।

व्यापारका लागि सधैँ लफडा

ब्रह्मदेव क्षेत्रमा फागु पूर्णिमा लगायत विभिन्न समयमा लाग्ने मेलामा नेपाली र भारतीयबीच व्यापारका लागि वर्षेनी लफडा हुने गरेको छ। दशगजा क्षेत्र नजिक रहेको सिद्धनाथ मन्दिरमा कुन ठाउँसम्म कुन पक्षले व्यापार गर्ने सम्बन्धमा सधैँ विवाद हुने गरेको स्थानीय बताउँछन्। आफ्नो क्षेत्रमा मन्दिर पर्ने दाबी गर्दै भारतीय पक्षले व्यापार गर्नु पर्ने दाबी गर्छन।

एउटै घर नेपाल–भारतामा

ब्रह्मदेव बजार नजिकै विवाद रहेको सीमा स्तम्भ ८११ स्थित रहेको बस्ती केही घर नेपाली भूभागमा छन्, केही भारतीय भूभागमा छन्। त्यहाँ निर्माण भएका केही घरको आधा भाग नेपाली भूभाग र आधा भाग भारतीय भूभागमा पर्छ।

यस्तो अन्योल हटाउन स्पष्ट तरिकाले सिमा निर्धारण गर्नु पर्ने स्थानीयले माग गरेका छन्। ‘हाम्रो घरको आधा नेपालमा आधा भारतमा छ, सीमा निर्धारण नहुँदा निकै समस्या भएको छ।’ स्थानीय जानकी भट्टले भनिन्, ‘हामी नेपालमा बस्छौँ कि भारतमा, यो छुट्याइ दिएको भए ठिक हुने थियो।’

सर्वे टोलीको आवश्यकता

नेपाल–भारत सीमामा स्पष्ट सीमा स्तम्भ नहुँदा अन्योलता छ। नेपाल भारत सीमाका केही स्तम्भमा विवाद रहेको छ। सर्वे टोलीले तत्काल सीमा निर्धारण गर्ने सशस्त्र प्रहरी बताउँछ। ‘सर्वे टोलीले सीमा निर्धारण गर्दछ। यसको बारे कुरा भएको छ। सीमा निर्धारणका लागि हामीले टोलीलाई आग्रह गरेका छौँ।’ सशस्त्र प्रहरीका एसपी बिर बहादुर साहुले भने। सीमामा सशस्त्र प्रहरीले नियमित गस्ती गरिरहने गरेको र हाल सीमा अतिक्रमण तथा सीमामा केही विवाद नरहेको उनले दाबी गरे। एसएसबीहरुसँग बेला बेलामा छलफल हुने गरेको उनी बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .